नेकपाको चियापानमा ५० हजारलाई निम्तो, ३ सय स्वयंसेवक परिचालन

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीको (नेकपा)ले चियापान कार्यक्रमका लागी ५० हजारलाई निम्तो गरेको छ । 

आगामी शनिबार दिउँसो ३ बजेदेखि हुन गइरहेको नेकपाको चियापान कार्यक्रममा ५० हजारलाई निम्तो गरिएको नेकपाका केन्द्रीय सदस्य कृष्णगोपाल श्रेष्ठले जानकारी दिएका हुन् । यसका लागि समपूर्ण तयारी पूरा भएको समेत उनले बताए ।  

त्यस्तै पार्टी एकतापछि पहिलो पटक विजया दशमी, दीपावली, नेपाल सम्वत् र छठका अवसरमा हुन गइरहेको चियापान कार्यक्रम भृकुटीमण्डपस्थित बगैँचामा हुने भएको छ । यसअघि पार्टी एकता हुनुभन्दा अघि नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)ले छुट्टाछुट्टै चियापान कार्यक्रम गर्ने गरेका थिए । 

गत वर्ष सङ्घ र प्रदेशको निर्वाचनको कारणले चियापानको आयोजना गरिएको थिएन । चियापानको तयारीबारे आज नेकपाका महासचिव तथा चियापान समारोह समितिका संयोजक विष्णु पौडेल, स्थायी कमिटी सदस्य योगेश भट्टराईले भृकुटीमण्डपस्थित चियापान स्थलको निरीक्षण गरे । 

नेकपाका केन्द्रीय सदस्य श्रेष्ठका अनुसार चियापानमा करिब ३५ हजार सहभागी हुने छन् । चियापान कार्यक्रम दिउँसो १२ बजेदेखि ५ बजेसम्म हुनेछ । 

केन्द्रीय सदस्य श्रेष्ठले दिउँसो १२ देखि ३ बजेसम्म पार्टीका कार्यकर्ता र सर्वसाधारण र दिउँसो ३ बजेदेखि ५ बजेसम्म विशिष्ट अतिथिको लागि समय छुट्टाइएको बताए । दिउँसो ३ बजेदेखि नेपालस्थित विदेशी कूटनीतिज्ञ, राजनीतिक दलका नेता, संवैधानिक अङ्गका पदाधिकारी सहभागी हुने छन् । 

चियापान कार्यक्रमलाई व्यवस्थित बनाउनका लागि ३०० स्वयंसेवक परिचालन गरिने छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?