पुस्तकप्रेमीका दसैँ योजना

चाडपर्व भन्ने बित्तिकै दिमागमा सबैभन्दा पहिले आउने कुरा हो– किनमेल । त्यसमा पनि महान चाड दसैँमा किनमेलको लिस्ट लामै हुन्छ । घरायसी सामग्रीदेखि लत्ताकपडा र नयाँ–नयाँ ग्याजेट र सवारी साधन समेत किनमेलको सूचीमा पर्छ ।

२०७९ को दसैँ सुरुभएसँगै बजारमा किनमेलको माहोल ह्वात्तै बढेको छ । दसैँ तिहारजस्ता चाडपर्वमा नेपालीहरु जमघट गर्ने मात्र नभएर स्वदेश तथा विदेशमा घुमघामका साथै पुस्तक पढ्नका लागि पनि उपयुक्त समय हो । उसो त धेरैले दसैँको बेला पढ्नका लागि स्वदेश तथा विदेशबाट समेत पुस्तक मगाउँछन् । तिनै पुस्तकप्रेमीले दसैँमा चाहिँ कस्ता पुस्तक पढ्दैछन् त ? सुनौँ उनीहरुको दसैँ योजना :

डा. नवराज लम्साल

२०७९ को मदन पुरस्कार विजेता हुन् साहित्यकार डा. नवराज लम्साल । कवि, साहित्यकार, लेखक, संचारकर्मीलगायत विभिन्न उपनामले चिनिने पुस्तक ‘अग्नि’ ले यस वर्षको मदन पुरस्कार जित्न सफल भयो । लामो यात्राका क्रममा गरिएका दुःखबाट पाएको सफलताको आनन्द लिइरहेका डा. लम्साल यस वर्षको दसैँ भने अन्य वर्षको दसैँ भन्दा फरक हुने बताउँछन् । पढौँ उनको दसैँ योजना :

जीवनको लामो समय रेडियो र सञ्चार एवं साहित्य क्षेत्रमा बिताएँ । हिडाइँको दौरानको क्रममा धेरै वटा दसैँ तथा चाडवाडमा त्यसको मज्जा भन्दापनि मैले आफूलाई निँखारे, खोज अनुसन्धान गरेँ । तर, यस वर्षको दसैँमा म केही नगरी बिताउँने सोचमा छु ।

May be an image of 1 person and standing

अघिल्ला वर्षहरुमा झैँ मेरो पढ्ने किताबका सूची छैनन् । न कतै घुम्न जाने भन्ने योजना नै छ । न कुनै विशेष काम गर्ने सोच नै । लामो यात्राको थकानपछि विश्राम लिएझैँ यस वर्षको दसैँमा म सम्पूर्ण पक्षबाट विश्राम लिनेछु ।

अघिल्ला वर्षहरुमा जस्तो रेडियोमा पनि उपस्थित हुनेछैन । केवल घरमै परिवारसँग आरामका साथ समय बिताउँने सोचमा छु ।

नितान्त घरमा परिवारसँग समय व्यतित गरेर दसैँ मनाउँदा कस्तो हुनेछ भन्ने अनुभव यस वर्षको दसैँमा गर्छु । अघिल्ला दसैँहरुमा अलिकति फुर्सद पाउँने बित्तिकै लेख्ने पढ्ने वा नभ्याएका कामहरु फत्ते गर्ने सूची हुन्थ्यो । तर ती सबै कुराहरुलाई बिर्सिएर नितान्त परिवारको साथमा दसैँ मनाउने योजनामा छु ।

नविन तिवारी

युवा अभियन्ता नविन तिवारी पुस्तक प्रेमी व्यक्ति हुन् । सधैँ साथमा ब्याग, झुस्स दारी, ब्यागभित्र पुस्तक र डायरी, हेर्दा जिज्ञासु आँखा र बोल्दा सरल अनि दार्शनिक भाषा यही उनको विशेषता हो । नेपाली पुस्तकभन्दा विदेशी पुस्तक पढ्न मन पराउने उनी जीविकोपार्जनका लागि केही कन्सल्टेन्सी र कलेजमा पढाउँछन् । नेपालमा नपाइने पुस्तकहरु विदेशबाट समेत अर्डर गरि पढ्ने गरेको उनले सुनाए । सुनौँ यिनै पुस्तक प्रेमीका दसैँ योजना :

म नियमित पुस्तक पढ्छु । दसैँमा म केही पुस्तकहरु पढ्ने योजनामा छु । पछिल्लो समयमा म राजनीतिक अर्थशास्त्र र राजनीतिक दर्शन मेरो रुचिको पुस्तक भयो ।

No description available.

अहिले  थोमस पिकेटिको अ बृफ हिस्ट्री अफ इक्वालिटि खरिद गरेको छु । त्यो सँगसँगै ‘द थ्योरी अफ जस्टिस’ पनि योजनामा छु । अर्को भियतनामको हिस्ट्री पनि पढ्छु । चारपाँचवटा माक्र्सवादी पुस्तक बाहिरबाट मगाएको छु ।

मैले खोजिराखेको पुस्तक अराजकतावादी दार्शनिक   पिटर क्रोपोट्किनको म्युचुअल एड  भन्ने पुस्तक, रुडोल्फ रकर भन्ने दार्शनिकको नेशनालिज्म कल्चर, कार्ल  मार्क्सको द जर्मन इडियोलोजी, रोजा लक्जम्बर्गको एकुमुलेसन अफ क्यापिटल भन्ने किताब छ ।

अरु बेलामा पढ्नका लागि चाहीँ मसँग प्रसस्तै पुस्तकहरु छ तर अलि गहिरिएर पढ्नुपर्ने पुस्तकहरु चाँही दसैँ तिहारको मेलोमा पढ्छु ।

मैले खासै नेपाली किताब पढेको छैन । यसबारे मेरो आलोचना पनि हुने गरेको छ । पछिल्लो समय सुजित मैनालीको ‘सती’ भन्ने किताब पढेको छु ।
म दर्शनमा रुची भएको मान्छे हुँ । राजनीतिक दर्शनका किताबहरु नेपालमा पाइन्न । विश्वका शक्तिशाली राष्ट्रहरुले कमजोर राष्ट्रलाई दमन गरेको अमेरिकन हिस्ट्री, रसियन हिस्ट्री चाइनिज हिस्ट्री आदिको बारेमा अध्ययन गरिरहेको हुन्छु ।

नोम चोम्स्कीको हेजिमोनी अर सर्वाइभल भन्ने पुस्तक पढिसकेपछि मथिंगल हल्लाइदियो । संसारमा यस्तो मान्छे पनि हुन्छ भन्ने लाग्यो अनि मेरो पढ्ने बानीको विकास त्यही पुस्तकले गरायो ।

सुदन ज्ञवाली

कथा बाचक एवं उत्प्रेरक वक्ताको परिचय बनाएका सुदन ज्ञवाली युवाहरु मात्र नभएर हरेक पुस्ताका लागि प्रेरणाका स्रोत हुन् । सञ्चारकर्मबाट उदाएका उनको मिठो बोलीकै कारण उनी जो कोही मानिसमा मिठो प्रभाव छोड्न सक्छन् । विश्वका धेरै देशहरुमा पुगेर कथा सुनाएका छन् । त्यतिमात्र उनको परिचय भने पक्कै होइन, नेपालमा पूर्ण खोप अभियान होस् या कोरोना कालमा गरेका महत्वपूर्ण कामहरुका कारण उनको परिचय थप बलियो बनेको छ । उनी नियमित पाठक हुन् । उनी आफू मात्र पढ्दैनन् आफूले पढेका र मन परेका कुराहरुलाई सामाजिक सञ्जालमा राखेर सबैलाई सेयर गर्ने गर्दछन् । आगामी दसैँको फुर्सदमा परिवारसँग रमाइलो गर्नेदेखि पुस्तक पढ्नेसम्म उनको सेड्युल छ । उनको दसैँ योजना सुनौँ…

म नियमित पुस्तक पाठक हुँ । बजारमा आएका नयाँ किताबहरु पढिराखेको हुन्छु । यसपालीको दसैँमा मैले ‘ह्वाइ नेसन फेल’ भन्ने पुस्तक दोहो¥याएर पढ्ने योजनामा छु । जुन हाम्रो अहिलेको अवस्थासँग मिल्ने खालको छ ।

No description available.

अहिले युवावर्गले खुबै मन पराएको सुविन भट्टराइको इजोरिया पनि पढेँ । यसअघि मदनपुरस्कार विजेता डा. नवराज लम्सालको ‘अग्नि’ पढेर सकाएँ ।
मैले चाहीँ समसामयिक किसिमका पुस्तकहरु बढी पढ्ने गरेको छु । चाहे अटो बायोग्राफी नै किन नहोस् । नेल्सन मण्डेला, बाराक ओबामाका बायोग्राफीहरु पढ्दै गर्दा सिक्न पर्ने कुराहरु धेरै थिए । कहिलेकहीँ मान्छेहरुले विश्लेषण गरेर लेखेका फिक्सन नन फिक्सन दुवै खालको बुकहरु पढ्छु ।

यसको अलवा दसैँजस्तो चाडबाडमा परिवारलाई पनि समय दिनैपार्यो । यसपाली जन्मघर गुल्मी जाने योजना छैन । उसो त काठमाडौंमै परिवासँग कतै घुम्न जाने योजना पनि छ ।

डा. रवीन्द्र पाण्डे

जनश्वास्थ्यविज्ञ डा. रवीन्द्र पाण्डे आगामी दसैँमा पुस्तक पढ्ने र आफ्नो पुस्तकलाई अन्तिम रुप दिने तयारीमा रहेका छन् । दसैँमा टिका नभए पनि परिवारका साथ दसैँ मनाउने योजनामा छन् उनी । सुनौँ उनको दसैँ योजना :

यसपाली दसैँमा टीका छैन । टीका नभए पनि परिवारमा हुने, रमाइलो गर्ने, घुम्न जाने योजना छ । म फुर्सद हुँदा नियमित पुस्तक पढ्ने गर्छु । दसैँको फुर्सदिलो समयमा केही पुस्तक पढ्ने योजना छ । नेपाली पुस्तकहरुमा सूर्यबहादुर थापाको जीवनी, डा.भगवान कोइरालाको ‘हृदय’ सहित अन्य पुस्तकहरु पढ्ने तयारी छ । स्वदेशी मात्र नभएर विदेशी पुस्तकहरु पनि मेरो रोजाइमा पर्छ ।

May be an image of one or more people

मलाई खास मनोवैज्ञानिक पक्षको बारेमा छलफल गरिएको पुस्तक पढ्न मनपर्छ त्यसको अलवा इतिहास र साहित्यका पुस्तकहरु पढ्न मनलाग्छ । दसैँमा पुस्तक पढ्ने मात्र नभइ मेरो तेस्रो साहित्यिक कृति ‘कोरोना तन्त्र’ लाई अन्तिम रुप दिने तयारीमा छु । त्यसको अलवा परिवारसँग कतै घुम्न जाने योजना समेत छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?