एउटै वडाका तीन नेता प्रदेशसभाको चुनावी मैदानमा

लोकपथ
156
Shares

खोटाङ । खोटाङमा एउटै वडाका तीन नेता प्रदेशसभाको चुनावी मैदानमा उत्रिएका छन् । आगामी ४ मंसिरमा हुने प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत प्रदेशसभा (क) मा नेकपा एमालेबाट दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुईपाका पाँचकर्ण राई (पिके), नेकपा (एकीकृत समाजवादी) बाट बीरवलकाजी राई र जनता समाजवादी पार्टीबाट राकेश राई चुनावी दौडमा उत्रिएका हुन् ।

एकै वडाका तीन नेताले आइतवार दलबलसहित मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर उम्मेदवारी दर्ता गरेका छन् । पाँचकर्ण र राकेश साविकको बुईपा–२ का स्थायी बासिन्दा हुन् भने वीरवलकाजी साविकको बुईपा–१ का हुन् । साइनोमा एकै दाजुभाइभित्रका पाँचकर्ण काका र राकेश भतिजा हुन् ।

एकैठाउँबाट तीन नेता उम्मेदवार उठेपछि आफन्तकै मत बाँडिने भएको छ । दलहरुले भने एकै वडाका तीन नेताले टिकट पाउनुलाई संयोग भनेका छन् । उम्मेदवारी दर्तासँगै तीनै जना नेताहरु चुनावी अभियानमा जुटेका छन् । उनीहरुलाई मतदाताको घरमा पुग्ने, चुनावी कार्यक्रम सम्बन्धी योजना बनाउने चटारो सुरु भएको छ ।

आसन्न निर्वाचनका लागि प्रतिनिधिसभातर्फ दुई स्वतन्त्रसहित ९ जनाको उम्मेदवारी दर्ता भएको छ । यस्तै, प्रदेशसभा (क) मा ९ जना र प्रदेशसभा (ख) मा छ जनाको उम्मेदवारी दर्ता भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?