डेंगुका अधिकांश बिरामीका घाँटीमा घाउ हुने समस्या, शतर्कता अपनाउन चिकित्सकको आग्रह

लोकपथ
52
Shares

काठमाडौं । डेंगुका अधिकांश बिरामीहरुमा घाँटीमा समस्या देखापरेको भन्दै सजग रहन चिकित्सकहरुले आग्रह गरेका छन् । डेंगु संक्रमितहरुले घाँटी दुख्ने गरेको गुनासो गरेपछि परीक्षणका क्रममा घाँटीमा घाउ देखिने गरेकोे भन्दै शतर्कता अपनाउन चिकित्सकहरुले सुझाव दिएका हुन् ।

अल्का अस्पतालमा कार्यरत चिकित्सक डाक्टर रक्षा गौतमले डेंगु हुँदा भाइरल फ्लूमा हुने धेरै लक्षण मिल्ने बताइन् । डेंगु हुँदा घाँटी दुख्ने, आँखाको नानी दुख्ने, टाउको दुख्ने, वान्ता आउने, वाकवाक लाग्ने जस्ता लक्षणहरु बढी देखिने डा. गौतमले बताएकी हुन् ।

डा. गौतमले पछिल्ला दिनहरुमा ९० प्रतिशत बिरामी डेंगुका रहेको पनि बताएकी छिन् । डेंगु, फ्लू र सामान्य रुघाखोकी, ज्वरोलगायतमा केही लक्षणहरु एक आपसमा मिल्ने भएकाले रोग विशेषका लक्षणहरुको पहिचान गरी शतर्क रहन पनि सुझाव दिइन् । डेंगु सरुवा रोग नभएकाले परिवारको सदस्यलाई डेंगु लाग्यो भन्दैमा आत्तिहाल्नुपर्ने अवस्था नरहेको भन्दै उनले ज्वरो घटेन भनेर चिकित्सकको सल्लाह बिना जथाभावी औषधी सेवन नगर्न पनि आग्रह गरिन् ।

डा. गौतमले यस वर्ष गत भदौ महिनादेखि धेरै उच्च तापक्रम (ज्वरो) भएका बिरामीहरु पाइरहेको र अस्पतालहरुमा डेंगुका बिरामीहरुको चाप बढेको जानकारी दिएकी छिन् । उनले सबैले सामान्यतः सामान्य रुघाखोकी, डेंगु र कोरोनालाई केही हदसम्म भने छुट्याउन सकिने बताइन । सामान्य रुघाखोकी मात्रै भएको खण्डमा भाइरल ज्वरो जो परिवारको कोही सदस्यलाई लागेपछि सबै सदस्यलाई सर्दै जाने बताइन् ।

भाइरल ज्वरोका बिरामीहरु पछिल्लो समय धेरै देखिन थालेको भन्दै स्वास्थ्य सुरक्षामा ध्यान दिन आग्रह गरेकी छिन् । त्यस्तै, धेरै घाँटी दुख्ने, सुरुमा नै धेरै ज्वरो आउने, आँखाको नानी दुख्ने, ज्यान दुख्नेलगायतका लक्षण देखिए डेंगु हुनसक्ने तर ज्वरो आउने बित्तिकै अस्पताल पुगिहाल्नु पर्ने अवस्था नरहेकाले ७२ घण्टापछि मात्रै अस्पताल जान सुझाव डा. गौतमले दिएकी हुन् ।

चिकित्सक डा. गौतमले फ्लू बाहेक बास्ना र स्वाद थाहा नपाएमा भने कोरोना संक्रमण हुनसक्ने भएकाले चिकित्सकको सल्लाह लिएर मात्रै औषधि सेवन गर्नुपर्ने बताएकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?