एक दिने भारत भ्रमणमा अध्यक्ष प्रचण्ड, नेपाल र दक्षिण एशियाको विकासबारे धारणा राख्ने

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज भारतको राजधानी नयाँदिल्ली प्रस्थान गरेका छन् । 

इन्डिया फाउन्डेसनले आयोजना गरेको ‘इन्डिया आइडिया कन्क्लेभ–२०१८’ कार्यक्रममा सहभागी हुन अध्यक्ष प्रचण्ड शुक्रबार बिहान ८ बजे दिल्ली प्रस्थान गरेका हुन् । 

भारत प्रस्थान गर्ने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बोल्दै उनले इन्डिया आइडिया कन्क्लेभमा नेपाल र दक्षिण एशियाको विकासबारे आफूले धारणा राख्ने बताएका छन् ।

कार्यक्रममा प्रचण्डले प्रमुख अतिथिका रूपमा पार्टीको अवधारणा प्रस्तुत गर्नुका साथै नेपाल–भारतबीचको सम्बन्धका बारेमा समेत मन्तव्य दिने कार्यक्रम छ ।

फाउण्डेशनले दक्षिण एशियाका साथै अन्तर्राष्ट्रियस्तरमा समेत विचार निर्माण गर्ने सन्दर्भमा भूमिका निर्वाह गर्दै आएको छ । 

यसपटकको भारत भ्रमणमा राजनीतिक भेटघाट भने नहुने प्रचण्डले बताए ।

बैठकको सम्बोधन सकाएर प्रचण्ड आजै स्वदेश फर्कने कार्यक्रम छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?