मन्त्री हुँदा चर्चामा आएका आलेलाई डोटीमा कति सहज ?

काठमाडौं । डोटीमा सत्ता गठबन्धनको समर्थनमा नेकपा (एकीकृत समाजवादी) का नेता एवं पूर्वमन्त्री प्रेमबहादुर आले चुनावी मैदानमा छन् । सिट बाँडफाँट हुँदा नेपाली कांग्रेसले आफ्नो दाबी छोड्न मानेको थिएन ।

२०७४ सालमा आलेसँगै प्रतिस्पर्धा गरेका कांग्रेस सुदूरपश्चिम प्रदेश सभापति वीरबहादुर बलायरले डोटीमा कांग्रेसले पाउनुपर्ने दबाव नेतृत्वलाई दिएका थिए । यता, आलेले पनि नेकपा (एकीकृत समाजवादी) को भागमा यो क्षेत्र नपरे देशैभर गठबन्धनको औचित्य समाप्त हुने भन्दै खबरदारी गरे ।

अन्ततः यही रस्साकस्सीकाबीच कांग्रेस नेता बलायर कैलाली–४ मा झर्न सहमत भएसँगै डोटी नेकपा (एकीकृत समाजवादी) को भागमा परेको थियो । प्रतिनिधि सभामा प्रत्यक्षतर्फ डोटीमा आलेसहित ६ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।

एक मात्र निर्वाचन रहेको डोटीमा नेकपा एमालेबाट गौरीकुमारी ओली, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट अंकबहादुर खड्का, राष्ट्रिय स्वतन्त्र पार्टीबाट केशव बलायर, स्वतन्त्रबाट राजप्रसाद जोशी र नरेन्द्रबहादुर खड्काले उम्मेदवारी दिएका छन् ।

प्रदेश सभातर्फ डोटी (क) मा नेपाली कांग्रेसका नरेन्द्रबहादुर सिंह, नेकपा एमालेबाट चक्रबहादुर मल्ल, हाम्रो नेपाली पार्टीबाट शैलेन्द्र खड्का, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट नेत्र नाथले उम्मेदवारी दिएका छन् । त्यस्तै, डोटी (ख) मा नेकपा एमालेका टेकबहादुर बम, नेकपा माओवादी केन्द्रबाट शिवसिंह ओली, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट मोहनबहादुर बमले उम्मेदवारी दिएका छन् ।

आसन्न मंसिर ४ गते हुने संसदीय निर्वाचनमा आले सत्तारुढ दलबाट साझा उम्मेदवारका रुपमा प्रतिस्पर्धा गर्न लागेका हुन् । ०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा पराजित भएका आलेले ०७० को दोस्रो संविधानसभा निर्वाचनमा डोटी–२ बाट बाजी मारे ।

देश संघीय संरचनामा गएसँगै डोटीमा एउटा मात्र निर्वाचन क्षेत्र निर्धारण भयो । उसो त ०७४ मा पनि बाम गठबन्धनका तर्फबाट उम्मेदवार बनेका आले नै निर्वाचित भए । उनीसँग कांग्रेसका बलायर पराजित भए । आलेले ३२ हजार ५१० मत ल्याएर विजयी हुँदा बलायर ३० हजार ८७८ मतमै सिमित भए ।

संसदको यही कार्यकालमा आले दुईपटक मन्त्री बने भने प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखासमिति सदस्यसमेत भएर काम गरे । उनी तेस्रोपटक चुनावी मैदानमा उत्रिएका हुन् ।

आलेलाई स्वतन्त्र उम्मेदवारको चुनौती

पछिल्ला दुई निर्वाचनमा विजयी आले यसपटक ‘ह्याट्रिक’ गर्ने दाउमा छन् । तर, यस पटकको राजनीतिक समीकरणले उनलाई त्यति सजिलो भने छैन । लगातार तेस्रोपटक चुनावी मैदानमा रहेका आलेलाई स्वतन्त्र उम्मेदवार चुनौती हुने देखिएको छ । तर, उनको मूख्य प्रतिस्पर्धी भने एमालेकी उम्मेदवार ओली नै हुन् ।

एकातिर सिट बाँडफाँटमा असन्तुष्ट कांग्रेस र गठबन्धनमा रहेको माओवादी केन्द्रलाई साथमा लैजानुपर्ने चुनौति पनि आलेमाथि छ । भने, अर्काेतिर बलियो शक्तिको रुपमा रहेको नेकपा एमालेसहितका दल हाम्रो नेपाली पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारसँग प्रतिस्पर्धा गर्नुपर्नेछ ।

गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा डोटीका ९ वटा स्थानीय तहमध्ये नेपाली कांग्रेसले ७, नेकपा एमालेले १ र नेकपा (माओवादी केन्द्र) ले १ स्थानीय तहमा जित हासिल गरेको थियो ।

कांग्रेसले आदर्श, केआई सिंह, पूर्वीचौकी, बडिकेदार र सायल गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र बोगटान फुड्सिल गाउँपालिका उपाध्यक्ष जितेको थियो भने, दिपायल सिलगढी र शिखर नगरपालिका प्रमुख, उपप्रमुख जितेको थियो । एमालेले जोरायल गाउँपालिका अध्यक्ष, उपाध्यक्ष जितेको थियो । माओवादी केन्द्रले बोगटान फुड्सिल गाउँपालिका अध्यक्ष जितेको थियो ।

स्थानीय तह निर्वाचनमा यहाँ वडा अध्यक्षका उम्मेदवारले पाएको मतपरिणामअनुसार नेपाली कांग्रेसले ३४ हजार ४७, एमालेले २४ हजार ९१६, माओवादी केन्द्रले ७ हजार ७८९ एकीकृत समाजवादीले ३ हजार २०५ र राष्ट्रिय प्रजातन्त्र पार्टीले ९८७ मत ल्याएका थिए । त्यसैले आलेले यहाँ कांग्रेसीहरुलाई रिझाउनुपर्ने छ । किनभने उनको जीतको लेखाजोखा कांग्रेसको भोटले नै निर्धारण गर्छ ।

आफ्नै अभिव्यक्तिले विवादित आले

यद्यपि, आलेले सांसद भएर मन्त्री हुँदासमेत आफ्नो व्यक्तिगत छवीलाई स्वच्छ राख्न सकेनन् । मन्त्रीको जिम्मेवारीमा रहँदा आलेले केही आसलाग्दा काम गरे पनि उनका अभिव्यक्तिले भने विवादको चुचुरोमा पुर्‍यायाे ।

वनमन्त्रीमा बहाल रहँदा उनले एक कार्यक्रममा भनेका थिए, ‘जुन रुखबाट हामी कार्वनडाइअक्साइड पाउँछौँ, जुन रुखलाई हामी अक्सिजन दिन्छौ त्यही रुख रहेन भने के हुन्छ होला त ?’ आफूले बोलेको कुराको भेउ नपाएर चिप्लिएपछि उनको यो अभिव्यक्तिले चर्चा पायो ।

त्यसयता कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको मन्त्रीमण्डलमा उनी संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बने । २०७८ असोज २२ गते आले मन्त्री बनेका थिए । त्यसलगत्तै उनी फेरि अर्काे विवादमा तानिए । आलेले अश्लील शब्द प्रयोग गर्दै एक व्यक्तिलाई गाली गरेको अडियो सामाजिक सञ्जालमा छताछुल्ल भयो ।

उनले अछाम घर भई भारतको मुम्बई बस्ने जगत ओलीलाई गरेको अश्लील गाली सामाजिक सञ्जालमा भाइरल भएको थियो । त्यस्तै, पछिल्लो समयमा नेपाल एयरलाइन्सका अध्यक्ष युवराज अधिकारीसँग अश्लील शब्द प्रयोग गरी गाली गरेको अडियोले पनि उनका आलोचकलाई मसला बन्यो ।

यसका बाबजुत पनि आलेले आफ्नो कार्यकालमा जनमुखी र आम नागरिकले अनुभूति गर्ने गरी एकपछि अर्को काम गरिरहेका थिए । उनी आफ्नो छोटो कार्यकालमा सरकारको खातामा क्यासिनोबाट ८१ करोड रुपैयाँ राजस्व संकलन गरेर चर्चा कमाए । साथै, नारायणहिटी दरबार संग्राहलय परिसरमा निर्माण भइरहेको रेस्टुरेन्टको काम आलेको ठाडो निर्देशनमा रोकियो । त्यसले पनि आलेलाई राम्रै चर्चा दिलायो ।

आलेकै कार्यकालमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनल स्टेशनमा सटल बस सेवा सञ्चालनमा ल्याए भने, बतास समूहले पशुपति धर्मशालामा होटल चलाउन नपाउने गरि अवैध संरचना हटाए । आलेकै सक्रियतामा बतास समूहलाई पशुपति धर्मशालामा होटल सञ्चालन गर्न दिने गरि भएको अन्तरकालीन आदेश काठमाडौं जिल्ला अदालतले बदर गरेको थियो ।

यतिमात्र होइन, आलेले वैदेशिक रोजगारीमा जाने यात्रु ठगी वा अन्य कुनै समस्या परेमा विमानस्थलले व्यवस्था गरेको हटलाइनमा फोन गर्ने व्यवस्था मिलाए । वैदेशिक श्रम गन्तव्यमा जाने यात्रुका लागि अन्तर्राष्ट्रिय टर्मिनल भवनमा विश्राम घर बनाए । संसदको पाँच वर्षे कार्यकालमा आलोचना र चर्चा दुवै बटुलेका आलेलाई डोटीका मतदाताले फेरि संसद छिराउलान् ? त्यो भने हेर्न बाँकी नै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?