हुम्लाको मनोनयन काठमाडौंबाटै दर्ता,मौसम बन्यो बाधक

लोकपथ
65
Shares

काठमाडौं । प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि हुम्ला जिल्लाका उम्मेदवारहरुले काठमाडौंबाट नै मनोनयन दर्ता गराएका छन् । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि आइतवार मनोनयन दर्ता गर्ने समय दिइएको थियो । विगत हप्ता दिनदेखि परेको वर्षाका कारण दुर्गम हिमाली जिल्लाहरुमा हिमपात भइरहेकोले प्लेन जान नसक्दा हुम्ला जिल्लाका उम्मेदवारहरुले भने निर्वाचन आयोगमा उपस्थित भएर मनोनयन पत्र दर्ता गराएका हुन् ।

नेकपा (एमाले)का तर्फबाट हुम्ला जिल्लामा प्रतिनिधि सभाका उम्मेदवार दल रावलले मौसम खराबीका कारण जिल्लामा जान नसकेका कारण पार्टीको औपचारिक पत्र र प्रतिनिधि करार गरेको पत्र निर्वाचन आयोगमार्फत सम्बन्धित निर्वाचन कार्यालयमा पठाएको बताए । उनले आफ्नो पार्टीको प्रतिनिधि सभा र प्रदेश सभामा पनि निर्वाचन आयोगमार्फत नै मनोनयन दर्ता गराएको जानकारी दिए ।

सत्तारुढ गठबन्धनका उम्मेदवारले पनि काठमाडौंबाट नै मनोनयन दर्ता गराएको उनको भनाइ छ । नेता रावलले आफू सांसद निर्वाचित भएमा हुम्ला जिल्लाको सडक समस्या समाधान गर्न पहल गर्ने बताए ।

त्यस्तै, हुम्ला जिल्ला प्रदेश सभा (ख) मा एमालेको तर्फबाट उम्मेदवार छक्कबहादुर लामाले पनि जिल्लामा हिमपातका कारण जान सम्भव नभएपछि काठमाडौंबाटै मनोनयन दर्ता गर्नुपरेको बताए । नेता लामाले आफू उम्मेदवार बन्ने चाहाना नभएपनि जनताको मागका कारण उम्मेदवार बन्नुपरेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?