विमानस्थलमा कर्मचारी भर्ना गर्दा स्थानीयवासीलाई प्राथमिकता दिन सरकार प्रतिबद्ध छ : गृहमन्त्री खाँण

लोकपथ
52
Shares

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका गृहमन्त्री बालकृष्ण खाँणले निर्वाचनलाई लक्षित गरी गृहजिल्ला रुपन्देहीमा सक्रियता बढाएका छन् । आगामी मङ्सिर ४ गते हुने निर्वाचनमा खाँणले रुपन्देही निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभाका लागि उम्मेदवारी दिएका छन् । सोही लक्षित उनले अहिले निर्वाचन क्षेत्रमा प्रचारप्रसार कार्यालयहरूको उद्घाटन, कार्यकर्ता भेटघाट एवम् सभाहरूमा सक्रियता बढाएका हुन्।

यसैबीच उनले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा कर्मचारी भर्ना गर्दा स्थानीयवासीलाई प्राथमिकता दिइने बताएका छन् । उनले विमानस्थलमा नयाँ रोजगारी खुल्दा र अन्य अवसरमासमेत स्थानीयवासीले प्राथमिकता पाउने भन्दै त्यसतर्फ आफूले पहल गर्ने प्रतिबद्धता व्यक्त गरे।

गृहमन्त्री खाँणले शनिवार भैरहवामा आयोजित गठबन्धनको कार्यक्रममा बोल्दै स्थानीयवासीले आफ्नो जग्गा उपलब्ध गराएपछि मात्र विमानस्थल निर्माण सम्पन्न भएकाले नयाँ रोजगारी खुल्दा स्थानीयवासीलाई योग्यताअनुसारको रोजगारीमा प्राथमिकता पाउने बताए ।

“स्थानीयवासीले जमिन नदिएको भए विमानस्थल बनाउन कठिन हुन्थ्यो, त्यसैले विमानस्थल निमार्णका लागि पुस्तौँदेखि बस्दै आएको जग्गा दिएर योगदान पुर्याएकाहरूले नै हरेक अवसरमा पहिलो प्राथमिकता पाउनुपर्छ”, उनले भने, “स्थानीयवासीले मुआब्जा लिएर भए पनि विमानस्थल बनाउन गरेको सहयोग सरकार र कसैले पनि बिर्सिनुहुँदैन ।”

उनले विमानस्थलले यस क्षेत्रको आर्थिक समृद्धिको ढोका खोलेको जनाउँदै यहाँ हुने हरेक गतिविधिसँग स्थानीयवासीलाई जोडेर आत्मनिर्भर र रोजगाररत बनाउनु आफूहरुको पहिलो प्राथमिकता रहेको बताए ।

गृहमन्त्री खाँणले विमानस्थल निर्माण हुँदा जसको जग्गा अधिग्रहणमा परेको छ, त्यो परिवारका सदस्यलाई विमानस्थलमा रोजगारीमा योग्यताअनुसार प्राथमिकतामा राख्न सरकार प्रतिबद्ध रहेको र यसबारे आफूले गौतमबुद्ध विमानस्थलका प्रमुख र नागरिक उड्डयन प्राधिकरणसँग कुरा पनि गरिरहेको उल्लेख गरे । त्यस्तै, विमानस्थलमा कार्गो सञ्चालनका लागि पहल भइरहेको भन्दै उनले कार्गो सञ्चालनमा आएपछि यहाँको कृषि तथा औद्योगिक उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा पुर्याएर स्थानीयवासीलाई रोजगारी बढाउने योजना सरकारको रहेको जनाए ।

रुपन्देही क्षेत्र नम्बर ३ (क) का प्रदेशसभा सदस्य पदका उम्मेदवार सन्तोषकुमार पाण्डेयले वर्तमान गठबन्धन पवित्र भएकाले यसले संविधान, लोकतन्त्र, सङ्घीयताको रक्षा गर्दै मुलुकको समग्र विकासमा लाग्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?