ज्वाईंलाई ५०० दक्षिणा : संस्कृतिविद् प्रा.डा.वीणा पौड्यालको दशैँ अनुभव, भन्छिन्, ‘उ बेलाको दशैँ पो दशैँ त !’

जबजब चाडपर्व नजिकिन्छ संस्कृतिविद प्रा.डा.वीणा पौड्याललाई भ्याइ नभ्याइ हुन्छ । पत्रपत्रिकादेखि रेडियो, टेलिभिजनमा अन्तर्वार्ता दिन उनी व्यस्त हुन्छिन् । दशैँ आँगनमै आइपुग्दा उनलाई व्यस्तताले उसैगरी समातिसकेको छ । स्वास्थ्य अवस्था केही बिग्रेको भएपनि उनी सकेसम्म समय व्यवस्थापन गरेर सबैतिर भ्याइरहेकी छिन् ।

दशैँका सांस्कृतिक महत्त्वदेखि विविध पक्षहरुका बारेमा अरुलाई सिकाउने उनी आफै कसरी दशैँ मनाउँछिन् भन्ने कौतुहलता हामीले उनी समक्ष राख्यौं । उनले मुस्कुराउँदै उत्तर दिइन् ‘जब पत्रपत्रिका, रेडियो, टिभीबाट दशैं सम्बन्धि लेखहरु लेख्नका लागि अनुरोध आउँछन्, अन्तर्वार्ताका लागि फोन आउँछ मेरो दशैं शुरु हुन्छ ।’ हुन पनि संस्कृति विषयमा उनको निपुणता र दशकौं लामो अनुभवका कारण उनलाई मिडियामा देख्न, सुन्न रुचाइन्छ । त्यसैले उनको दशैँ परिवार र मिडियामाझ नै बित्छ । ‘आफ्ना लागि दशैँ मनाउन पाइने त सानोमा मात्र हो । अहिले त घरव्यवहार अनि जागिर व्यवसायमै सिमित ।’ बाल्यकाल र अहिलेको दशैँलाई मनमनै तुलना गर्दै उनले बताइन् ।

दशैँलाई फर्केर हेर्दा

उनको जन्म वि. सं २०१३ सालमा कुपन्डोलमा भयो । काठमाडौंमै जन्मेर हुर्केका कारण यहाँको परिवेश र चालचलनसँग उनी राम्ररी परिचित छिन् । आफ्नो मानस्पटलको अन्तिम कुनामा गएर चिहाउँदा उनी हरियालीले भरिपूर्ण, खुल्ला अनि सुन्दर काठमाडौं देख्छिन् । उमेर बढ्दै गयो, हेर्दाहेर्दै काठमाडौं पनि उनीसँगै छिप्पिँदै गयो । ‘अहिले जस्तो कहाँ थियो र काठमाडौं ? चारैतिर चौर, हरियाली, खेतबारी, जङ्गल थियो । खेल्न, कुद्न प्रशस्त ठाउँ हुन्थ्यो ।’ उनले बताइन् । काठमाडौंमा पनि देशको अन्य ग्रामीण भेगमाझैं दशैँ लाग्दै गर्दा सबैभन्दा शुरुमा पिङ लगाउने कुरा चल्थ्यो ।

जुनसुकै बेला पिङ लगाउने चलन नभएकाले सबैजना विशेषतः केटाकेटीहरु दशैँकै प्रतीक्षामा हुन्थे । ‘दिनभरि घाममा लाइन लागेर तछाडमछाड गर्दै पिङ खेल्न जान्थ्यौं । खुब मज्जा हुन्थ्यो ।’ उनी बाल्यकालको रमाइलो यादमा चुर्लुम्मै डुबिन् । वीणासँग पिङका साथसाथै चङ्गाको पनि उत्तिकै रोमाञ्चक कथा छ । उनको गाउँमा आफूले उडाउने चङ्गा आफै बनाउँथे । यसको लागि १०÷ १२ दिन अघिदेखि नै तयारी शुरु हुन्थ्यो । चङ्गा बनाउने कागज तयार पार्नेदेखि धागोमा काँच पिसेर मान्झा बनाउने काम सबै मिलेर गर्थे ।

घरघर, टोलटोलबीच चङ्गा उडाउने प्रतियोगिता हुन्थ्यो । ती सबै कुरा याद गर्दा उनलाई बडो रमाइलो लाग्छ । संस्कृतिविद् भइसकेपछि मात्र उनले यी सबै परम्पराको महत्त्व बुझिन् । कृषि युगमा अहिले जस्तो प्रविधिको विकास भइसकेको थिएन, मनोरञ्जनका माध्यम पनि सिमित थिए । त्यसैले पिङ, चङ्गाहरुको सांस्कृतिक महत्त्वका साथसाथै मनोरञ्जनात्मक महत्त्व पनि भएको उनी बताउँछिन् । 

‘नेपाल संसारकै हेभी मनसुन हुने ठाउँमध्ये एक हो । त्यसैले धेरै पानी परिसकेपछि ‘अब हामीलाई पानीले पुग्यो’ भन्ने सन्देश स्वर्गसम्म पुर्याउने माध्यमका रुपमा पनि चङ्गालाई प्रयोग गरिने कुरा हाम्रो संस्कृतिले बताउँछ । साउन, भदौमा चङ्गा उडाउँदा हामीलाई वरपर काम गर्दै गरेका काकाबडाहरुले गाली गर्नुहुन्थ्यो । यिनीहरुले मनसुन खेदाउँदैछन् भनेर ।’

प्रविधि आयो, संस्कृति बिलायो

वीणा यस्तो जेनेरेसनकी प्रतिनिधि हुन् जसले पारम्पारिक र प्राविधिक दुवै किसिमको समाजलाई नजिकबाट अनुभव गर्न पाएकी छिन् । पहिलाको दशैँ र अहिलेको दशैँमा आकाश जमिनको भिन्नता पाउनुमा मुख्य भूमिका प्रविधिको रहेको उनको भनाइ छ । 

‘अहिलेका बालबालिकालाई दशैँ खास लाग्दैन । किन लागोस् त वर्षभरि मीठो खान पाउँछन् । राम्रो लाउन पाउँछन् । मनोरञ्जनका लागि दशैँ पर्खिनु पर्दैन । सबैको हात हातमा फोन छँदै छ । हामी पो नयाँ लुगा लाउनलाई दशैँ कुथ्र्यौं । मीठो खान, पैसा भेला पार्न, रमाइलो गर्न जो कोही बेला कहाँ पाइन्थ्यो र ? अहिलेकाले पनि रमाइलो त गर्लान् तर, तरिका बदलिएको छ ।’

वीणाका अनुसार चङ्गा, पिङको कल्चर मासिँदै जानुमा प्रविधि मात्र नभएर सुरक्षाको विषय पनि हो । हाम्रो भौगोलिक बनावट र अव्यवस्थित बसोबासका कारण चङ्गा उडाउन, पिङ लगाउनलाई पर्याप्त सुरक्षित ठाउँ नभएको उनले बताइन् । 

दशैँले दियो संस्कृतिविद् बन्ने प्रेरणा

वीणालाई सानैदेखि धर्मसंस्कृतिमा विशेष रुचि भएकाले चाडपर्वमा औधि खुसी हुन्थिन् । उनी सानो छँदा उनको टोलमा नौरथा लागेदेखि हरेक दिन बिहान  बाजा बजाउँदै उपत्यकाको विभिन्न मन्दिर परिक्रमा गर्ने चलन थियो । उनलाई दशैँको सबैभन्दा रमाइलो लाग्ने पक्ष पनि त्यही थियो । फेरि हरेक दशैँमा बुबाले नयाँ नयाँ मन्दिर घुमाउन लग्ने भएकाले पनि वीणालाई धर्मसंस्कृतिप्रतिरुचि बढ्दै गयो । एउटा दशैँमा उसैगरी उनको परिवार पलाञ्चोक भगवतीको दर्शन गर्न काभ्रे पुग्यो ।

पलाञ्चोक भगवतीको मूर्तिको विशेषताका बारेमा बुबाले बताउन थालेपछि उनको मनमा यसैगरी हरेक मठमन्दिर र मूर्तिका बारेमा भन्न सकिने कसरी होईन्छ ? यसको विज्ञ हुन कुन विषय पढ्नुपर्ला ? त्यस्तो विषय पनि छ होला र ? जस्ता जिज्ञासा एकाएक जन्मिए । नभन्दै उनले संस्कृति विषय लिएर आफ्नो उच्च शिक्षा पूरा गरिन् र ‘मूर्ति विज्ञान’मा विद्यावारिधि गरिन् । आज उनी आफै विद्यार्थीहरुलाई मूर्तिका बारेमा, धर्मसंस्कृतिका बारेमा ज्ञान दिइरहेकी छिन् । भन्छिन् ‘अहिले पनि पलाञ्चोक भगवतीको नाम लिँदा मनमा वेग्लै आनन्द आउँछ । म संस्कृतिविद् हुनुको प्रेरणा मैले त्यहीँ पाएको हो । दशैँकै बेला ।’

ज्वाईंलाई पहिलो दशैँमा  ५ सय दक्षिणा दिएँ
समयसँगै चालचलन परिवर्तन हुनुमा वीणालाई आपत्ति छैन । भन्छिन् ‘यो नर्मल प्रोसेस हो ।’ ‘यद्यपी, परिवर्तनको नाममा विकृति बढ्नु चाहिँ गलत हो ।’ उनले आफ्नो भनाइलाई प्रष्ट्याइन् । 
परम्पराको नाममा ‘दक्षिणामा होडबाजी’ गर्नु अहिलेको दशैँको मुख्य विकृति भएको उनको ठम्याइ छ । ‘दक्षिणा भनेको फर्मालिटी मात्र हो भनेर सबैले बुझ्न जरुरी छ । धेरै दक्षिणा दिनुपर्दा टिका लाउने मान्छे नै नआइदिए हुन्थ्यो जस्तो फिल हुन थालिसक्यो मान्छेलाई ।’ यही विषयमा कुरा गर्दैगर्दा उनले आफ्नो व्यक्तिगत अनुभव लोकपथसँग बाँडिन् ।

‘मेरो छोरीको बिहे भएपछिको पहिलो दशैँ थियो त्यो । ज्वाईं पहिलो पटक दशैँमा टिका लाउन आउँदै हुनुहुन्थ्यो । मलाई केकसो गर्नुपर्छ भन्ने आइडिया थिएन । साथीहरुलाई सोधेँ । के गरौं ? कति दक्षिणा दिउँ ? भनेर । पहिलो पटक आउन लागेकाले ५,१० हजार भन्दा घटी दक्षिणा नदिन सल्लाह दिए । म अवाक् भएँ । हामी जतिको हैसियत भएको मान्छेले दक्षिणामै त्यति पैसा दिने ? भन्ने सोंच आयो । मेरी साथीले आफ्नो ज्वाईंलाई पहिलो दशैँमा १० हजार दक्षिणा दिएकी रहिछन् । मैले ५ सय दिएँ । अहिले छोरी ज्वाईं बाहिर छन् नभए त्योभन्दा थोरै दिने थिएँ ।’
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?