काठमाडौं । नेकपा एमालेबाट सिन्धुपाल्चोक प्रतिनिधि सभा २ अन्तर्गत प्रदेश सभा (ख) को उम्मेदवार बनेका हस्त पण्डितले आर्थिक हिनामिना गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । पण्डितले इचोकस्थित महाँकाल स्वास्थ्य सेवा केन्द्रमा चरम आर्थिक हिनामिना गरेको भन्दै २०७९ असार ६ गते अख्तियारमा उजुरी परेको हो ।
अख्तियारले असार १६ गते नै हेलम्बु गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई उक्त उजुरी उपर छानबिन गरी प्रतिवेदन उपलब्ध बुझाउन पत्र काटेको थियो ।
सरकारी निकायबाट अनुमति लिइ सञ्चालित उक्त स्वास्थ्य केन्द्रमा पण्डित २०५२ सालदेखि नै अध्यक्ष छन् । उनीमाथि स्वास्थ्य केन्द्रमा आर्थिक घोटाला गरेको, सप्ताह लगाएको पैसासमेत हिनामिना गरेको, कामै नगरी बिल भर्पाइमात्र बनाएको, करोडौँ रुपैयाँ कामै नगरी भुक्तानी लिएको भन्दै अख्तियारमा उजुरी परेको थियो ।
यस विषयमा गाउँपालिकाले अनुसन्धान गरी अख्तियारलाई प्रतिवेदनसमेत बुझाइसकेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत उदयराज भट्टराईले लोकपथलाई जानकारी दिए । ‘म यस कार्यालयमा भदौ २२ गतेबाटमात्र हाजिरी भएका हुँ यसभन्दा अघि भीमप्रसाद पराजुली प्रशासकीय अधिकृत हुनुहुन्थ्यो उहाँले उक्त उजुरीउपर अनुसन्धान गरी अख्तियारलाई प्रतिवेदन बुझाइसक्नुभएको मलाई जानकारी छ,’ उनले भने, ‘कतिपय कुराहरु गोप्य राख्नुपर्ने भएकाले प्रतिवेदनमा के भनिएको छ भन्नेबारे भन्न मिल्दैन ।’
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सूचना अधिकारी देवीप्रसाद थपलियका अनुसार उक्त पण्डितमाथिको उजुरी छानबिनकै क्रममा रहेको बताए ।
तर, अख्तियारमा कुनै कसुरमा उजुरी पर्दैमा उम्मेदवारी नै दिन नपाउने भन्ने ऐनमा व्यवस्था नरहेको निर्वाचन आयोगका सह–सचिव यज्ञ भट्टराईले लोकपथलाई बताए । यद्यपि, अख्तियारमा मुद्धा परेको व्यक्ति निर्वाचित भएको अवस्थामा भने स्वतः निलम्बनमा पर्ने उनले बताए । ‘अख्तियारमा भष्ट्राचारको उजुरी परेर अन्तिम फैसला भएको छ भने चाहिँ त्यो व्यक्ति उम्मेदवारी दिन अयोग्य हुन्छ तर उजुरी छानबिनकै क्रममा रहँदा अयोग्य ठहरिँदैन,’ उनले भने, ‘यदि अख्तियारमा उजुरी परेको व्यक्ति निर्वाचित भएर आयो भने त्यो सार्वजनिक पद धारण गरेको व्यक्ति हुन्छ त्यस्ता व्यक्ति भ्रष्टाचार निवारण ऐन,२०५९ अनुसार स्वतः निलम्बन हुन्छ उसले काम गर्न पाउँदैन ।’
त्यसैले अख्तियारमा भ्रष्टाचारको आरोप खेपेका पण्डित निर्वाचित भएको अवस्थामा पनि स्वतः निलम्बनमा पर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया