थारु समुदायमा यसरी मनाइन्छ दसैँ

यतिबेला देश दसैँमय भएको छ । आज दसैँको नवमीको दिन हो । हरेक समुदाय दसैँको माहोलमा झुमेको छ । थारु समुदायमा पनि दसैँको माहोलले छपक्कै छोएको छ ।

अन्य समुदाय भन्दा थारु समुदायमा दसैँ मनाउने शैली फरक छ । ‘यो पर्वमा पुर्खाको सम्झना गरिन्छ’, थारु संस्कृतिका जानकार एवम् थारु कल्याणकारिणी सभाका केन्द्रीय सदस्य प्रभात चौधरी भन्छन्, ‘वर्षमा एकपटक पुर्खालाई सम्झने गरिन्छ । त्यो समय भनेकै दसैँ हो । अस्टमीका दिन देवीलाई ढिक्री (चामल बाट बनेको परिकार), बावरी, जमरा चढाइन्छ ।’

थारु समुदायमा नवमीकै दिन टीका र जमरा लगाउने प्रचलन छ । टीका रातो नभई चामलको पिठोमा मुछिएको सेतो टीका लगाउँछन् । पश्चिम तराईको दाङ, बाँके र बर्दियामा बसोबास गर्ने थारु समुदायकाले सेतो टीका लगाउने गरेपनि तर, पछिल्लो समय कैलाली र कञ्चनपुरका थारु समुदायले रातो टीका लगाउने गरेको चौधरीले बताए ।

अरु समुदायको साँस्कृतिक प्रभावका कारण कसै–कसैले टीकाकै दिन रातो टीका र जौँकै जमरा लगाउने चलन पनि छ । टीका लगाइसकेपछि सबै गाउँले भेला भएर सखिया र बड्का नाच नाच्ने चलन छ । उनीहरुले दसैँमा टीका र पहेँलो जमरा मान्यजनबाट लगाएर आशीर्वाद लिन्छन् । दसैँलाई मनोरञ्जनको पर्वको रुपमा मात्रै नभई थारु समुदायले पितृ पूर्खा पूजाको अवसरको रुपमा पनि लिन्छन् ।

अन्य समुदाय जस्तै बलि दिने परम्परा थारु समुदायमा पनि छ । कुखुरा र भेडाको बलि चढाउने गरिन्छ । तर, पछिल्लो समय भेडाको साटो कुभिन्डोको बलि दिन थालिएको चौधरी बताउँछन् ।

सबैले आ–आफ्नो घरमा पूजापाठ गरेर पितृको सम्झना गर्छन् । पूजा गर्दा कुखुराको मासु, माछा, कुभिन्डो, रायोको साग, ढिक्री आदि चाहिन्छ । पूजापछि परिवारका सबै सदस्य बसेर परिकार खान्छन् । ‘बाँकी रहेका परिकार खोला वा नदीमा सेलाउँछन्,’ उनले भने, ‘जसलाई पितृ सेलाएको रुपमा व्याख्या गरिन्छ ।’

कसैले पुर्खालाई रक्सी, जाँडको झोल चढाउँछन् भने कसैले रक्सी र जाँडकोे सट्टा दूध चढाउने चलन रहेको उनले बताए । ‘अष्टमीमा बावरी जातको फूल र जमराबाहेक अरु चढाउँदैनन् ।’

गुरुवाको घरबाट बान धुप ल्याउने चलन कायमै छ । बलि दिनु भन्दा अघि गुरुवाको घरबाट ल्याइएको धुप बाल्ने चलन छ । नवमीको दिन पूजा सकेर खोला तथा तलाउमा पूजा गरेको सामग्रीहरु सेलाउने गरिन्छ । जसलाई उनीहरुको भाषामा ‘पित्तर अस्नाइना’ भन्ने गरिन्छ ।

देवताको थानमा ‘बढनी’ कुचोको राख्ने गरिन्छ । बर्षमा एक पटक यो बढनी (कुचो) फेर्ने चलन छ । यी सबै कामलाई लिएर थारु समुदायका बालबालिकादेखि वृद्धवृद्धाहरु उत्साहित छन् । मिलेर एक–अर्कालाई सघाउन थालेका छन् ।

थारु समुदाय लोक कला, संस्कृति र परम्पराको धनी छ । थारु समुदाय भित्र फरक–फरक ‘थर’ छन् । थर अनुसार मौलिक संस्कृति पनि भिन्न छन् । लुम्बिनी प्रदेशको दाङ, बाँके, बर्दिया, सुदूरपश्चिम प्रदेशको कैलाली, कञ्चनपुर र कर्णाली प्रदेशको सुर्खेत जिल्लामा सामूहिक रुपमा दसैँमा सखिया (सख्या), पैया, नाच नाच्ने संस्कृति छ ।

दसैँ आउनुभन्दा अघिदेखि थारु समुदायले सखिया (सख्या), पैया, नाचले दसैँलाई भव्य स्वागत गर्छन् । यो नाच करिब एक महिनासम्म नाचिन्छ ।

सप्तमीको दिन थारुको विशेष परिकार ढिक्री बनाउने एक प्रकारको भाँडा नजिकैको खोलामा लगिन्छ । गाउँका सबै महिला मिलेर त्यसलाई धुन्छन् ।

त्यसको भोलिपल्ट अर्थात् अष्टमीको दिन चामलको पीठोबाट गोलाकार ढिक्री बनाइन्छ । थारु समुदायले अष्टमीको दिन ढिक्री बनाएर आ–आफ्नो देवतालाई चढाउने चलन छ ।

त्यही दिन थारु समुदायमा रातभरि जाग्राम बसेर नाचगान गर्छन् । चलनअनुसार, कुखुरा तथा सुँगुरको बली पनि त्यही दिन चढाइन्छ ।

थारु समुदायमा नवमीको दिनमा ‘गँवल्या’ टीका लगाइन्छ । सबैजना गाउँका अगुवा महटावाको घरमा भेला भएर गाउँका महटावासँग गाउँमै टीका लगाउने भएकाले त्यस दिनलाई गँवल्या टीका भन्ने गरिन्छ ।

गाँउका ‘देवठन्वा’ (देउता राख्ने स्थान) मा जुटेर महटावासँग कानमा जमरा लगाउने चलन छ । त्यहीँ सबैजना भेला भएर गीत गाउँदै महटावाको घरमा ‘गँवल्या’ टीका लगाउने प्रचलन छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?