नेकपा सचिवालय बैठक बस्दै, पार्टी एकता लगायत विषयमा छलफल हुने

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज पनि बस्दैछ । 

बुधबार दिउँसो ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा नेकपा सचिवालय बैठक बस्ने तय भएको नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयले जनाएको छ । 

बैठकमा पार्टी एकता, जिम्मेवारी बाँडफाँट, सरकारको कामकारबाहीलगायतका विभिन्न एजेण्डामा छलफल हुने नेकपाका एक नेताले बताए ।

त्यस्तै पटक–पटक सचिवालय बैठक बसे पनि पार्टी एकतालगायत विषय टुंगिन सकेको छैन । पार्टी एकता विषय नटुंगिदा तल्ला तहमा अन्योलता देखिएको छ । 

दुई ठूला कम्युनिष्ट घटक नेकपा एमाले र माओवादी केन्द्रले मिलेर गत जेठ ३ गते ६ बुँदे घोषणापत्र एकता जारी गर्दै पार्टी एकीकरण भएको थियो । पुनर्गठित पार्टीको अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल छन् भने ९ सदस्यीय सचिवालय बनाइएको छ ।

नेकपाले प्रदेश इञ्चार्ज, अध्यक्ष र सचिवको जिम्मेवारी तोके पनि यसमा पनि विवाद देखिएको छ ।

वरिष्ठ नेता माधवकुमार नेपाल र नेता नारायणकाजी श्रेष्ठले यसमा असहमति जनाएका छन् । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?