कञ्चनपुरमा पुरानै अनुहार चुनावी मैदानमा, होला त नयाँको उदय ?

काठमाडौं । २०४८ सालको पहिलो प्रतिनिधिसभा निर्वाचनमा कञ्चनपुरमा दुईवटा निर्वाचन क्षेत्र थिए । त्यसयता, ०५१ पछिका संसदीय निर्वाचनमा तीनवटा क्षेत्र निर्धारण गरिएको थियो । यो बीचमा थुप्रै राजनीतिक परिघटना भए । परिवेश फेरियो, भौगोलिक र जनसंख्याका आधारमा निर्वाचन क्षेत्र पनि हेरफेर भए ।

तर, ०४८ पछिका संसदीय निर्वाचनमा पनि उहीँ पुरानै अनुहार प्रतिस्पर्धामा छन् । ०४८ सालयता ६ वटा संसदीय निर्वाचन भइसकेका छन् । आगामी मंसिर ४ मा हुने निर्वाचन सातौँ निर्वाचन हो । सुदूरपश्चिमको राजनीतिमा प्रभाव क्षेत्रका रुपमा हेरिने गरिएको कञ्चनपुरमा प्रमुख राजनीतिक दलले फेरिपनि पुरानै अनुहार दोहोर्‍याएका छन् ।

तीनवटा प्रतिनिधि सभा निर्वाचन क्षेत्र रहेको कञ्चनपुरमा ठूला भनिएका राजनीतिक दलबाट पुरानै अनुहार चुनावी मैदानमा उत्रिएका हुन् । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा अधिकांश यसअघि पटक–पटक चुनावी प्रतिस्पर्धामा होमिएकाहरु नै उम्मेदवार छन् । यहाँ अवसर पाउने नयाँ नेता कम देखिएका छन् ।

लगातार अवसर पाइरहेका, सांसद र मन्त्रीसम्म भएका नै उम्मेदवार बनाइएका छन् । यसअघिका संसदीय निर्वाचनमा आफ्नो प्रभुत्व जमाएका दलहरु नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रबीच नै यसपटक पनि मुख्य प्रतिस्पर्धा हुने देखिएको छ ।

कञ्चनपुर–१ मा सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रकी वीना मगरले उम्मेदवारी दिएकी छन् । पूर्व खानेपानीमन्त्री समेत भएकी वीनासँग नेकपा एमालेका तारा लामा तामाङ चुनावी मैदानमा भिड्दै छन् । ०७४ मा एमालेबाट कञ्चनपुर–१ (क) मा तामाङ प्रदेश सभामा निर्वाचित भएका थिए । २० हजार १५ मत ल्याएर विजयी भएका उनीसँग कांग्रेसका गोपालसिंह गुरुङ ९ हजार २९० मतसहित पराजित भए ।

एमाले विभाजनका बेला नेकपा (एकीकृत समाजवादी) पार्टीमा सनाखत गरेपछि उनले प्रदेशको आर्थिक मामिला तथा योजनामन्त्रीको जिम्मेवारी पाएका थिए । गत भदौ दोस्रोसाता तामाङ नेकपा एमालेमै फर्किएपछि प्रतिनिधि सभाको टिकट पाएका हुन् । उनले टिकट पाएपछि एमालेमा आन्तरिक असन्तुष्टि चुलिएको छ । प्रतिनिधि सभाका यी दुवै प्रतिस्पर्धी वीना मगर र तारा लामा तामाङ एकै वडाका बासिन्दासमेत हुन् ।

त्यस्तै, प्रतिनिधि सभामा सो क्षेबाट राष्ट्रिय प्रजातन्त्र पार्टीले डिल्लीबहादुर शाहीलाई अघि सारेको छ । नेपाल मजदुर किसान पार्टीबाट नन्दादेवी जोशी, लोकतान्त्रिक समाजवादी पार्टी, नेपालबाट रामकिसन राना, नागरिक उन्मुक्ति पार्टीबाट नन्दकुमार राना, राष्ट्रिय स्वतन्त्र पार्टीबाट देवराज जोशी, स्वतन्त्रतर्फ हरिनादेवी भट्ट, खेम सुवेदी र जगतबहादुर सायरले उम्मेदवारी दिएका छन् ।

यहाँ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ की बुहारीसमेत रहेकी मगरले तेस्रोपटक चुनावी प्रतिस्पर्धा गर्न लागेकी हुन् । उनी यसअघि ०७४ मा बाम गठबन्धनकी साझा उम्मेदवार थिइन् । एकपटक हार एकपटक जीत निकालेकी मगर यसपटक फेरिपनि गठबन्धन दलको समर्थन लिएर सफलता हासिल गर्ने दाउमा छिन् ।

प्रदेश सभातर्फ कञ्चनपुर–१ (क) मा कांग्रेसका बन्धु राना, नेकपा एमालेका वीरबहादुर थापा, नेकपा माओवादी समाजवादीका जगेश्वर बुढाक्षेत्री, नागरिक उन्मुक्ति पार्टीबाट पल्टु राना, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका मजुरलाल राना, नेपाल मजदुर किसान पार्टीका भागरथी देवी रावल, राष्ट्रिय प्रजातन्त्र पार्टीका खेमराज लामिछाने र स्वतन्त्रतर्फ भक्तबहादुर अधिकारीले उम्मेदवारी दिएका छन् ।

कञ्चनपुर–१ (ख) मा नेपाली कांग्रेसबाट दिवानसिंह विष्ट, नेकपा एमालेका पल्लवराज भट्ट, लोकतान्त्रिक समाजवादी पार्टी, नेपालबाट बुझौना चौधरी थारु, नागरिक उन्मुक्ति पार्टीबाट काली चौधरी, नेपाल मजदुर किसान पार्टीबाट हर्कबहादुर क्षेत्री, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट धिरजविक्रम सिंह, स्वतन्त्रबाट नेत्रलाल चौधरी र टेकबहादुर साउँदले उम्मेदवारी दिएका छन् । उनीहरु अधिकांश नयाँ अनुहार हुन् ।

त्यस्तै, कञ्चनपुर–२ मा यसपटक पनि रोचक प्रतिस्पर्धा हुने भएको छ । नेपाली कांग्रेसका नारायणप्रकाश (एनपी) साउँद चुनावी दौडमा छन् । उनीसँग नेकपा एमालेका नरबहादुर धामी भिड्ने भएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीबाट अशोकबहादुर सिंहले पनि उम्मेदवारी दिएका छन् ।

त्यस्तै, नेपाल मजदुर किसान पार्टीबाट सिताराम राना, लोतान्त्रिक समाजवादी पार्टी, नेपालबाट लोकराज भट्ट, जनमत पार्टीबाट प्रेमसिंह बडाल उम्मेदवार छन् भने हाम्रो नेपाली पार्टीका जगदीश अवस्थी, जनता प्रगतिशील पार्टी, नेपालका विद्यादेव जोशी, नेपाली कांग्रेस (बी.पी.) का वीरबहादुर बोहरा र राष्ट्रिय स्वतन्त्र पार्टीबाट झंकरराज जोशीसहितले उम्मेदवारी दिएका छन् ।
साउँद र धामी गत ०७४ को निर्वाचनमा पनि प्रतिनिधिसभा सदस्यका लागि आमनेसामने भएका थिए ।

०७४ मा यस क्षेत्रमा नेकपा एमालेका उम्मेदवार नरबहादुर धामीले ३३ हजार २२० मत ल्याएर विजयी भएका थिए । धामीसँग कांग्रेसका नारायणप्रकाश (एनपी) साउँद २४ हजार ८९३ मत प्राप्त गरी पराजित भए । त्यतिबेला साउँद ८ हजार ३२७ मतान्तरले पराजित भएका थिए ।

०७० मा पराजित भएका एमाले उम्मेदवार धामी तेस्रोपटक चुनावी मैदानमा उत्रिएका छन् । भने, कांग्रेसका साउँद छैँटौपटक संसदीय निर्वाचनको दौडमा छन् । साउँदले ०५१ (हार), ०५६ (जीत), ०६४ (हार), ०७० (जीत) र ०७४ मा हार को सामना गरेका छन् । सत्ता साझेदार दलको सहयोगमा यसपटक साउँद सहजै बाजी मार्ने योजनामा छन् ।

प्रदेशसभातर्फ कञ्चनपुर–२ (क) मा नेकपा एमालेबाट बचनबहादुर सिंह, नेकपा माओवादी केन्द्रबाट ओमविक्रम भाट, लोकतान्त्रिक समाजवादी पार्टी, नेपालबाट जगन्नाथ केसी, हाम्रो नेपाली पार्टीका राजुराम सार्की (भुल) र नागरिक उन्मुक्ति पार्टीले गीता चौधरीलाई उम्मेदवार बनाएको छ ।

नेपाल मजदुर किसान पार्टीबाट भरतबहादुर रावल, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट चन्द्रकान्त भण्डारी, स्वतन्त्र गिरीराज पाण्डेय र स्वतन्त्र टेकबहादुर हमालले उम्मेदवारी दिएका छन् ।

त्यस्तै, कञ्चनपुर–२ (ख) मा नेपाली कांग्रेसबाट बहादुरसिंह थापा, नेकपा एमालेबाट कृपाराम राना, लोकतान्त्रिक समाजवादी पार्टी, नेपालबाट लक्ष्मीदेवी डंगौरा, नेकपा (एकीकृत समाजवादी) बाट लालबहादुर खड्का र हाम्रो नेपाली पार्टीले जमानसिंह कार्कीलाई उम्मेदवार बनाएको छ ।

नागरिक उन्मुक्ति पार्टीबाट जितेन्द्र चौधरी, नेपाल मजदुर किसान पार्टीबाट संजितसिंह राना, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट चक्रदेव जोशी र नेपाली कांग्रेस (बी.पी.) बाट नारायणदत्त बोहराले उम्मेदवारी दिएका छन् ।

कञ्चनपुर–३ मा प्रतिनिधि सभामा प्रत्यक्षतर्फ कांग्रेस केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री रमेश लेखकले उम्मेदवारी दिएका छन् । सत्ता गठबन्धनमा सिट बाँडफाँट हुँदा यो क्षेत्र कांग्रेसको भागमा परेको थियो । उनीसँग एमालेको तर्फबाट उम्मेदवार निरुदेवी पालको प्रतिस्पर्धा हुनेछ ।

यसअघि ०७४ मा समानुपातिकतर्फ सांसद भएकी पाल यसपाली प्रत्यक्षतर्फ निर्वाचन लड्न लागेकी हुन् । पाल प्रतिनिधि सभा अन्तर्गतको महिला तथा सामाजिक समितिकी सभापति समेत भइसकेकी छन् ।

लेखक ०५६ यताका संसदीय निर्वाचनमा पटक–पटक प्रतिस्पर्धा गर्दै आएका छन् । ०६४ को पहिलो संविधान सभा निर्वाचनमा लेखक समानुपातिकतर्फ संविधान सभा सदस्य भएका थिए । ०७० मा यही निर्वाचन क्षेत्रबाट लेखक प्रत्यक्षतर्फ लडे र जीत हासिल गरे । ०७४ मा भने उनी पराजित भए ।

अघिल्लो निर्वाचनमा एमालेका दीपकप्रकाश भट्टसँग झिनो मतान्तरले हार व्यहोरे । भट्टले २६ हजार ३६४ मत ल्याउदा लेखकले २६ हजार १०६ मत ल्याएका थिए । उनीहरुबीचको मतान्तर २५८ थियो । यसपटक लेखक र पालबीच नै कडा प्रतिस्पर्धा हुनेछ ।

त्यस्तै, यसक्षेत्रबाट नेपाल मजदुर किसान पार्टीका जानकीदेवी गिरी, लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका अम्बादत्त तिवारी, जनमत पार्टीबाट शुसिलादेवी विष्ट, मौलिक जरोकिलो पार्टीबाट तिलकप्रसाद जोशी, हाम्रो नेपाली पार्टीबाट दुर्गादत्त पाण्डेय, राष्ट्रिय स्वतन्त्र पार्टीबाट कृष्ण लुहार प्रतिस्पर्धामा छन् । यहाँ स्वतन्त्रबाट शारदादेवी चन्द, मदन दमाई, सुवाससिंह धामी, दिपकबहादुर सिंह चुनावी मैदानमा उत्रिएका छन् ।

गत स्थानीय तहको मत परिणामअनुसार कञ्चनपुर–३ मा कांग्रेस बलियो अवस्थामा छ । त्यसमाथि गठबन्धन दलहरूको समेत समर्थन पाएका लेखकले सहजै चुनाव जित्ने आँकलन गरिएको छ । तर, कांग्रेसभित्रको आन्तरिक विवाद व्यवस्थापन गर्न लेखकसामू चुनौती भने थपिएका छन् ।

आन्तरिक संघर्ष र गुटगत राजनीतिक प्रभावले लेखकलाई केही असर गर्ने देखिन्छ । कांग्रेसबाट विद्रोह गरेर दीपकबहादुर सिंह र शारदा चन्दले प्रतिनिधि सभामा बागी उम्मेदवारी दिएका छन् । निर्माण व्यवसायी सिंह र अधिकारकर्मी चन्दको उम्मेदवारी लेखकका भारी हुने देखिन्छ ।

प्रदेश सभातर्फ कञ्चनपुर–३ (क) मा नेकपा माओवादी केन्द्रका टेकेन्द्रप्रसाद भट्ट, नेकपा (एकीकृत समाजवादी) का प्रकाश रावल, मौलिक जरोकिलो पार्टीका मोहनसिंह धामी, नेकपा (माक्र्सवादी लेलिनवादी) का पदमसिंह खत्री, नेपाल मजदुर किसान पार्टीका सुरेन्द्र दमाई, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट धर्मराज जोशी, स्वतन्त्र गोपालसिंह बुडापाल, पिताम्बर जोशी, महादेव भट्ट, दिवान मेजार (आग्री) र लोकविक्रम थापा चुनावी प्रतिस्पर्धामा छन् ।

त्यस्तै, प्रदेश सभातर्फ कञ्चनपुर–३ (ख) मा नेपाली कांग्रेसका वेलबहादुर रानामगर, नेकपा एमालेका सुरेन्द्रबहादुर विष्ट, नेपाल मजदुर किसान पार्टीबाट लक्ष्मण रोकाया, नेपाली कांग्रेस (बी.पी) धनबहादुर शाही र स्वतन्त्रबाट भिमबहादुर कुमालले उम्मेदवारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?