जुम्लाका बाढी पहिरो पीडितलाई राहत

लोकपथ
26
Shares

काठमाडौं । गत एकसातादेखि लगातार परेको अविरल वर्षाले जुम्लामा धनजनको व्यापक क्षति भएपछि पीडित परिवारलाई कर्णाली प्रदेश सरकारले हवाई सेवाबाट राहत वितरण गर्न थालेको छ । प्रदेश सरकारले यहाँको हिमा, सिंजा र कनकासुन्दरी गाउँपालिकामा हेलिकोप्टरबाट राहात वितरण थालेको हो ।

नेपाली सेनाका नन्दबक्स गणका गणपति रविन थापाका अनुसार सेनाको हेलिकोप्टरले हिमा, सिंजा र कनकासुन्दरीमा केही राहात सामाग्री प्रदान गरिएको बताए।

नेपाली सेनाको २४ नम्बर बाहिनीका अनुसार २६ गते कनकासुन्दरी गाउँपालिकाको सुन्दरीमा चिनियाँ पाल चार थान, कम्बल ४० थान र डिटोल साबुन एक कार्टुन वितरण गरिएको छ ।

सिंजा गाउँपालिकामा त्रिपाल २५ थान, कम्बल २५ थान, प्लाष्टिक पाल २५ थान उपलब्ध गराइएको छ । हिमा गाउँपालिकामा कम्बल २५ थान, त्रिपाल २५थान र डिटोल साबुन एक कार्टुन उपलब्ध गराइएको छ ।

यसैगरी, असोज २७ गते हिमा गाउँपालिकामा ६० थान त्रिपाल, कम्बल एक सय थान, टेण्टपाल एक सय थान, डिटोल साबुन एक कार्टुन पुर्‍याइएको थियो। हेलिकोप्टरबाट यही २४ गते कनकासुन्दरी र हिमाका घाईतेको उद्धार गरिएको नेपाली सेनाले जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केशरीले कर्णाली प्रदेश सरकारको सहयोगमा प्राप्त राहत सामाग्री बाढी पहिरो पिडितलाई उपलब्ध गराइएको तर वितरणको वास्तविक विवरण आउन बाँकी रहेको जानकारी दिए ।

हिमा गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर शाहीका अनुसार निरन्तरको प्रयासले प्रदेश सरकारको सहयोगमा तत्काल हिमाका सात वडामध्ये ४,५,६ र ७ का लागि २५ गते कालिकाखेत्तुमा र असोज २८ गते १,२ र ३ वडाको लागि देवारगाउँ टापुमा हेलिकप्टरद्वारा राहत सामग्री उपलब्ध गराइएको जानकारी दिए।

यही असोज १९ गतेदेखि २५ गतेसम्म परेको अविरल बर्षाले हिमा गाउँपालिकामा तीन सय ८६ घरमा पूर्ण क्षति भएको गाउँपालिकाले जनाएको छ । यसैगरी, सिंजा गाउँपालिकामा ५१ घर पूर्णरुपमा क्षति भएको गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालले जानकारी दिए। कनकासुन्दरी गाउँपालिका अध्यक्ष दामोदर आचार्यले यस क्षेत्रमा पहिरोले आठ जनाको मृत्यु भएको र घरको क्षतिबारे तथ्याङक सङ्कलन भइरहेको बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?