घटस्थापनादेखि पूर्णिमासम्म : के के भयो देशमा ? दर्दनाक दुर्घटनादेखि भाइरल तस्वीरसम्म

काठमाडौं । बडादशैँको अन्तिम दिन । आज कोजाग्रत पूर्णिमा सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना गरी रातभर जाग्राम बसेर मनाइँदैछ । अर्थात् आजदेखि बडादशैँ सकिँदैछ । तर, बडादशैँ सकिए पनि दशैँ अवधिभर घटेका घटनाहरुको चर्चा भने सकिएको छैन । घटस्थापनाबाट शुरु भएको दशैँ पूर्णिमासम्म आइपुग्दा काठमाडौं उपत्यका लगायत देशका विभिन्न जिल्लाहरुमा के–के भयो त ? 

देश दशैँको माहोलमा झुमिरहदा, कतिको सिन्दूर पुछियो भने कति टुहुरा बने । यही दशैँमा कतै रमाइलो हुँदै थियो भने कतै आशुका धारा बग्दै थियो । अर्थात् तथ्यांकअनुसार यस वर्ष ५ वर्षयताकै धेरै सवारी दुर्घटना भयो । 

विजया दशमीको दिन प्रधानमन्त्री केपी ओली शर्माभन्दा पूर्वराजा ज्ञानेन्द्र शाहकहाँ टीका थाप्नेको भीडले चर्चा पायो । त्यहि चर्चा सेलाउन नपाउँदै सामाजिक सञ्जालमा राष्ट्रपति विद्यादेवी भण्डारीको चर्को आलोचना भयो ।  

प्रसंग हो, पूर्वप्रधानन्यायाधीश गोपाल पराजुलीले राष्ट्रपति विद्यादेवी भण्डारीका सामु दशैँको टीका लगाउदा दुबै घुँडा टेकेको तस्वीर । 

फूलपातिको दिन सवारी दुर्घटनामा ३१ जनाको मृत्यु

फूलपातिदेखि यता विभिन्न जिल्लामा भएका सवारी दुर्घटनाहरुमा परि ३१ जनाको मृत्यु भयो । 

गत असोज ३० गते फूलपातिदेखि कात्तिक ४ गतेसम्म दुई दर्जन बढी सवारी दुर्घटना भयो । ती दुर्घटनामा परि कम्तिमा पनि तीन दर्जन मानिसले ज्यान गुमाए । 

प्रहरी तथ्यांक अनुसार कात्तिक ३–४ गते (शनिबार र आइतबार) सवारी दुर्घटनामा १२ जनाको मृत्यु भयो । नवलपरासीमा ६, रामेछापमा ३, स्याङ्जा, महोत्तरी र रुपन्देहीमा १–१ गरी १२ जनाको मृत्यु भएको प्रहरीको तथ्यांकमा उल्लेख छ ।

दशैँ अवधिभर सबैभन्दा धेरै सवारी दुर्घटना असोज ३० गते र कात्तिक ३ गते भयो । 

असोज ३० गते ७ र कात्तिक ३ गते ४ वटा सवारी दुर्घटना भए । दुवै दुर्घटनामा परि कम्तिमा पनि २३ जनाले ज्यान गुएका छन् । 

त्यस्तै आइतबार मात्रै यात्रुवहाक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । 

पूर्वपश्चिम राजमार्गअन्तर्गत पूर्वीनवलपरासीको मध्यबिन्दु नगरपालिका–११ अरुणखोलामा लु १ ख ८४५४ नम्बरको बस आइतबार दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको हो । 

मृत्यु हुनेहरुमा मोरङ सुन्दरहरैँचाका ११ वर्षीय सोहन कार्की, भोजपुर हतुवागढी–६ का २७ वर्षीय रामजित राई, जिल्ला जनस्वास्थ्य कार्यालय नवलपरासी पश्चिममा कार्यरत सुनसरीका ३२ वर्षीय अब्दुल अन्सारी, भारत बिहारका विद्यानन्द यादव, भारत गोरखपुरका ५५ वर्षीय दीपक पासवान र हस्तीचौरका ३५ वर्षीय तिलक विष्ट रहेका छन् । 

यसैगरी आइतबार नै स्याङ्जामा लु १ ज ३३८० नम्बरको जिप दुर्घटना भयो । गल्याङ नगरपालिका–७, धराङ्दीमा जिप दुर्घटना हुँदा एकजनाको मृत्यु भयो । मृत्यु हुनेमा गल्याङ–७ का ३२ वर्षीय रामप्रसाद भण्डारी रहेका छन् भने दुर्घटनामा १९ जना घाइते भएका छन् ।

त्यस्तै पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आबुखैरेनी २ नारीघाटमा ना ४ ख ७८४१ नम्बरको बस र मोरङको पथरी शनिश्चरे–२ मा को १ ख ४५१७ नम्बरको बस दुर्घटना हुँदा ६८ यात्रु घाइते भए । 

आइतबार नारीघाटमा यात्रुवहाक बस पल्टिँदा २३ यात्रु र शनिश्चरेमा ३६ यात्रु घाइते भएका हुन् ।

विजया दशमी अर्थात् टीकाकै दिन सवारी दुर्घटना परि ७ जनाको मृत्यु

कात्तिक २ गते दशैँको टीकाको दिन आधा दर्जन बढीको ज्यान गयो ।

रामेछाप नगरपालिकामा जिप दुर्घटना हुँदा शनिबार ३ जनाको मुत्यु भयो । 

ना १ ज ४८१२ नम्बरको जिप खरानेटार भीरमा दुर्घटना हुँदा रामेछाप नगरपालिका–१ की ६० वर्षीया ललिमाया कार्की, उनका छोरा ४० वर्षीय दुर्गाबहादुर कार्की र चालक ४० वर्षीय हेमबहादुर खत्रीको मृत्यु भयो । 

त्यस्तै नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–६ जलवीरेमा ना ५ ख ४३८३ नम्बरको बस दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै मृत्यु भयो । काँकडभिट्टाबाट पोखरा जाँदै बस जलवीरे पुलबाट झण्डै ५० मिटर तल खसेको थियो ।

यसैगरी कात्तिक १ गते काठमाडौंको ठूलो भर्याङमा बा २९ प ३७०७ नम्बरको मोटरसाइकलको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भयो । मृत्यु हुनेमा सिन्धुपाल्चोक जुगल–७ घर भइ सानो र्भयाङ बस्दै आएका ५५ वर्षीय वीरबहादुर तामाङ छन् । 

राजनीतिक : सामाजिक सञ्जालमा भाइरल यी तस्वीर 

आफ्ना अभिभावकसँग टिका ग्रहण गरेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई पनि बडादशैँको टिका लगाईदिए । पूर्वराजा ज्ञानेन्द्र शाहले पनि बडादशैँको दिन सर्वसाधारण जनतालाई टिका लगाईदिए । यी दुई प्रसंग सँगै राखिएको कारण के हो भने प्रधानमन्त्री ओलीकहाँ टिका लगाउन गएका सर्वसाधारणको जस्तै भिड निर्मल निवासमा पनि देखियो र जनताले के साँच्चै यो राजतन्त्र फर्किने संकेत हो ? भन्ने प्रश्नसहितका स्टाटस अपडेट गरे । 

यस्तै दशैँको टिका सकिनासाथ गणतन्त्र र राजतन्त्रलाई लिएर सामाजिक सञ्जालमा पूर्वप्रधानन्यायधीश गोपाल पराजुली तस्वीर भाइरल भयो ।  

तस्वीरमा पूर्वप्रधानन्यायाधीश पराजुलीले राष्ट्रपति विद्यादेवी भण्डारीका सामु दशैँको टीका थाप्न दुबै घुँडा टेकेर खडा भएको तस्वीर सामाजिक सञ्जालमा भाइरल भएको छ । र, यो तस्वीरलाई लिएर गणतन्त्रमा पनि राजतन्त्रकालीन अवशेष देखा परेको भन्दै सामाजिक सञ्जालमा चर्को आलोचना भइरहेको छ ।

गोपाल पराजुलीले राष्ट्रपतिसामु घुँडा टेकेको तस्वीर सामाजिक सञ्जालमा भाइरल भएपछि आलोचना गर्नेको मात्र नभएर यसको बचाउ गर्ने पनि देखिए । 

नेपाल कम्पुनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य सूर्य थापाले लामो फेसबुक स्टाटस लेख्दै यो तस्वीरको बचाउ गरे । थापाले फेसबुक स्टाटसमा लेखेका छन्, ‘राष्ट्रपतिज्यूलाई यसरी विवादमा तान्ने परम्पराको अभ्यास गराउने को हो ? नागरिक हैसियतको यसरी हुर्मत लिने गरी राष्ट्र प्रमुखलाई विवादित बनाउने रवैया मान्य हुन सक्दैन ।’

त्यस्तै थाहा खबरका सम्पादक तीर्थ कोइरालाले भने फेसबुक स्टाटसमा यसो लेख्दै भने, ‘मानिसकता उही व्यवस्थापन उही, फ्याट्ट गणतन्त्र आउदैमा परिवर्तनको आशा किन गर्नु बेकारमा । मात्र पात्र परिवर्तन, कथा उही व्यथा उही’

हुन त राष्ट्रपतिका हातबाट टीका ग्रहण गर्ने क्रममा घुँडा टेकेर निहुरिने व्यक्ति पूर्वप्रधानन्यायाधीश पराजुली मात्र एक थिएनन् । 

राष्ट्रपतिका हातबाट टीका ग्रहण गर्ने क्रममा घुँडा टेकेर निहुरिने व्यक्तिमा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल, पूर्वप्रधान सेनापति राजेन्द्र क्षेत्री, नेकपा नेता वामदेव गौतम लगायतका नेताहरु छन् । तर, प्रधानमन्त्री, मन्त्री र मन्त्रीका परिवार भने कुर्सीमा बसेर राष्ट्रपतिका हातबाट टीका ग्रहण गरेको दृश्य पनि सामाजिक सञ्जालमा देखियो ।  

प्रधानमन्त्रीबाट टीका ग्रहण गर्नेको संख्या उल्लेख्य

प्रधानमन्त्री केपी शर्मा ओलीले चर्तुदर्शीसम्म सर्वसाधरणलाई टीका लगाए । प्रधानमन्त्रीले टीका लगाइदिने भएपछि कार्यकर्ता तथा सर्वसाधारण टीका ग्रहण गर्न बालुवाटार पुगेका थिए । यद्यपी सोमबार प्रधानमन्त्री निवास वालुवाटारमा प्रधानमन्त्रीको हातबाट टीका ग्रहण गर्ने आउने  सर्वसाधारण तथा कार्यकर्ताको संख्या उल्लेख्य रह्यो । 

दशैँ र पूर्व राजाको ‘क्रेज’ : विदेशी नागरिकहरुले लगाए राजाको हातको टिको

यस वर्षको बडादशैँमा पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्व रानी कोमलको हातबाट टिका थाप्न जाने सार्वसाधारहरुको बाक्लो उपस्थिति देखियो । 

प्रधानमन्त्री र राष्ट्रपतिकोमा भन्दा १० औँ गुणा बढी शुभेच्छुक पूर्व राजाको निवास निमल निवासमा देखिए । 

राजाबादी मात्र नभएर मुलुकका विभिन्न भागहरुबाट सर्वसाधारण, कलाकार, व्यवसायी र विभिन्न क्षेत्रका व्यक्तिहरुको बाक्लो उपस्थित रहेको देखियो । 

विदेशी नागरिकहरुको पनि राजाको हातको टिका लगाउने भिड देखियो । 

नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले पदबाट दिएको राजीनामा अस्वीकृत

यसैगरी सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले पदबाट दिएको राजीनामा अस्वीकृत भएको छ ।

नेकपा केन्द्रीय सचिवालयको सोमबार बसेको बैठकले प्रवक्ताबाट श्रेष्ठले दिएको राजीनामा अस्वीकृत गरेको हो ।

डा.गोविन्द केसीको अनसन प्रकरण र त्यसपछि अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डले गरेका कतिपय निर्णयमा नीतिगत असहमति जनाउँदै श्रेष्ठले यसअघि सचिवालय समक्ष राजीनामा दिएका थिए । उनको राजीनामा लामो समयदेखि अनिणिर्त अवस्थामा थियो ।

टीकाको भोलिपल्टै श्रीमतीको हत्या

बडादशैँको टीकाको भोलिपल्ट शनिबार श्रीमानले श्रीमतीको हत्या गरेका छन् । 

घरमै श्रीमतीको हत्या गरी फरार रहेका कनकाई नगरपालिका–८ का आइतराज परियार पक्राउ परेका छन् ।

शनिबार मदिरा सेवन गरी ४० वर्षीया श्रीमती माया परियारको हत्या गरेर फरार भएका थिए । उनलाई लुकीछिपी इलामको दानाबारीमा बसेको अवस्थामा आइतबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक जीतेन्द्रकुमार बस्नेतले जानकारी दिए ।

दशैँकै दिन गोली लागेर मृत्यु

कात्तिक २ गते बडादशैँको टीकाकै दिन गोली लागेर एक जनाको मृत्यु भयो । 

हुम्लामा बाँदर धपाउन पड्काएको भरुवा बन्दुकको गोली लागेर गत शुक्रबार सर्केगाड गाउँपालिका–२ रिप बस्ने २८ वर्षीय सुरेन्द्र कार्कीको मृत्यु भएको हो ।

सोही ठाउँ बस्ने ४० वर्षीय रंगमल महताराले आफ्नो स्याउ फार्ममा आएका बाँदर धपाउन पड्काएको भरुवा बन्दुकको गोली सुरेन्द्रलाई लागेको थियो । उनको उपचारकोे लागि स्वास्थ्य चौकी रिपतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । 

रौतहटमा १७ वर्षीय किशोरीमाथि सामूहिक बलात्कार

रौतहटमा सोमबार साँझ १७ वर्षीय किशोरीमाथि सामूहिक बलात्कार भएको छ । 

गुजरा नगरपालिकाको मनर्वा टोलमा दशैँको मेला हेर्न गएकी १७ वर्षकी किशोरी बलात्कृत भएकी हुन् । 

आइतबार राति दशैँको मेला हेर्न जाँदा आफूलाई छिमेकी युवकले मोटरसाइकलमा राखेर घर पुर्याइदिने भन्दै नहरको डिलमा पुर्याएको र तीन जनाले बलात्कार गरेको उनले प्रहरी सामू बताइन् ।

प्रहरीका अनुसार पीडित युवतीले सोमबार साँझ इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरमा उजुरी दिएकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?