कास्कीमा १०८ जनाको उम्मेदवारी, सबै क्षेत्रमा बागी उम्मेदवार

लोकपथ
65
Shares

पोखरा । कास्कीमा ९ पदका लागि १ सय ८ जनाको उम्मेदवारी परेको छ । प्रतिनिधिसभातर्फ ५३ जनाले मनोनयन दर्ता गराएका छन् भने प्रदेशसभाका लागि ५५ जना उम्मेदवार भएका छन् ।

प्रतिनिधिसभामा १८ जना स्वतन्त्र छन् भने बाँकी विभिन्न दलका उम्मेदवार छन् । ३ निर्वाचन क्षेत्र रहेको कास्कीमा १० जना महिलाले मात्रै मनोनयन दर्ता गरेका छन् । प्रदेशसभा तर्फ १३ स्वतन्त्र उम्मेद्वार छन् भने १० जना मात्रै महिला छन् । तीनवटै क्षेत्रमा प्रतिनिधिसभा सदस्यका लागि प्रमुख पार्टीलाई बागी उम्मेदवारी परेको छ ।

कास्की १ मा गठबन्धन उम्मेद्वार किशोरदत्त बरालविरुद्ध एकीकृत समाजवादीका घननाथ सापकोटाले उम्मेदवारी दिएका छन् । कास्की २ मा पनि गठबन्धन उम्मेदवार श्रीनाथ बरालविरुद्ध कांग्रेस नेता महादेव गुरुङले उम्मेद्वारी दिए ।

कास्की ३ मा रामजी बरालका विरुद्ध माओवादीकै अनिता भुर्तेल चुनौती बनेकी छिन् भने एमाले उम्मेदवार दामोदर बैरागीलाई पनि जगन्नाथ बास्तोलाले बागी चुनौती दिएका छन् । क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभाका लागि ४ जना स्वतन्त्र र १३ राजनीतिक दलसहित १७ जनाले मनोनयन दर्ता गराएका छन् ।

एमालेका जिल्ला अध्यक्ष मनबहादुर गुरुङ र कांग्रेस जिल्ला सभापति किशोरदत्त बरालबीच कडा प्रतिस्पर्धा हुनेछ । बराल गठबन्धनको साझा उम्मेदवार हुन् । प्रदेशसभा (क) का लागि गठबन्धनबाट माओवादीका दीपक कोइराला र एमालेका खगराज अधिकारीबीच प्रतिस्पर्धा हुने भएको छ ।

प्रदेशसभा (ख) मा कांग्रेसका दीपक गुरुङ र एमालेका बेदबहादुर गुरुङ आमनेसामने भएका छन् । क्षेत्र नम्बर २ तर्फ प्रतिनिधिसभामा एमालेकी विद्या भट्टराई र गठबन्धनबाट एकीकृत समाजवादीका श्रीनाथ बरालबीच प्रतिस्पर्धा हुनेछ । २ (क) मा माओवादीका विश्वप्रकाश लामिछाने र एमालेका भीम कार्की आमनेसामने भएका छन् भने २ (ख) मा बहालवाला २ सांसदबीच कडा टक्कर हुने छ ।

कांग्रेसले मन्त्री विन्दुकुमार थापालाई टिकट दिएको छ भने एमालेले मीना गुरुङलाई अघि सारेको छ । क्षेत्र नम्बर ३ मा गठबन्धनबाट माओवादीका रामजी बराल र एमालेबाट दामोदर बैरागी प्रतिस्पर्धामा छन् । ३ (क) बाट माओवादीका दुर्गादत्त भण्डारी र एमालेका गणेशमान गुरुङबीच बढी प्रतिस्पर्धा हुनेछ ।

३ (ख) बाट कांग्रेसका प्रकाश बराल र एमालेका राजीव पहारीबीचमा प्रतिस्पर्धा हुनेछ । क्षेत्र नम्बर १ मा १७, २ मा १८ र ३ मा पनि १८ जनाकै उम्मेदवारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?