काठमाडौं । स्थानीय मतदाताले नवलपरासी पश्चिमको प्रतिनिधिसभा क्षेत्र नम्बर १ का उम्मेदवार उद्योगपति विनोद चौधरीबाट पनि कुनै अपेक्षा नगरेको बताएका छन् । अहिलेसम्म निर्वाचनबाट जितेर सांसद भएकाहरुले नगरेको र सत्तारुढ गठबन्धनको तर्फबाट सो क्षेत्रमा उम्मेदवारी दिएका उद्योगपति चौधरीबाट पनि केही होला भन्ने आशा नगरेको उनीहरुको भनाइ छ ।
स्थानीय बैदनाथ खरालले अहिलेसम्म कसैले केही नगरेकाले चौधरीले पनि गर्लान भन्ने नलागेको प्रतिक्रिया दिए । उनले अब जितेर जाने सांसदले बाटोको आवश्यक व्यवस्था मिलाइ दिए हुने अपेक्षासमेत गरेका छन् । उद्योगपति चौधरीले चाहेमा आफ्नो क्षेत्रको सडक बाटोको २ दिनमै आवश्यक व्यवस्था मिल्ने थियो भन्दै खरालले त्यसका लागि उनमा चाहना हुनुपर्ने बताए ।
उद्योगपति चौधरीबारे कुनै जानकारी नभएको केही मतदाताले बताएका छन । स्थानीय दिननाथ कँडेलले चिन्दै नचिनेकाले उनीसँगबाट आशा गर्ने ठाउँनै नरहेको बताए । जनतालाई खुशी राख्ने, गरिबलाई हेर्ने, रोजगारी दिने काम गर्न सक्नु हुन्छ कि हुन्न ? त्यो बुझेर मात्रै उनलाई मतदान गर्न सकिने उनको प्रतिक्रिया थियो ।
नेताहरु व्यक्तिगत स्वार्थका लागि सांसद बन्न चाहेकाले उनीहरुबाट विकास, निर्माणको काममा पनि आशा गर्न सकिने ठाउँ नरहेको केही मतदाताको आरोप थियो । उनीहरुले जनताको पीडा बुझ्ने, सडक बाटा पीच गरिदिने नेतालाई आगामी निर्वाचनमा जनताले मत दिने धारणासमेत राखेका छन ।
नेपाली कांग्रेसले उद्योगपति चौधरीलाई सो क्षेत्रबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाएको छ । तर, जनताले भने उनबाट पनि अपेक्षा गर्ने ठाउँ नरहेको बताएका छन् । विगतमा त्यस क्षेत्रबाट सांसद बनेकाहरुले केही नगरेकाले अब बन्ने सांसदले पनि केही नगर्ने स्थानीय मतदाताको बुझाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया