बागलुङ र गलकोट बालमैत्री नगर बन्दै

RSS
63
Shares

बागलुङ । बागलुङका दुई नगरपालिका बालमैत्री नगर बनाउने अभियानमा जुटेका छन् । बागलुङ नगरपालिका र गलकोट नगरपालिकाले जिल्लामा सबैभन्दा पहिले बालमैत्री पालिका बनाउन थालेका हुन् । गलकोट नगरपालिकाले गत वर्षदेखि अभियान सुरु गरेको थियो भने बागलुङ नगरपालिकाले चालू आर्थिक वर्षदेखि सुरु गरेको छ ।

नगरलाई बालमैत्री बनाउन विद्यालय तहबाटै अभियान सुरु गरेको बागलुङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सापकोटाले बताए । उनले विद्यालय र स्वास्थ्य संस्थादेखि नै अभियान सुरु गरेको भन्दै स्थानीय शासन तथा बालमैत्री नगर बन्न आवश्यक ५१ सूचकमध्ये १२ वटा शिक्षा र १३ वटा स्वास्थ्य सूचकका लागि विद्यालय र स्वास्थ्यचौकी तहबाट काम थालिएको बताए ।

समुदायमा पूरा गर्ने सूचकका लागि विभिन्न कार्यक्रम भइरहेको सापकोटाको भनाइ छ । उनी भन्छन्, “बालमैत्री नगर निर्माणका लागि हाम्रो अभियान तीव्ररुपमा सचालन भइरहेको छ, बालमैत्री नगर बन्न आवश्यक ५१ सूचकमध्ये १२ शिक्षा र १३ स्वास्थ्य सूचकका लागि विद्यालय र स्वास्थ्यचौकी तहबाट हामीले काम सुरु गरेका छौँ ।”

नगरप्रमुख वसन्तकुमार श्रेष्ठ निर्वाचित भएर आएपछि कार्यभार सम्हाल्दा नै बागलुङ नगरपालिकालाई बालमैत्री नगर बनाउने उद्घोष गरेका थिए । श्रेष्ठले बागलुङ नगरपालिकाभित्र विद्यालय धेरै भएको हुँदा विद्यालय तहबाटै यो अभियान सफल हुने बताउछन् । अभियान तीव्ररुपमा चलिरहेको हुँदा एक वर्षभित्रै बालमैत्री नगर घोषणा गर्न सकिने उनको भनाइ छ ।

“बालमैत्री नगर बनाउन चाहिने सूचकमध्ये केही हामीले पूरा गरिसकेका छौँ भने केही पूरा गर्ने तयारीमा छौँ, हाम्रा अभियान तीव्ररुपमा छ, यहाँ विद्यालय धेरै भएको हुँदा विद्यालयस्तरबाटै अभियान सुरु गरेका छौँ”, नगर प्रमुख श्रेष्ठले भने, “आगामी वर्षसम्म नगरलाई बालमैत्री नगर घोषणा गर्ने गरी काम भएको छ ।” बागलुङ नगरपालिकाभित्र ८८ सामुदायिक र १५ निजी गरी एक सय तीन विद्यालय छन् ।

गलकोट नगरपालिकाले पनि अभियानलाई तीव्र पारेको नगर प्रमुख भरत शर्मा गैरेले जानकारी दिए । उनले आवश्यक केही पूर्वाधार र समुदायस्तरबाट पूरा गर्ने सूचक मात्रै बाँकी बताए । नगर प्रमुख गैरे भन्छन्, “यो अभियान गत वर्षदेख सुरु गरेका हौँ, धेरै काम भएका छन्, अब केही काम बाँकी छन्, त्यो पनि चाँडै सक्नेछौँ र मङ्सिरसम्ममा बालमैत्री नगर घोषणा गर्छौँ ।”

विद्यालयमा पुस्तकालय, खेलमैदान, शौचालय, धारालगायतका आवश्यक पूर्वाधार बालबालिकाको पहुँच पुग्नेगरी निर्माण भएको गलकोट नगरपालिकाका प्रवक्ता तथा वडा नं २ का अध्यक्ष र भण्डारीले बताए ।

उनले विद्यालयको अचल सम्पत्ति संरक्षण गर्ने, अनिवार्य सूचना अधिकारी तोक्ने, प्रअको स्वीकृतिविना शिक्षक बाहिर नजाने, बालबालिकाको स्वास्थ्य, पूर्ण खोप, सरसफाइ र शुद्ध खानेपानीको व्यवस्थापनमा विद्यालय तहमै व्यवस्था गर्ने काम भइरहेको बताए ।

यहाँका कही विद्यालयमा छात्रा महिनावारी हुँदा नुहाउने, कपडा फेर्ने र पर्याप्त सेनिटरी प्याड लगाउन पाउने गरी पूर्वाधार निर्माण भएर प्रयोगमा आइसकेको भण्डारीको भनाइ छ । उनका अनुसार गलकोट बालमैत्री नगर घोषणा गर्न थोरै काम मात्रै बाँकी छ । भण्डारी भन्छन्, “बालमैत्री नगर बनाउने हाम्रो अभियान अन्तिम चरणमा पुगेको छ, असोज मसान्तमै गर्ने भन्ने थियो चुनावले गर्दा गर्न सकिएन, चुनावपछि गलकोटलाई बालमैत्री नगर घोषणा गछौँ ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?