चितवन छाडेका प्रचण्डलाई गोरखा–२ मा कति सहज ?

लोकपथ
343
Shares

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निर्वाचनपिच्छे क्षेत्र फेरबदल गरिरहन्छन् ।

२०६४ मा काठमाडौं र रोल्पाबाट निर्वाचित प्रचण्ड २०७० को निर्वाचनमा सिरहा ५ बाट निर्वाचित भए । २०७४ सालसम्म आइपुग्दा पूराना सबै निर्वाचन क्षेत्र छोडेर गृहजिल्लामा पर्ने चितवन–३ रोजेका प्रचण्डले त्यहाँ पनि सुरक्षित महसुस गर्न सकेनन् । सुरक्षित स्थानको खोजिमा रहेका उनी आगामी निर्वाचन गोरखा–२ बाट चुनाव लड्दैछन् ।

उनका पूर्व सहकर्मी डा. बाबुराम भट्टराईले निर्वाचन जित्दै आएको क्षेत्र हो गोरखा–२ । बाबुराम चुनाव नलड्ने मनस्थिती बनाउनु र प्रचण्डले सुरक्षित स्थानको खोजि गर्नु संयोग बनेको छ । त्यसो त चितवनमा गठबन्धनमा आवद्ध दल नेपाली कांग्रेसले आगामी निर्वाचनमा माओवादी केन्द्रलाई भोट नहाल्ने चेतावनी दिएसँगै प्रचण्ड सुरक्षित स्थानको रुपमा गोरखा पुगेका हुन् ।

२०६४ र २०७० को निर्वाचनमा सो क्षेत्रबाट माओवादी केन्द्रबाट निर्वाचित बाबुराम २०७४ को निर्वाचनमा भने नयाँ शक्ति पार्टी नेपालबाट निर्वाचित भएका थिए ।

आगामी निर्वाचनमा आफू निर्वाचन नलड्ने बरु आफ्नो छोरीलाई काठमाडौंको क्षेत्र नं ७ बाट निर्वाचन लडाउने तयारीमा छन् उनी ।

माओवादीको पकड क्षेत्र मानिने गोरखामा प्रचण्ड जाने भएसँगै बाबुरामले सामाजिक सञ्जाल ट्वीटरमा लेख्दै आफू खुसी भएको प्रतिक्रियासहित शुभकामना समेत दिएका छन् ।

गत स्थानीय निर्वाचनमा चितवनमा गठबन्धनमा आवद्ध दल कांग्रेसको प्रस्तुतिका कारण प्रचण्ड सुरक्षित स्थानको खोजिमा थिए । ३० वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा भरतपुर महानगरपालिकाको मेयरमा माओवादी केन्द्रले मेयर पाउने भएसँगै कांग्रेसभित्र खैलाबैला मच्चिएको थियो । ठूलो रस्साकस्सीपछि पनि कुरा नमिलेपछि माओवादीले मेयर र कांग्रेसले उपमेयर पाउने भएपछि कांग्रेसबाट स्वतन्त्र उम्मेदवारी समेत परेको थियो । आगामी निर्वाचनमा पनि प्रचण्ड नै गठबन्धनबाट उम्मेदवार बनेमा कांग्रेसबाट पनि स्वतन्त्र उम्मेदवारी पर्ने चेतावनीपछि प्रचण्ड क्षेत्र नै छाडेर गोरखा पुगेका हुन् ।

गोरखामा प्रचण्डलाई कति सहज ?

गत स्थानीय तहको निर्वाचनको मतको आधारमा गोरखा २ बाट प्रचण्डलाई निर्वाचनमा केही सहज हुने देखिन्छ ।

३० वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा गोरखा–२ मा वडाध्यक्षहरुले पाएको मतको आधारमा माओवादी केन्द्र अघि देखिन्छ ।

स्थानीय तहको निर्वाचनमा सो क्षेत्रमा माओवादी केन्द्रले २२ हजार २ सय ५० मत प्राप्त गरेका थिए । यता गठबन्धनमा आवद्ध अर्को दल नेपाली कांग्रेसका उम्मेदवारले २१ हजार १ सय ३६ मत प्राप्त गरेको छ । यसरी गठबन्धनमा आवद्ध दुवै दलको मतको आधार हेर्ने हो भने प्रचण्डलाई गोरखा सुरक्षित स्थान मानिन्छ । यता मुख्य प्रतिष्पर्धी दल नेकपा एमालेको वडाध्यक्षले पाएको मत ७ हजार ९ सय २९ रहेको छ । यता जसपाले पाएको मत ७ हजार ५ सय ४ रहेको छ । भने राप्रपाले पाएको मत ८ सय ७८ रहेको छ ।

स्थानीय तहमा वडाध्यक्षहरुले पाएको मतलाई आधार मान्ने हो भने चितवन–३ भन्दा गोरखा–२ प्रचण्डको लागि धेरै सुरक्षित मानिन्छ । यता प्रचण्डको पुरानो क्षेत्र चितवन–३ मा वडाध्यक्षहरुले पाएको मतको आधारमा माओवादी केन्द्र तेस्रो स्थानमा रहेको छ । सो क्षेत्रमा माओवादी केन्द्रका वडाध्यक्षहअरुले पाएको मत जम्मा १० हजार ९ सय ४० मात्र रहेको छ । भने यता नेकपा एमालेले पाएको मत १९ हजारले बढी रहेको छ । सो क्षेत्रमा एमालेले २९ हजार ७ सय ७१ म्त प्राप्त गरेको थियो । यता गठबन्धनमा आवद्ध दल नेपाली कांग्रेसले २९ हजार ३ सय ४३ मत प्राप्त गरेको थियो । नेपाली कांग्रेसले एमाले सरह मत प्राप्त गरे पनि निर्वाचनमा हुनसक्ने असहयोगका कारण प्रचण्डले सो क्षेत्र छाडेको माओवादी केन्द्रकै नेताहरुको दाबी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?