स्थानीय निर्वाचनको खर्च विवरण नबुझाएका कारण माण्डव्यको उम्मेदवारी दर्तामा रोक, अब सर्वोच्च जाने

लोकपथ
6.1k
Shares

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर १ बाट स्वतन्त्र उम्मेदवारी दिन वानेश्वर अन्तराष्ट्रिय सम्मेलन केन्द्र पुगेका राजकुमार बजगाईँ (राजानन्द माण्डव्य)ले मनोनयन दर्ता गर्न पाएनन् । गत स्थानीय तह निर्वाचनको खर्च विवरण नबुझाएको भन्दै निर्वाचन कार्यालयले उनलाई मनोनयन दर्तामा रोक लगाएको हो ।

‘प्रस्तावक र समर्थक सहित उम्मेदवारी दर्ताका लागि निर्वाचन कार्यालय गएँ फारम पनि भरेँ,’ उनले भने, ‘तर, निर्वाचन अधिकृतले आयोगले जरिवाना गरेको ४ लाख ५० हजार रुपैयाँ भुक्तानी नगरी उम्मेदवार बन्न नपाउने भन्दै मलाई निकाल्नुभयो ।’
बजगाईं वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा बनेपा नगरपालिकाको मेयरका लागि स्वतन्त्र उम्मेदवार बनेका थिए ।

उक्त निर्वाचनमा भएको खर्च विवरण बुझाउन आयोगले पटक–पटक ताकेता गरेपनि नबुझाएपछि उनीसहित १ लाख २३ हजार ७ सय ८३ जना उम्मेदवारमाथि कारवाही गरेको थियो ।

उनीमाथि आयोगले ४ लाख ५० हजार रुपैयाँ जरिवाना लगाएको थियो । तर, आयोगले थोरै दिनको समय दिएर आफूमाथि अन्याय गरेको माण्डव्यको आरोप छ । ‘हामीलाई निर्वाचन खर्च विवरण बुझाउन २० दिनको मात्र समय दिइयो,’ उनले लोकपथसँग भने, ‘हामीले समयमा खर्च विवरण नबुझाएका कारण आयोगले हामीमाथि पेनाल्टी लगायो ।’

माण्डव्य आफूले निर्वाचनमा जम्मा १५ सय रुपैयाँ खर्च गरेको तर, अहिले आयोगले ४ लाख ५० हजार रुपैयाँ तिर भन्छ भने आफू नसक्ने तर्क गर्छन् । ‘१५ सय को तीन हजार तिर भनेको भए मैले गल्ती गरेको हो तिर्छु भन्न हुन्थ्यो,’ उनले भने, ‘अब मैले चुनाव खर्च विवरण नबुझाएकै भरमा ४ लाख ५० हजार चाहिँ के का लागि तिर्ने भन्ने मेरो तर्क हो ।’

आयोगको यो निर्णय विरुद्ध माण्डव्य सर्वोच्च जाने तयारीमा छन् । ‘मैले आयोगको जरिवाना नतिरेकै आधारमा उम्मेदवार बन्न नपाउने हो भनेर एकपटक सर्वोच्चलाई सोध्छु,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?