ओलीको तुलनामा देउवा हास्य कलाकार भेलुबाजे जस्तो भएको नेता बस्नेतको दाबी

लोकपथ
91
Shares

भक्तपुर । नेकपा एमालेको पोलिटब्युरो सदस्य, पूर्वमन्त्री तथा भक्तपुर क्षेत्र नम्बर २ का एमालेको प्रतिनिधिसभाका उम्मेदवार महेश बस्नेतले आम नेपाली महिलाहरु न्यायीक फैसला गर्ने र एमालेलाई भोट हाल्ने बताएका छन् ।

अखिल नेपाल महिला संघ भक्तपुर क्षेत्र नम्बर २ ले आज थिमीमा आयोजना गरेको क्षेत्रीय भेलालाई सम्बोधन गर्दै नेता बस्नेतले नेपालको राजनीतिक तथा सामाजिक परिवर्तनमा महिलाले खेलेको भूमिका अतुलनिय रहेको उल्लेख गरे । महिला आन्दोलनकै उपलब्धीले अनेमसंघको पूर्वअध्यक्ष विद्यादेवी भण्डारी राष्ट्रपति हुन सफल भएको उल्लेख गर्दै उनले एमालेकै नेतृत्वमा प्रत्येक स्थानीय तहमा प्रमुख वा उपप्रमुख मध्ये एक महिला अनिवार्य व्यवस्था आएको दाबी गरे ।

एक महिला एमाले भए दर्जनौं व्यक्ति एमाले हुने उल्लेख गर्दै उनले आगामी निर्वाचनमा एमालेलाई विजयी गराउन सबैभन्दा बढी महत्वपूर्ण जिम्मेवारी पनि महिलाको नै हुने बताए।

मुलुकको विकास र समृद्धि गर्ने पार्टी भनेकै एमालेमात्र भएको उल्लेख गर्दै उनले एमालेलाई आगामी निर्वाचनमा हराउने गठबन्धनको कुनै पनि तागत नभएको दाबी गरेका छन् । एमालेको अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारको पालमा मुलुकभर साना तथा ठूला विकासका आयोजनाहरु असंख्य रुपमा सञ्चालन भएको तथ्यहरुलाई प्रस्तुत गर्दै उनले वर्तमान गठबन्धनको सरकार आएपछि देशमा विकासमा अध्यारो यात्रा सुरु भएको बताए ।

गठबन्धन सरकार आएसँगै भ्रष्टाचार, अनियमिता, मंहगी, चरम नातवाद, कृपावाद मौलाएको उल्लेख गर्दै उनले प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्व आएसँगै केपी ओलीले नेपालको गुमेको भूमिसहितको चुच्चे नक्सालाई समेत बुच्चे बनाएको आरोप लगाए।

एमालेले आगामी निर्वाचन पछिको प्रधानमन्त्री ओलीलाई प्रस्तुत गरेको उल्लेख गर्दै उनले गठबन्धनले कसलाई प्रधानमन्त्री बनाउने ? भन्ने हालसम्म समेत निर्णयमा पुग्न नसकेको बताए । केपी ओली र शेरबहादुर देउवाको तुलना नै हुन नसक्ने उल्लेख गर्दै उनले ओलीको तुलनामा र देउवा हास्य कलाकार भेलुबाजे जस्तोमात्र भएको दाबी गरे ।

एमालेले भक्तपुरको विकासमा आँधीवेरी नै ल्याएको उल्लेख गर्दै नेता बस्नेतले जिल्लाका बाँकी आयोजनाहरु सम्पन्न हुने विश्वास दिलाएका छन् । एक चुट्कीका भरमा जिल्लाको विकास हुने उल्लेख गर्दै नेता बस्नेतले ‘जिल्लामा एमालेको नेतृत्वमा करिव ९० प्रतिशत आयोजनाहरु निर्माण सम्पन्न भएको बताएका छन् । अव ठूला आयोजनाहरु सम्पन्न हुने चरणमा रहेको र कतिपय सुरु हुने चरणमा रहेको बस्नेतले बताए ।

कार्यक्रममा एमाले केन्द्रीय सदस्य तथा भक्तपुर सहइन्चार्ज तुलशा दाहाल, अनुशासन आयोगको सदस्य विना बाँस्तोला, एमाले बागमती प्रदेशका सदस्य मदनसुन्दर श्रेष्ठ, जिल्ला अध्यक्ष बचन देउजा, एमाले क्षेत्र नम्बर २ प्रदेश ‘क’का उम्मेदवार किरण थापा, ‘ख’का उम्मेदवार चन्दनकृष्ण श्रेष्ठ, राष्ट्रिय युवा संघ नेपालका जिल्ला अध्यक्ष रविन थापालगायतले आ–आफ्नो धारणा राखेका थियो ।

अध्यक्ष लक्ष्मी कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा संघको जिल्ला अध्यक्ष उत्तरा नेपाल, एमालेबाट प्रदेश समानुपातीक उम्मेदवार सकुन्तला श्रेष्ठ, पूर्वजिल्ला समन्वय समिकिो उपप्रमुख सरिता कुँवरलगायत सयौं नेता तथा कार्यकर्ताको उपस्थिती रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?