काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपालका उपाध्यक्ष वृषेशचन्द्र लालले नेकपाका अध्यक्ष प्रचण्डले जनकपुरमा गएर प्रदेश सरकारलाई ‘ओभरटेक’ नगर्न दिएको निर्देशनलाई धम्कीको संज्ञा दिएका छन् । उनले भने,‘प्रचण्डको भनाईलाई हामीले गम्भिर रुपमा लिएका छौँ । यो प्रचण्डको हामीलाई धम्की हो । उहाँले सल्लाह वा सुझाव दिनुभएको होईन् ।’
बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले प्रचण्डले जनकपुरमा २ नम्बर प्रदेशलाई ठाडै चेतावनीको स्वरमा धम्की दिएको बताए । उनले भने,‘संघीय सरकारले संविधानबमोजिम काम गर्छ कि गर्दैन, यदि संघीय संरचना तोड्न खोज्यो भने हामी मुकाविला गर्न तयार छौँ । मधेशी जनता मुकाविला गर्न तयार छन् ।’
क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले प्रचण्डले आफूहरुलाई धम्की दिनुको अलवा आफ्नो रणनीतिस्वरुप उक्त अभिव्यक्ति दिएको पनि आरोप लगाए ।
उनले भने, ‘प्रचण्डले आफू सत्तामा जाने दाउमा संघ र प्रदेशबीच द्वन्द्व चर्काउने रणनीति लिएका छन् । यो सरकार बदनाम होस् भन्ने उनको चाल छ । अनि मेरो पालो आउँछ भन्ने प्रचण्डले सोचेका छन् ।’
उनले मुलुकमा अराजकताको स्थिति आयो भने यसको सम्पूर्ण जिम्मेवारी संघीय सरकारको हुने समेत बताए । प्रचण्डले जनकपुरको त्यही सभामा आफू मधेशी जनताको मागप्रति गम्भिर रहेको तर वर्तमान सरकारको नेतृत्व गरेर बस्नेहरु नभएको भन्ने अभिव्यक्ति दिएको पनि उनले सुनाए । उनले भने, ‘द्वन्द्व चर्काउने प्रचण्डको रणनीति हो । त्यही अनुसार उनले जनकपुरमा ओभरटेक नगर्न भनेर धम्की दिएका हुन् ।’
लालले यथाशक्य चाँडो अन्तर प्रदेश परिषदको बैठक डाक्न समेत प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरेका छन् । उनले भने,‘अहिलेसम्म अन्तर प्रदेश परिषदको बैठक भएको छैन । प्रधानमन्त्रीजी यसमा चुक्नुभयो । अब विलम्ब नगरी बोलाउनुपर्छ ।’
उनले संघीय सरकारले मुलुकमा अराजकताको स्थिति सिर्जना गर्न खोजेको पनि आरोप लगाए । उनले भने,‘संघीय सरकार शासन गर्न चाहन्छ । सबै संविधानबमोजिम चल्नुपर्छ । २ नम्बर प्रदेश संविधानबमोजिम नै चलेको छ ।’
२ नम्बर प्रदेशले पारित गरेको प्रहरी ऐनमा त्यस्तो विरोध गर्नुपर्ने के कुरा छ भन्दै उनले प्रश्न समेत तेर्साए । उनले भने,‘२ नम्बर प्रदेशले पारित गरेको प्रहरी ऐनमा के छ ? संविधान विरोधी के कुरा छ ?’ उनले अहिलेपनि संघीय प्रहरी ऐन दराजभित्र बन्द गरेर राखिएको भन्दै आपत्ति जनाए । उनले भने,‘सबैले संविधानबमोजिम अभ्यास गर्नुपर्छ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया