‘कतिपयले सहानुभूति राख्छन् कतिपयले खिल्ली उडाउँछन्’

RSS
65
Shares

काठमाडौं । विहानको झुलमुले उज्यालोसँगै मतदाताको घरघरमा पुग्नु र मत माग्नु आजभोलि दुर्पता सोमैको दैनिकी बनेको छ । आगामी मङसिरमा हुने निर्वाचनमा पाल्पा जिल्ला क्षेत्र नं २ मा प्रतिनिधिसभामा उमेदवार भएकी उनी जिल्लाको एक्लो महिला उम्मेदवार हुन् । “बिहानैदेखि घरघर जान्छु, मेरो योजना सुनाउँछु, भोट माग्छु”, उनी भन्छिन्, “कतिपयले सहानुभूति राख्छन् कतिपयले खिल्ली उडाउँछन् ।”

प्रतिनिधिसभाको लागि दुई र प्रदेशसभाको छ निर्वाचन क्षेत्र रहेको जिल्लामा दल र स्वतन्त्र गरी ४७ जनाले उमेदवारी दर्ता गराएका छन् । यसमा सोमै एक्ली महिला उमेदवार छिन्, “अरु दलहरुले महिलालाई उमेदवार नबनाएको देख्दा दुःख लाग्यो”, उनी भन्छिन, “महिला अधिकारका चर्का नारा लगाउने दलहरुले नै महिलालाई नेतृत्वमा पुग्न दिँदैनन् ।” जनता समाजवादी पार्टीको जिल्ला सदस्यसमेत रहेकी सोमै सोही पार्टीबाट उमेदवार छिन् । “पार्टीले महिलालाई प्राथमिकता दिएकै छ, हामीले स्थानीयतहको निर्वाचनमा उमेदवारी दिएका दियौँ”, उनी भन्छिन, “जति भोट आउँला, नजिते पनि महिलालाई स्थान चाही दिएको छ ।” विसं २०७२ देखि जसपामा आबद्ध भई राजनीतिमा होमिएकी सोमैको यो पहिलो उमेदवारी हो ।

जसपाका जिल्ला उपाध्यक्ष हेमबहादुर सोमै, महिलालाई प्राथमिकता दिएर चुनाव लड्ने पार्टीकै एजेण्डा भएको बताउछन्, महिलाले सक्दैनन् भन्ने हटाउन पनि महिलालाई प्राथमिकता दिएको सोमैको भनाई छ ।

क्षेत्र नं २ बाट छैटौँ पटक निर्वाचनमा होमिएका पूर्वउद्योगमन्त्री सोमप्रसाद पाण्डेय र नेकपा (एमाले) पोलिटब्यूरो सदस्य ठाकुर गैरे पनिसँगै चुनावी मैदानमा छन् । राजनीतिक दलहरुबाट १२ जना र स्वतन्त्रबाट तीन जना गरी १५ जनाले प्रतिनिधिसभाको उमेदवारी मनोनयन दर्ता गराएका छन् ।

निर्वाचन क्षेत्र नं २ का निर्वाचन अधिकृत कमलराज विष्टका अनुसार गठबन्धनबाट पाण्डेय, एमालेबाट गैरे, मङ्गोल नेशनल अर्गनाइजेशनबाट मनबहादुर दर्लामी, राष्ट्रिय स्वतन्त्र पार्टीबाट सोमप्रसाद गैरे, जसपाबाट सोमै, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट भोजिन्द्रबहादुर केसी, नेमकिपा बाट शिवसुन्दर धुरम्बा, नेपालआमा पार्टीबाट ताराबहादुर खत्री, राष्ट्रिय जनमुक्ति पार्टीबाट हुमबहादुर थापा, राप्रपा नेपालबाट खडानन्द गैरे, जन समाजवादी पार्टीबाट देवबहादुर हिस्की, नेपाली कांग्रेस विपीबाट श्रीधर न्यौपाने र स्वतन्त्र उपेन्द्रराज गहिरे, केशरबहादुर आले, जीवलाल सुवेदी गरी १५ ले मनोनयन दर्ता गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?