कैलालीमा चुनावी प्रतिस्पर्धा रोचक बन्दै

RSS
105
Shares

कैलाली । आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि कैलाली जिल्लामा विभिन्न दलले गठबन्धन गरेर प्रत्यासी उठाइएपछि प्रतिस्पर्धा भिन्न र रोचक बन्ने देखिएको छ । नेपाली कांग्रेससहितको बाम—लोकतान्त्रिक गठबन्धनले भागबन्डा गरेर आ–आफ्ना उम्मेदवार उठाउँदा (नेकपा एमाले) ले पनि प्रदेश सभाका केही क्षेत्रमा जनता समाजवादीसँग तालमेल गरेर उम्मेदवार उठाएपछि चुनावी प्रतिस्पर्धा विगतको भन्दा भिन्न र रोचक देखिएको हो ।

स्थानीयवासी विष्णु भाटले गठबन्धन गरेर निर्वाचनमा जाँदा प्रतिस्पर्धामा यस्तो स्थिति देखिनु स्वभाविक भएको बताउँछन् । उनी भन्छन्,‘गाग्रीभरिको पानी सानो मखमा खन्याउनुपर्ने जस्तो गरी सानो दलका उम्मेदवारलाई ठूलो दलसमर्थित मतदाताले मत दिनुपर्दा चुनाव रोचक बन्दैछ ।’

अर्का मतदाता बामदेव जोशी पनि स्थिरता र विकासका लागि स्वच्छ छवि भएका इमान्दार उम्मेदवार छान्ने मौका आएकाले सचेत भएर मतदान गर्नुपर्ने समय आएको बताउँछन् । एउटै निर्वाचन क्षेत्रमा धेरै उम्मेदवार हुँदा मतदाता कसलाई मतदिने भनेर केही अलमलमा परेका छन् भन्दै उनले जोड दिए, ‘विगतका निर्वाचनमा भन्दा अहिले मतदाता निकै सचेत भइसकेकाले यो चुनावमा सक्षम र इमान्दार उम्मेदवारलाई मतजाने देखिन्छ ।’

सत्ता गठबन्धनमा आवद्ध नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) सहित दलले आपसमा मिलेर चुनावमा उम्मेदवार उठाएका छन् । एमाले र जनता समाजवादी पार्टीले पनि कैलालीको प्रदेशसभाका केही क्षेत्रमा आपसमा तालमेल गरेर उम्मेदवार उठाएका छन् ।

प्रतिनिधिसभातर्फ कांग्रेसले क्षेत्र नं १, ४, र ५, माओवादीले क्षेत्र नं २ र ३ मा उम्मेदवार उठाएको छ । एकीकृत समाजवादीले भने जिल्लाका दुई प्रदेशसभामा मात्र उम्मेदवार उठाएको छ । सांङ्गठनिक रुपमा जिल्लामा अन्य दलको तुलनामा कमजोर रहेको जनमोर्चा नेकपा एमालेले प्रतिनिधिसभाका सबै (पाँच क्षेत्र) मा उम्मेदवार उठाएको छ ।

उसले प्रदेशसभाका दुई निर्वाचन क्षेत्रमा जनता समाजवादीसँग तालमेल गरेको छ । गएको स्थानीय तहको निर्वाचनमा चार वटा पालिका प्रमुख जितेर पहिलो शक्ति बनेको नागरिक उन्मुक्ति पार्टीले सबै क्षेत्रमा उम्मेदवार उठाएको छ ।

जिल्लामा राष्ट्रिय प्रजातन्त्र पार्टी, नेमकिपा, राष्ट्रिय जनमुक्ति पार्टी, नेकपा माले, लोकतान्त्रिक समाजवादी पार्टी, सङ्घीय तोकतान्त्रिक राष्ट्रिय मञ्चले पनि कतिपय क्षेत्रमा आफ्ना उम्मेदवार उठाएको छ । उम्मेदवारको अन्तिम नामावली प्रकाशन भएसँगै कैलाली जिल्लाका प्रत्यासीले प्रचारप्रसार गरेर मतदातालाई रिझाउन सुरु गरिसकेका छन् ।

प्रचारप्रसारका साथै उम्मेदवारहरु बैठक, भेला, प्रशिक्षण, छलफल, अन्तक्र्रियामा केन्द्रित भइरहेका छन् । त्यस्ता कार्यक्रममा उम्मेदवारलाई कसरी विजयी बनाउन सकिन्छ भन्ने विषयमा छलफल हुने गरेको नेता कार्यकर्ताले बताएका छन् ।

विभिन्न पार्टीका नेता तथा कार्यकर्ताले टिकट वितरणमा असन्तुष्ट हुँदै पार्टी परित्याग गरेर स्वतन्त्र उम्मेदवारी दिएका छन् भने कतिपयले आफ्नो उम्मेदवारी फिर्ता पनि लिएका छन् । कैलालीको प्रतिनिधिसभाका लागि निर्वाचन क्षेत्र ५ (धनगढी क्षेत्र) बाट धेरैले स्वतन्त्र रुपमा उम्मेदवारी दिएकाले यो क्षेत्रको निर्वाचनलाई आम मतदाताबाट चासो र उत्सुकतापूर्वक हेर्न थालिएको छ ।

प्रदेशको राजधानी, सहर र प्रदेशको एकमात्र उपमहानगरपालिका रहेकोले पनि यो क्षेत्रको चुनावलाई बढी चासोपूर्वक हेर्न थालिएको हो । पाँच वर्षअघि यो निर्वाचन क्षेत्र (धनगढी) बाट उम्मेदवार बनेकी कांग्रेस नेत्री डा.आरजु राणा देउवालाई अन्तर्घात गरेर पराजित बनाएको भन्दै कांग्रेसको कारबाही परेका पूर्वराज्यमन्त्री पुस्करनाथ ओझाले स्वतन्त्र उम्मेदवारी दिनु भएपछि चासो थप बढेको हो ।

राणाका सहयोगी एवं कांँग्रेसका युवा नेता प्रकाशबहादुर देउवाले यसै क्षेत्रको प्रदेशसभातर्फ पार्टीको टिकट पाएका छन् भने सोही पदमा कांग्रेसका युवा नेता क्षितिज भण्डारीले स्वतन्त्र उम्मेदवार दिएका छन् । सत्यराज उपाध्याय रामबहादुर सिंह, जगदीश चौधरीले पनि प्रतिनिधिसभाका लागि उम्मेदवारी दिएका छन् ।

यो क्षेत्रको प्रदेशसभामा एमालेका नेता एवं पूर्वमन्त्री नारदमुनी राना, सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका डिल्लीराज पन्त, राष्ट्रिय स्वतन्त्र पार्टीका ईश्वरी विष्ट, लोकतान्त्रिक समाजवादी पार्टीका दानबहादुर विश्वकर्मा, नेमकिपाका नन्दाकुमारी दर्लामीमगरले पनि उम्मेदवारी दिएका छन् ।

नागरिक उन्मुक्ति पार्टीका लक्ष्मण चौधरीले दिएको उम्मेदवारी भने खारेज भएको छ ।
यो क्षेत्रको प्रदेशसभामा टिकट पाएका एमालेका यज्ञराज बास्तोलाको टिकट खोसिएपछि सो पार्टीमा पनि असन्तुष्टि बढेको छ । बास्तोलाले पार्टीसमेत परित्याग गरेका छन् ।

कैलालीमा झण्डै दश हजार नयाँ मतदाता थप

गत वैशाखमा भएको स्थानीय तहको निर्वाचनपछि कैलाली जिल्लामा दश हजार तीन सय ८९ नयाँ मतदाता थपिएका छन् । नयाँ थपिएकासमेत जिल्लामा जम्मा मतदाता संख्या पाँच लाख ३५ हजार पाँच सय १४ पुगेका छन् ।

यीमध्ये दुई लाख ६१ हजार पुरुष र दुई लाख ७३ हजार आठ सय ८३ महिला मतदाता छन् । अन्य मतदाता ११ जना छन् । निर्वाचन कार्यालयका अनुसार प्रतिनिधिसभाको निर्वाचन क्षेत्र १ मा एक लाख छ हजार सात सय तीन , क्षेत्र नं २ मा एक लाख चार हजार नौ सय छ, क्षेत्र नं ३ मा एक लाख सात हजार छ सय ५९, क्षेत्र न ४ मा एक लाख दश हजार चार सय ५३ र क्षेत्र नं ५ मा एक लाख पाँच हजार सात सय ९३ मतदाता छन् ।

प्रदेशसभातर्फ निर्वाचन क्षेत्र १ को (क) मा ५१ हजार सात सय २९ र (ख) मा ५४ हजार नौ सय ७३ मतदाता छन् ।  यस्तै निर्वाचन क्षेत्र २ को (क) मा ५० हजार नौ सय छ, (ख) मा ५३ हजार नौ सय ९८, निर्वाचन क्षेत्र नं ३ को (क) मा ५३ हजार दुई सय ८५ (ख) मा ५४ हजार सात सय ३०, निर्वाचन क्षेत्र ४ को (क) मा ५३ हजार छ सय ५४ (ख) मा ५६ हजार सात सय ९८ र निर्वाचन क्षेत्र ५ को (क) मा ५२ हजार ४६ र (ख) मा ५३ हजार सात सय ४४ मतदाता छन् ।

जिल्लाभरी दुईसय ३७ मतदानस्थलमा छ सय २९ मतदान केन्द्रको व्यवस्था गरिएको छ । मंसिर ४ गते हुने निर्वाचनका लागि जिल्लाका पाँच निर्वाचन क्षेत्रबाट ४८ उम्मेदवार र दश प्रदेश सभाको निर्वाचनका लागि ७८ जनाबीच प्रतिस्पर्धा हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?