पर्यटनमन्त्री श्रेष्ठसँग इटालीका राजदूत लुकाको शिष्टाचार भेट

लोकपथ
21
Shares

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठसँग नेपालका लागि इटालीका राजदुत भिन्सेन्जो डे लुकाले शिष्टाचार भेट गरेका छन् । मन्त्रालयमा सोमवार भएको भेटमा उनीहरूले द्विपक्षीय सम्बन्ध, आपसी हित र सहयोगका विविध विषयमा छलफल गरेका थिए । इटालियन सरकारले नेपालको विकासमा गर्दै आएको प्रत्यक्ष तथा परोक्ष सहयोगको स्मरण गर्दै मन्त्री श्रेष्ठले आगामी दिनमा पनि सहयोग प्राप्त हुने विश्वास व्यक्त गरे ।

वि.स.२०७२ सालमा गएको भुकम्पबाट क्षति भएका ऐतिहासिक तथा सांस्कृतिक सम्पदाहरू पुनर्निर्माणमा इटालियन सरकारबाट महत्वपुर्ण सहयोग प्राप्त भएको मन्त्री श्रेष्ठले बताए । राजदुत लुकाले विश्वकै निधिका रूपमा रहेका नेपालका सम्पदाहरुको संरक्षण, पुनर्निर्माण तथा जीर्णोद्वारमा इटालियन सरकार सहयोग गर्न इच्छुक रहेको बताए ।

युरोपेली संस्कृति तथा सम्पदाको केन्द्रका रूपमा रहेको इटालीबाट नेपालले पुरातात्विक सम्पदाको व्यवस्थापन तथा संरक्षणबारे शिक्षा लिन चाहेको मन्त्री श्रेष्ठले बताए । मन्त्री श्रेष्ठले विश्वसम्पदा सूचीमा सूचीकृत दुई सम्पदा जोड्ने गरी हनुमानढोका–स्वयम्भू सम्पदामार्ग निर्माण सुरु गरिएको जानकारी दिँदै सम्पदामार्ग विश्व पर्यटनकै दुर्लव संयोग रहने र पर्यटन आकर्षणका लागि समेत महत्वपुर्ण रहने बताए । राजदुत लुकाले इटालीले नेपालको पर्यटन विकासमा सहयोग गर्ने बताए । साथै, उनले इटालीयन सरकारले आयोजना गर्ने रोम एक्स्पो २०३० परियोजनाको तयारीबारे पनि मन्त्री श्रेष्ठलाई जानकारी गराएका थिए ।

उनले २०७८ कात्तिकमा गैरआवासीय राजदुतकोरुपमा राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष ओहदाको प्रमाणपत्र पेश गरेका थिए । भारतका लागि आवाशीय राजदुत रहेका लुका नेपालको गैरआवासीय राजदुत हुन । नेपाल र इटालीबीच सन् १९५९ मा कुटनीतिक सम्बन्ध स्थापित भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?