मासुसँग कोल्ड ड्रिंक्स र मदिरा सेवन गर्नु स्वास्थ्यका लागि हानिकारक हुनसक्छ (भिडियोसहित)

यतिबेला देशभर दसैँको माहोल छ । आज दसैँको अष्टमीको दिन । दसैँ भन्ने बित्तिकै यसको साइनो खानपानसँग जोडिन्छ । त्यसमध्ये पनि हरेक घरमा मासुका परिकार धेरै पाक्छन् । तर, अत्याधिक मासु खाँदा शरीरमा भने प्रतिकुल असर पर्न सक्छ । उसो भए दसैँमा कति मासु खाने ? मासु खाँदा के–कस्ता कुरामा ध्यान दिने ? लगायतका विषयवस्तुमा केन्द्रीत भएर पोषणविद् उमा कोइरालासँग लोकपथकर्मी प्रकृति पाण्डेले गरेको कुराकानीको सम्पादित अंश :

दसैँ र माछामासु पर्याय जस्तै भएको छ । यो बेला माछामासु खाँदा के–के कुरामा ध्यान दिनुपर्छ ?

दसैँ भन्ने बित्तिकै अत्याधिक मासु खाने चलन छ । तर, अलिकति सोचेर मिलाएर खान चाहिँ राम्रो हुन्छ । तथ्याङ्कले पनि नेपालीहरुको मासु खाने दर बढेको देखाउँछ । सन् २०२० को तथ्याङ्कले एउटा नेपालीले वर्षमा १८ केजी मासु खान्छन् । माछामासु खाने संख्या बढ्नु भनेको राम्रो संकेत पनि हो । तर, खाँदाखेरि चाहिँ धेरै कुरामा विचार पु¥याउनु पर्छ ।
नेपालीहरुको मासु खाने बानी चाहिँ अलि अस्वस्थकर नै छ । धेरै चिल्लो, अमिलो, पिरोहरु हालेर एकैदिन पकाएर धेरै दिनसम्म खाने बानी छ । त्यो गलत हो । जसलाई सुधार्नुपर्छ । ताजा खाने, नियमित रुपमा खाने, ठिक्क खाने, रातो मासु सकभर नखाने ।

अनि एउटा मानिसले कति मासु खाने त ?

सिद्धान्तले त एक केजी बढी शरीरको तौललाई एक ग्राम प्रोटिन चाहिन्छ भन्छ । त्यो हिसाबले हेर्दा पनि हामीलाई सरदर ६० किलोको मान्छे छ भने ६० ग्राम मासु खाने भन्ने हुन्छ । त्यो हिसाबले गर्दाखेरि चाहिँ हामीले पाउ जति मासु दिनमा खाँदाखेरि ६० किलो तौलको मान्छे छ भने त्यसले सरदर मानिसको आवश्यकता चाहिँ पूर्ति गरिरहेको हुन्छ । तर, एउटा वर्गलाई मात्र हेरेर कुरा गर्न अलि सान्र्दभिक नहोला । हामी जतिपनि सहरबजारमा बसिराखेका हुन्छौं उहाँहरुको माछामासु सेवनको अलि नियमित हुन्छ । तर, गाउँघरतिरका मानिसका लागि बजारको पहुँच छैन । त्यस्ता ठाउँमा चाडबाड जस्तै माघेसक्रान्ती, साउने सक्रान्ती त्यस्तोहरुमा र कसैले खसी काट्यो भने खाने चलन हुन्छ । त्यसैले नियमित जसले खाइरहन्छ उसलाई धेरै खाइराख्नु परेन । थोरै खाँदापनि उसको आवश्यकता पूर्ति हुन्छ । धेरै खायो भनेदेखि शरीरमा जमेर बस्छ । प्रोटिन धेरै भयो भने मानिस अत्याधि मोटाउँछ । जसले रक्तसञ्चार प्रणाली पनि वृद्धि भएर जान्छ । जसकारण ब्लड प्रेसर बढाउँछ, मधुमेह हुन मद्दत गर्छ र अरु नसर्ने रोगहरु सर्ने सम्भावना हुन्छ ।

त्यसैले मासु कम खानु एकदमै उत्तम हुन्छ । गाउँघरतिर धेरै माछामासु खाइराखेको हुँदैन् । अलिकति खाएपनि गाउँघरतिर शारीरिक व्यायाम बढी हुन्छ । त्यसैले गाउँघरका मानिसले अलिकति बढी खाँदा पनि शरीरमा ठूलो हानी भने गर्दैन । तर, हामी सहरका मान्छे हिड्दैनौं, डुल्दैनौँ, सुविधाभोगी भएका छौँ । जसकारण अलिकति सोचेर खानु नै राम्रो हुन्छ ।

मासुसँगै के–कस्ता खानेकुराहरु खाँदा स्वास्थ्यलाई फाइदा पुग्छ ?

हाम्रो सन्तुलित आहारमा मासु पनि पर्छ तर, यसलाई ध्यान दिएर खानुपर्ने हुन्छ । मासु खाँदाखेरि त्यसको साथसाथै हामीले अलिकति भात अथवा ढिडो जे हुन्छ खानुपर्छ । दाल, सिजनअनुसारका हरिया तरकारी (बोडी, स्कुस, साग, मुला, काँक्रो, गाँजर। कागती, निबुवा) खानु असाध्यै राम्रो हुन्छ । जसले खानालाई पचाउँछ र मासुमा धेरै मात्रामा आइरन तत्व पाइन्छ । आइरन पचाउनका लागि भिटामिन (सी) नभई हुँदैन् । त्यसले गर्दाखेरि पनि त्यो कागती, निबुवाबाट भिटामिन (सी) पाउँछौं र त्यो खाना चाहिँ सन्तुलित हुन जान्छ । भात अथवा ढिडो अथवा रोटी जे हुन्छ त्यो मासु, हरियो तरकारी, सलाद, अचार गरेर खायो भने चाहिँ त्यो खाना सन्तुलित हुन्छ ।

दसैँमा कस्तो मासु खाने ?
पछिल्लो समय मानिसहरु खसीको मासुमा बढी रुचि राख्न थालेको पाइन्छ । तर, यो रातो मासुको वर्गमा पर्छ । खसी बोकाको मासुमा अत्याधिक बोसो हुन्छ । अनि त्यसमाथि पनि अत्याधिक बोसो हाल्दा त झनै अस्वस्थकर हुन्छ । त्यसैले दसैँमा बनाइने मासुका परिकार धेरै चिल्लो हुँदा शरीरलाई फाइदा पुग्दैन । शरीर गह्रुँगो हुन्छ । शरीरलाई बोसोयुक्त मासु पचाउन ९ देखि ११ घण्टा लाग्छ । योबीचमा अन्य खाना खाँदा अपचको समस्या आउन सक्छ ।
मासुलाई भुटुवा भन्दा पनि रस हालेर खाँदा शरीरलाई फाइदा पुग्छ । अझै उसिनेर खाँदा त झनै राम्रो हुने भयो । अनि अर्को कुरा हामीले रातो मासुलाई सकभर कम गरेर कुखुराको मासुलाई बढाउन सक्छौँ । साथै, माछा पनि खान सकिन्छ । मासुजन्य पदार्थमा माछा चाहिँ एकदमै हल्का हुन्छ । त्यसमा बोसो धेरै हुँदैन् । प्रोटिनको मात्रा धेरै हुन्छ । त्यो पचाउन पनि सहज हुन्छ । त्यसैले माछालाई पनि जोड दिने ।

कस्ता बिरामीले मासु खानु हुँदैन ?

उच्च रक्तचाप, कोलेस्ट्रोल, मिर्गौला, पित्तसम्बन्धि रोग, बाथ रोगका बिरामी, युरिक एसिडका बिरामीले माछामासु नखाँदा राम्रो हुन्छ । कतिपय मिर्गौलाका बिरामीलाई तागत दिनका लागि मासुको एकदम पातलो रसहरु चाहिँ खान सकिन्छ । तर, अब दसैँमा कबाब बनाएर खाने, आन्द्राभुँडी, कलेजोहरुपनि खाने चलन छ । जसले अन्य रोगलाई बढाउन मद्दत गर्छ । साथै, जन्डिस भएको मानिसले पनि मासु खानु हुँदैन । मधुमेहका बिरामीले पनि मासु कम खाएको नै राम्रो मानिन्छ ।

कोल्ड ड्रिङ्क्सको सेवन कत्तिको उचित हुन्छ ?

बजारमा पाइने जति पनि सोडाजन्य कोल्ड ड्रिंक्स छन् । त्यसले हाम्रो शरीरमा धेरै हानी पुर्याइरहेको हुन्छ । सोडाजन्य पदार्थमा गुलियोको मात्रा अत्याधिक हुन्छ । साथै, केमिकलहरु प्नि प्रशस्त मात्रामा हुन्छ । जो स्वास्थ्यका लागि निकै हानिकारक हुन्छ ।

त्यस्ता पदार्थ सेवन गर्दा शरीरको हाडलाई खियाउँदै लैजान्छ । रोग पनि बढाउँछ । र, दसैँको बेला छ नेपालीहरुले यो बेला अत्याधिक सेवन गर्ने भनेको मादिरा पनि हो । यो बेला मासुसँगै मदिरा सेवन गर्दा शरीरमा नकारात्मक असर पर्छ । जसले क्यान्सरजन्य रोगहरु उत्पन्न गराउन सक्छ । त्यसैले दसैँको बेला कोल्ड ड्रिंक्स, मदिरा सेवनको सट्टा ताजा कागती पानीको सर्बत बनाएर खान सकिन्छ, जिरा पानीहरु बनाएर खान सकिन्छ। त्यसलाई पनि चिसो बनाएर खान सकिन्छ ।

दसैँमा सन्तुलित भोजन कसरी गर्ने त ?

सन्तुलित भोजनका लागि सरकारले पनि एउटा नक्सांकन निकालेको छ । जसमा कार्बोहाइड्रेटजन्य पदार्थलाई बढी समावेश गरिएको छ । जसले हाम्रो शरीरलाई शक्ति दिन्छ । जसमा भात, ढिँडो, रोटी, दाल, गेडागुडी, हरियो तरकारी, माछामासु, दही, दूध पनि पर्छ । मासु धेरै खाइराखेको छ भने हामीलाई दुधभन्दा दही÷मही राम्रो हुन्छ । साथै, ताजा अचार खान सकिन्छ । अब शाकाहारीहरुले चाहिँ दही दूध, पनिरको परिकार खान सकिन्छ । यसरी हामीले आफ्नो खानालाई सन्तुलित बनाउन सक्छौँ । अनि त्यो खाना खाइसकेपछि एक दुई घण्टापछि प्रशस्त मात्रामा मौसमअनुसारको फलफूल पनि खानुपर्छ । साथै, तरकारी सागपातहरु फलफूलहरु जति धेरै खान सक्यो त्यो मासुले गर्ने हानीलाई त्यति न्यून गरी शरीरमा पोषण पुग्छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?