बडा दसैँ : उत्साह उस्तै तर, परम्परा फरक

काठमाडौं । गाउँघरमा बडा दसैँको रौनक छ । दसैँ खुसी र उमंगको चाड हो । देश विदेशमा रहेकाहरु दसैँमा गाउँघर फर्किन्छन् । टाढा रहेका परिवारका सदस्यहरु विभिन्न योजनासहित दसैँलाई कुर्छन् । उनीहरु आफ्नै थातथलोमा जम्मा भएपछि दसैँको उत्साह निकै बढेको छ । दसैँमा मान्यजनको हातबाट टीका, प्रसाद, आशीर्वाद ग्रहण गर्न विदेशमा रहेकाहरु स्वदेश फर्किन्छन्, सहरमा भएकाहरु गाउँघर फर्कन्छन् ।

विशिष्ट धार्मिक, साँस्कृतिक तथा सामाजिक महत्व बोकेको पर्व भएकाले नै दसैँलाई सबैभन्दा ठूलो पर्वका रुपमा लिइन्छ । सबै जातजाति, भाषा, समुदायले दसैँलाई हर्षाेल्लासका साथ मनाउँछन् । दसैँमा किनमेल गर्नेको सहर बजारमा भीड छ । विभिन्न मिष्ठान्न भोजन गरी आपसी सद्भावका साथ दसैँलाई मनाउने गरिन्छ ।

दसैँ मनाउन सरकारी र निजी कार्यालयमा काम गर्नेहरु बिदा लिएर घर फर्किसकेका छन् । विभिन्न पेसा, व्यवसाय, अध्ययन एवं अन्य कामको सिलसिलामा आफ्नो घर बाहिर रहेकाहरु घर फर्किएका छन् । दसैँलाई विभिन्न समुदाय र भौगोलिक अवस्थाअनुसार फरक–फरक तरिकाले मनाउने प्रचलन छ ।

सुदूरपश्चिम र कर्णाली प्रदेशका विभिन्न धार्मिक शक्तिपीठहरुमा धुमधामका साथ पूजापाठ गरी दसैँ मनाइन्छ । घटस्थापनाको दिनदेखि कोजाग्रत प्रर्णिमासम्म दसैँलाई मनाउने प्रचलन छ । यहाँका प्रमुख शक्तिपीठ तथा प्रसिद्ध देवीमन्दिरमा दसैँको जाँत (मेला) लाग्ने गर्दछ ।

समुदाय र भुगोलअनुसार फरक दसैँ

दसैँलाई नेपालीहरुले आ–आफ्नै तरिकाले मनाउँछन् । रातो टीका र जमरा दसैँको प्रसादका रूपमा ग्रहण गर्ने कतिपय नेपालीको मान्यता छ । तर, यही नेपालमा लिम्बु, राई, मगर, गुरुङ, तामाङ, थारू आदिले दहीसँग मुछेर सेतो अक्षताको टीका लाएर विजयदशमीदेखि पूर्णिमाको दिनसम्म बडो हर्षाेल्लासपूर्वक मनाउने चलन छ ।

विधिपूर्वक घटस्थापनाको दिनदेखि नवरात्र प्रारम्भ हुन्छ । दशौँ दिनसम्म धार्मिक अनुष्ठानसहित दसैँ मनाइने भएकाले बडा दसैँ भनिएको हो । घटस्थापनाको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैठौँ दिन कात्यायनी, सातौँ दिन कालरात्री, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजा आराधना गरिन्छ । दसैँ पर्वलाई असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतिकका रूपमा मनाउने गरिन्छ ।

सुदूरपश्चिमको दसैँ : आफ्नै छ शैली

परम्परागत रूपमा सुदूरपश्चिम तथा कर्णाली प्रदेशमा पहाडी भु–भागका धार्मिक शक्तिपीठहरुमा पशुबलि दिने प्रचलन छ । दसैँ मनाउने प्रचलन अन्य ठाउँको भन्दा यहाँ भिन्न छ । यो क्षेत्रमा दसैँमा टीका थाप्ने भन्दा बलि दिने कुराको रौनक बढी हुन्छ । दसैँ भनेर अष्टमी र नवमीका दिनलाई पर्वका रुपमा लिइन्छ ।

बलिबाट देवीदेवताहरू प्रसन्न हुन्छन् भन्ने मान्यता भएकाले यसलाई महत्वपूर्ण अनुष्ठानका रूपमा लिइन्छ । प्रायः सबै मन्दिरहरू, विशेष गरी दुर्गा र काली मन्दिरहरूमा बलि चढाइन्छ । अष्टमी र नवमी बलि दिने प्रमुख दिन हो । देवीदेवताहरूलाई प्रसन्न पार्न पशुहरूको बलि चढाइन्छ । आश्विन शुक्ल प्रतिपदामा जमरा राखी नवमीसम्म दुर्गा सप्तसती (चण्डी) पाठ गरी नव दुर्गा र त्रिशक्ति महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजा र आराधना गरिन्छ ।

जसमा अष्टमीका दिन आ–आफ्ना कुलदेवीलाई बोका, कुखुरा, हाँस, राँगो आदि बलि दिइन्छ । बलि दिँदा चराचुरुङ्गीका साथै नरिवल, केरा, घिरौँला, कुभिन्डो (पेठा) आदि फलको पनि बलि दिइन्छ । पछिल्ला वर्षमा पशु पन्छीको बली दिने परम्परामा केही कमी आएको छ । सुदूरपश्चिममा नवमीमा पनि बलि दिइन्छ । नवरात्रीको नवौं दिन विशेष गरी सिद्धिदात्री देवीको पूजा–आजा गरिन्छ । कामको प्रतीक बोको, क्रोधको प्रतीक राँगो, लोभको प्रतीक भेँडो, मद, मात्र्र्सयको प्रतीक कुखुरो र हाँसलाई बलि दिने प्रचलन छ । बिहानीपख बोकाको बलि दिइन्छ भने साँझ राँगोको बलि दिन्छ । त्यसमा पनि (पोथा) साना र (सत्तार) ठूलो राँगाको बलि दिइने चलन छ ।

बडा दसैँमा नवदुर्गा भवानीको प्रसादस्वरूप रातो टीका र जमरा लगाउने चलन छ । तर, सुदूरपश्चिममा कार्तिकको (पुनी) पूर्णिमासम्म दसैँ मनाउने गरिन्छ । कार्तिकमा पनि मनाइने दसैँमा समेत बलि दिनेदेखि जमरा लगाउनेसम्म गरिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?