अवरुद्ध सडक तत्काल सुचारु गराउन सिडिओहरुलाई गृह मन्त्रालयको निर्देशन

लोकपथ
7
Shares

काठमाडौं । गृह मन्त्रालयले वर्षात्का कारण अवरुद्ध सडक तत्काल सुचारु गराउन सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुलाई निर्देशन दिएको छ । सोमवार गृह मन्त्रालयमा आयोजित प्रमुख जिल्ला अधिकारीहरुसँगको ‘भर्चुअल’ बैठकमा बोल्दै गृह सचिव विनोदप्रकाश सिंहले निर्वाचनको कार्यक्रमलाई समेत मध्यनजर राखेर २० देखि २२ दिन भित्र सो काम सम्पन्न गर्न सम्बन्धित प्रमुख जिल्ला अधिकारीहरुलाई निर्देशन दिएका हुन् ।

बैठकमा उनले स्थानीय सरकारहरुसँग समन्वय गरेर सडक सञ्चालनको सहज व्यवस्था मिलाउन प्रमुख जिल्ला अधिकारीहरुले समन्वयकारी भूमिका पनि निर्वाह गर्नुपर्ने बताएका थिए । गृह सचिव सिंहले अवरुद्ध भएको विद्युत र सञ्चार सेवालाई सुचारु गराउने काममा पनि सम्बन्धित प्रमुख जिल्ला अधिकारीहरुलाई ढिलाई नगर्न सचेत गराए ।

केन्द्रीय निकायहरुसँग समन्वय गरेर सो कामलाई सहजीकरण गर्न मन्त्रालय तयार रहेको उल्लेख गर्दै गृह सचिव सिंहले त्यसका लागि रिर्पोटिङ गरेर तत्काल मन्त्रालय पठाउन पनि प्रमुख जिल्ला अधिकारीहरुलाई निर्देश दिए ।

त्यसैगरी, गृह मन्त्रालयले ठोस मापदण्ड तय गरी निर्वाचनका लागि आवश्यक सुरक्षाकर्मी परिचालन गर्ने व्यवस्था मिलाउन पनि जिल्ला प्रशासन कार्यालयहरुलाई निर्देशन दिएको छ । गृह सचिव सिंहले जिल्लामा रहेका सुरक्षा निकायका प्रमुखहरुको समन्वयनमा सो कामको व्यवस्था गर्न ढिलाई गर्न नहुने पनि स्पष्ट पारे ।

उनले चाहिने ठाउँमा सुरक्षाकर्मीको अभाव हुने र नचाहिने ठाउँमा बढी हुने अवस्था आउन नदिन पनि जिल्ला प्रशासन कार्यालयहरु सचेत हुनुपर्ने बताएका छन् । गृह सचिव सिंहले जिल्ला प्रशासन कार्यालयहरुले आगामी मंसीर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा केन्द्रीत भएर आफ्ना गतिविधिहरु अघि बढाउनुपर्ने पनि बैठकमा निर्देशन दिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?