काठमाडौं । नेपाली कांग्रेसका नेता दीपक कुइँकेलले काठमाडौं क्षेत्र नम्बर २ बाट सत्ता गठबन्धनतर्फका उम्मेदवार पूर्वसभामुख ओनसरी घर्तीलाई जिताउने जिम्मा आफूहरुले लिने बताएका छन् ।
शनिवार काठमाडौं २ मा सत्ता गठबन्धनको उम्मेदवार परिचयात्मक कार्यक्रममा पूर्वसांसदसमेत रहेका कुइँकेलले ओनसरी माओवादीको मात्र नभई कांग्रेस र एकीकृत समाजवादीको पनि उम्मेदवार भएको बताए ।
घर्तीजत्तिको राष्ट्रिय व्यक्तित्वलाई गठबन्धनले उम्मेदवार बनाएर पठाउनु काठमाडौं २ का मतदाताका लागि खुसीको कुरा भएको उनको भनाइ थियो । ‘ओनसरी घर्ती योग्य उम्मेदवार हुनुहुन्छ । उहाँलाई जिताउने जिम्मा हाम्रो हो । काठमाडौं २ का कांग्रेसजन र समाजवादीको हो’, उनले भने, ‘लोकतन्त्र, संविधान र व्यवस्थाको रक्षाका लागि गठबन्धनका उम्मेदवार जिताउनु हाम्रो धर्म हो ।’
संविधानसभा उपाध्यक्ष भएर संविधान निर्माण र संविधान जारी भएपछि रुपान्तरित प्रतिनिधिसभाको सभामुखका रुपमा संविधानअनुसारका कानून निर्माणमा घर्तीले सकारात्मक भूमिका खेलेको उनले बताए ।
कार्यक्रममा नेकपा एकीकृत समाजवादीका नेता नितेश पौडेलले ४ मंसिरको प्रतिनिधिसभा निर्वाचनमा प्रतिगमन पक्षधर उम्मेदवारहरु पराजित हुने दाबी गरे । पूर्वसभामुख घर्तीले आफूलाई एक महिनाको समय दिन कार्यक्रममा सहभागी सबै दलका नेता कार्यकर्तालाई आग्रह गरिन् । आफूलाई एक महिनाको समय दिन भन्दै उनले काठमाडौं २ का लागि आफूले पाँच वर्ष दिने बताइन् ।
उनले वर्तमान संविधान र राजनीतिक व्यवस्था स्वर्गीय कांग्रेस नेता गिरिजाप्रसाद कोइराला, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र तत्कालीन एमालेका महासचिव माधवकुमार नेपालको साझा मिशन भएको उल्लेख गरिन् ।
‘गिरिजाबाबु, प्रचण्ड र माधव नेपाल मिलेर अघि बढाएको शान्ति संविधानको मिशन हो’, उनले भनिन्, ‘अहिले व्यवस्था र संविधानमाथि प्रतिगामीहरुले आक्रमण गरिरहेका छन्, यो रोक्न बाम लोकतान्त्रिक गठबन्धन बनेको हो ।’ घर्तीले काठमाडौं २ को समग्र विकासका साथै तीन कुने र सिनामंगल क्षेत्रको मुआब्जा र अधिग्रहणको समस्या समाधानमा आफ्नो प्रयास रहने बताइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया