कैलाली–२ मा त्रिपक्षीय भिडन्त, गठबन्धन, एमाले र उन्मुक्ति पार्टीमा को बलियो ?

काठमाडौं । आगामी मंसिर ४ मा हुन लागेको प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि कैलाली–२ मा राजनीतिक दलहरुबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ । यसक्षेत्रमा प्रतिनिधि सभामा गठबन्धन दल नेकपा माओवादी केन्द्र, नेकपा एमाले र नागरिक उन्मुक्ति पार्टीबीच त्रिपक्षीय भिडन्त हुनेछ ।

प्रतिनिधि सभामा प्रत्यक्षतर्फ नेकपा माओवादी केन्द्र (गठबन्धन) का उम्मेदवार भगत बडुवाल (मुक्ति), नेकपा एमालेबाट झपटबहादुर रावल र नागरिक उन्मुक्ति पार्टीबाट अरुणकुमार चौधरी चुनावी मैदानमा होमिने भएका छन् ।

अरुणको राजनीतिक छलाङ

केही समयअघि नेपाली कांग्रेस परित्याग गरी नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेका अरुणकुमार चौधरी चुनावी मैदानमा होमिएका छन् । उनी पहिलो पटक संघीय संसदको चुनावमा उम्मेदवार बनेका हुन् ।

यसअघि नेपाली कांग्रेसमा छँदा महासमिति सदस्य रहेका चौधरी अघिल्लो पटक कांग्रेसबाट प्रदेशसभा र त्यसअघि मधेसी जनअधिकार फोरम नेपाल लोकतान्त्रिकबाट लम्कीचुहा नगरपालिकाको मेयरमा उम्मेदवार बनेका थिए । उनी दुबै पटक झिनो मतान्तरले पराजित भएका थिए ।

२०७४ असोज ३० मा मधेसी जनअधिकार फोरम नेपाल लोकतान्त्रिक र नेपाली कांग्रेसबीच एकता भएपछि चौधरी कांग्रेसको राजनीतिमा सक्रिय भए । त्यसलगत्तै उनी कैलाली–२ को ‘ख’ मा प्रदेश सभामा उम्मेदवार बने । त्यसबेला एमाले र माओवादी बीचको बाम गठबन्धनका उम्मेदवारसँग उनी ८४४ मतले पराजित भए ।

बाम गठबन्धनको तर्फबाट माओवादी केन्द्रका नन्दबहादुर साउँद (राजेन्द्र) ले १२ हजार ७७ मत प्राप्त गर्दा नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार बनेका चौधरीले ११ हजार २३३ मत पाएका थिए । दुबै पटक एक हजारभन्दा कम मतले पराजित भएका चौधरी अहिले प्रतिनिधि सभामा उम्मेदवार बनेका छन् ।

उनले यसपटक आफूले चुनाव जित्ने दाबी गरे । ‘नागरिक उन्मुक्ति पार्टीप्रति जनताको उत्साह बढ्दो छ,’ उनले भने, ‘उही पुराना पार्टी र उम्मेदवारप्रति जनतामा निराशा छ । निर्वाचित भएपछि उनीहरुले जनताका पक्षमा काम गर्न सकेनन् त्यसैले अबको विकल्पको रुपमा जनताको रोजाइ नागरिक उन्मुक्ति पार्टी नै हो ।’

नागरिक उन्मुक्ति पार्टीले पहिचानसहितको संघीयताको मुख्य चुनावी एजेण्डा बनाएर जाने चौधरीले बताए । त्यससँगै यस निर्वाचन क्षेत्रका जनताले भोग्दै आएका शिक्षा, स्वास्थ्य, पूर्वाधार निर्माण र मुक्तकमैयाका समस्यालाई प्राथमिकताका साथ उठान गर्ने उनले बताए ।

‘केहीदिन भित्रै हाम्रो चुनावी घोषणापत्र तयार हुँदैछ,’ उनले भने ‘सडक सञ्जाल, विद्युत, सञ्चार र खानेपानीको सुविधा पाउनबाट यहाँका जनता अझै बञ्चित छन् । मोहन्यालमा पर्यटन क्षेत्रको रुपमा विकास गर्न सकिने सम्भावित ठाउँहरु छन् जहाँ पर्यटकीय गन्तव्यको रुपमा जोड्न सकिन्छ । यी सबै विषयहरु हाम्रो पार्टीले निर्माण गर्ने घोषणापत्रमा समेट्छ ।’

नागरिक उन्मुक्ति पार्टीले प्रदेश सभा (क) मा रतनबहादुर थापा र (ख) मा रामेश्वर चौधरीलाई उम्मेदवार बनाएको छ । नेकपा एमाले जिल्ला अध्यक्ष रहेका थापालाई स्थानीय तह निर्वाचनमा अन्तर्घातको आरोपपछि कारबाहीमा परेका थिए । हालै पार्टी त्याग गरी उनी नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेका थिए । उनी सोही क्षेत्रको ‘क’ बाट उमेदवार बन्ने भएका छन् ।

उनी २०७४ मा नेकपा एमालेबाट प्रदेश सभा (क) बाट निर्वाचित भएका थिए । उनले १३ हजार ६३२ मत ल्याउँदा नेपाली कांग्रेसका हिमबहादुर रावलले ११ हजार ५६५ मतमै सीमित हुन पुगे । अहिले यसक्षेत्रमा नागरिक उन्मुक्ति पार्टी ठूला दललाई चुनौती दिन तयार बनेको छ ।

थारु समुदायका मुद्दा उठान गरी उदाएको नागरिक उन्मुक्तिले ठूला राजनीतिक दललाई चुनौती दिँदै कैलालीमा बलियो राजनीतिक शक्तिका उदाउने दाउमा छ ।

०६४ पछि चौधरी र रावलसँग भिड्दै बडुवाल

यस क्षेत्रमा एक दशक समयपछि नेकपा माओवादी केन्द्रका नेता भगत बडुवाल (मुक्ति) प्रतिनिधि सभामा पुनः प्रतिस्पर्धा गर्ने भएका छन् । पहिलो संविधान सभा निर्वाचन २०६४ मा उनी कैलाली–२ बाट निर्वाचित भएका थिए । संविधान निर्माण प्रक्रियामा महत्वपूर्ण भूमिका निर्वाह गरेका बडुवाल गठबन्धनका तर्फबाट उम्मेदवार बनेका हुन् ।

कांग्रेस, माओवादी र एकीकृत समाजवादीको समर्थन पाएका बडुवाल आफूले चुनाव जित्नेमा ढुक्क देखिन्छन् । चुनावमा आफूले जित हासिल गर्ने उनले दाबी गरे । ‘मैले चुनाव जित्ने सम्भावना राम्रै देख्छु,’ उनले भने, ‘आम जनताले लिएको अपेक्षा, सुझाव र सर्मथन मैले राम्रै पाएको छु ।’

उनले आफूले चुनाव जिते जनताका आवश्यकता र विकास निर्माण केन्द्रित हुने बताए । ‘यसअघि देशको अस्थिर राजनीतिका कारण हामीले चाहेजस्तो विकास निर्माण गर्न सक्दैनथ्यौं । तैपनि हामीले जिम्मेवारी र भूमिका पूरा गर्याैँ,’ उनले भने, ‘यसअघि मैले चुनाव जितेको बेला अस्थिर राजनीति अवस्था थियो ।

देशमा शान्ति प्रक्रियालाई पूर्णता दिनुपर्ने र संविधान निर्माण गर्नुपर्ने थियो । यी कार्यभार पूरा गर्नुपर्ने हुँदा चाहेजति गर्न सकिएन होला तर, अहिलेको अवस्था त्यो छैन । अब निर्वाचित जनप्रतिनिधिले जनताका प्रमुख समस्या र विकास निर्माण केन्द्रित हुनुपर्नेछ ।’

यसक्षेत्रमा गत स्थानीय तह निर्वाचन परिणामको मतभारलाई हेर्दा गठबन्धनमा बडुवाल सम्भावित बलियो उम्मेदवारका रुपमा हेरिएको छ । उनीसँगै गठबन्धनबाट प्रदेश सभा (क) मा नेपाली कांग्रेसका कमलबहादुर शाह र (ख) मा माओवादी केन्द्रका नन्दबहादुर साउँद (राजेन्द्र) ले प्रतिस्पर्धा गर्नेछन् ।

साउँद यसअघि कैलाली २ (ख) बाट प्रदेश सभामा निर्वाचित भएका थिए । उनले १२ हजार ७७ मतसहित निर्वाचित भएका थिए । उनलाई नेपाली कांग्रेसका अरुणकुमार चौधरी ११ हजार २३२ मत ल्याएर पराजित भएका थिए ।

प्रतिनिधि सभामा भने गठबन्धनका उम्मेवदवार भगत बडुवाल र नेकपा एमालेका झपटबहादुर रावलबीच चुनावी रस्साकस्सी पर्नेछ । रावल २०७४ मा निर्वाचित भएका थिए । उनी फेरि पनि एमालेबाट पुनः दोहोरिदै मैदानमा भिड्न लागेका हुन् । यसअघि रावल २५ हजार १५७ मत ल्याएर विजयी भएका थिए । उनीसँग नेपाली कांग्रेसका मोहनसिंह राठौरले २३ हजार ३१३ मतसहित पराजित भएका थिए ।

यस्तै, नेकपा एमालेबाट प्रदेश सभा (क) मा कमला ओली र प्रदेश सभा (ख) मा डेजी पाण्डेले प्रतिस्पर्धा गर्नेछन् । ओली यसअघि राष्ट्रिय सभा सदस्य हुन् भने पाण्डे एमाले जिल्ला सचिव हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?