चाडबाडसँगै बढ्दो महँगी, सरकारलाई हाइसञ्चो !

यतिबेला दसैँको रमझममा नेपालीहरु रमिरहेका छन् । नेपालीहरुले वर्षभरी मनाउने पर्वहरुमध्ये सबैभन्दा महत्वपूर्ण भएका कारण यसलाई धुमधाम रुपमा मनाउने चलन छ ।

स्वदेश तथा विदेशबाट समेत वर्षौँपछि दसैँकै लागि धेरै नेपालीहरु आफ्नो जन्मथलो र परिवारको साथमा आउने गर्दछन् । वर्षभरीको पीडालाई भुलेर चाडपर्वका केही दिन नेपालीहरु खुलेर रमाउँछन् भने चाडपर्व सकिएपछि आ–आफ्नै काममा फर्कन्छन् ।

नयाँ कपडा किन्ने, मीठा परिकार खाने, नयाँ ठाउँमा घुम्न जानेलगायतका योजना आमनेपालीको हुन्छ । यद्यपि, मूल्य वृद्धि र महंगीका कारण दसैँका आधारभूत आवश्यकता परिपूर्ति गर्न मानिसहरुलाई सकस परिरहेको छ ।

एकातिर बढ्दो बेरोजगारी र अर्कोतिर मूल्यवृद्धिका कारण नेपालीहरुले आफूले सोचेजस्तो खुलेर चाडपर्व मनाउन पाइरहेका छैनन् ।

आयातमूखी अर्थतन्त्र र उत्पादकत्वमा कमीका कारण पनि मूल्यवृद्धिको प्रभाव बजारमा बढिरहेको जानकारहरु बताउँछन् । स्वदेशमा वस्तु तथा सेवाहरुको उत्पादन हुन नसकेका कारण पनि उपभोग्य वस्तु तथा सेवाहरु भारतलगायत अन्य मुलुकबाट आयात गर्नुपर्ने बाध्यताका कारण नेपालमा मूल्यवृद्धि भइरहेको छ । तर, आयात रोकेर उत्पादन बढाउनेतर्फ न सरकारको ध्यान गएको छ, न आम उपभोक्ता नै त्यसबारेमा सचेत छन् ।

नेपाली बजार चाडपर्वका बेला थेग्नै नसकिने गरि महँगिने गरेको उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष ज्योती बानियाँ बताउँछन् । महँगी रोक्न सरकारले ध्यान नदिएको उनको आरोप छ । ‘हरेक चाडपर्वमा नेपालमा मूल्यवृद्धि हुने गरेको छ,’ उनले लोकपथसँग भने, ‘सरकारले त्यसमा ध्यान दिनै नसकेका कारण पनि मूल्यवृद्धि मौलाएको हो ।’

अन्य देशमा पनि चाडपर्वको मौसममा मूल्यवृद्धि हुन्छ तर, नेपालमा जस्तो अनुचित मूल्यवृद्धि भने कुनै मुलुकमा पनि नहुने बानियाँ बताउँछन् । ‘अन्य देशमा पनि चाडपर्वको अवसरमा मूल्यवृद्धि हुन्छ तर नेपालमा जस्तो अनुचित भने हुँदैन,’ उनले भने, ‘नेपालमा यस्तो हुनुभनेको सरकार नागरिकप्रति उत्तरदायी छैन भन्नु हो ।’
सरकारले नियमित बजार अनुगमन नगर्नाले बजारमा मनमौजी मौलाएको उनको बुझाई छ । ‘बजारमा सरकारको सम्बद्ध निकायको उपस्थिती राम्रो हुन नसक्दा अस्वभाविक रुपमा मूल्यवृद्धि भइरहेका छ,’ उनले भने ।

मूल्यवृद्धि नियन्त्रणका लागि सरकारले प्रभावकारी रुपमा बजार अनुगमन गर्नुपर्ने र उत्पादनमा जोड दिनुपर्ने बानियाँको सुझाव छ । ‘सरकारले बजार अनुगमनलाई तीव्र पारेर मूल्यवृद्धि नियन्त्रण गनुपर्छ ।’ उनी भन्छन् ।

यद्यपि, खुद्रा व्यापारीहरु भने दसैँ र चाडपर्वमात्र मूल्य वृद्धि भयो भन्ने आरोप लगाउनु गलत रहेको टिप्पणी गर्छन् । ‘दसैँका बेलामा मात्र मूल्य वृद्धि भएको छैन,’ नेपाल खुद्रा व्यापार संघका महासचिव अमुलकाजी तुलाधर भन्छन्, ‘डलरको मूल्य बढ्नु, रुस युक्रेन युद्ध, भारतबाट सामान आयात गर्दा लगाइने भन्सार महसुल, नेपालले आयात गर्दा नेपालले लगाउने भन्सार महसुल आदीका कारण मूल्यवृद्धि भइरहेको छ भन्ने कुरा पनि बुझ्नुपर्छ ।’

आयातमा आधारित अर्थतन्त्र भएको नेपालजस्तो देशमा बाहिरबाट भाउ बढेर आएमा बढाइने तर घटेर आएमा नघटाइएका कारण पनि वस्तु तथा सेवाको मूल्य बढी हुन गएको उनको भनाइ छ ।

‘चामलको भाउ भारतमा बढ्दा नेपालमा बढ्छ तर पेट्रोलियम पदार्थको भाउ पटक–पटक घट्दा किन मूल्य समायोजन भएन ?,’ उनको प्रश्न छ, ‘मूल्य समायोजन नभएको विषयमा चाहिँ कोही नबोल्ने अनि चाडबाडमा मूल्यवृद्धि भयो भनेर कराउनु बेकार हो ।’

चाडपर्व भन्दा पनि चुनावका कारण मूल्यवृद्धि धेरै हुने गरेको तुलाधर बताउँछन् । नेताहरुलाई सहयोग गरेको कारण व्यापारीहरुले मूल्यवृद्धि गरे पनि राजनीतिक संरक्षणका आडमा ठूला व्यापारीहरुले मूल्यवृद्धि गराइ रहेको उनको आरोप छ । ‘कुरा चाडपर्वको मात्रै गरिन्छ । तर चुनावका बेला भएको मूल्यवृद्धिको कुुरा कसले गर्ने ?,’ तुलाधरको प्रश्न छ, ‘प्रत्येक चुनावमा हरेक सामानको भाउ आकासिएको हुन्छ । त्यसको तथ्य कसले खोज्ने ?’

साथै, बजारमा अहिले दसैँको माहोल रहेका कारण पनि राम्रो व्यापार रहेको उनको भनाइ रहेको छ । वर्षभरी हुनेमध्ये ३०–३५ प्रतिशत व्यापार चाडपर्वमा हुने उनको दाबी रहेको छ ।

कस्तो छ मूल्यवृद्धिको अवस्था ?

नेपालमा चाडपर्वको माहोल बढेसँगै मूल्यवृद्धि पनि ह्वात्तै बढेको पाइएको छ । उपभोक्ता हित संरक्षण मञ्चले काठमाडौंका विभिन्न स्थानमा गरेको बजार अनुगमनपछि सार्वजनिक तथ्यांकअनुसार बजारमा २० प्रतिशतसम्म मूल्यवृद्धि भएको पाइएको छ ।

मञ्चले २ हप्तामा गरेको बजार अनुगमनका क्रममा ५ देखि २६ प्रतिशतसम्म मूल्यवृद्धि भएको पाइएको जनाएको छ , जसअनुसार जिरा मसिनो चालममा २० प्रतिशत (१५०० देखि १८००), सोना मन्सुली चामल २६ प्रतिशत (१३०० बाट १६५०), जीरा मसला १० प्रतिशत (५०० बाट ५५०), केराउ १७ प्रतिशत (१७० बाट २००), टाइचिन चिउरा १६ प्रतिशत (१२० बाट १४०), आटा ३३ प्रतिशत (६० बाट ८०), मैदा ३३ प्रतिशत (६० बाट ८०), चिनि ५ प्रतिशत (१०० बाट १०३) रुपैयाँ रहेको छ ।

लामो समयदेखि उपभोक्ता हितका लागि काम गर्दै आइरहेको मञ्चले अनुगमनका क्रममा सर्वसाधारणलाई ठग्ने धेरै व्यवसायी तथा पसलविरुद्ध मुद्दा दायर समेत गर्दै आइरहेको छ ।

सहुलियत पसल पनि छ

चाडपर्वलाई लक्षित गर्दै सरकारले देशका विभिन्न स्थानमा सहुलियत पसल सञ्चालनमा ल्याउने गरेको छ । यद्यपि, आम नागरिकको पहुँचमा भने त्यस्ता सहुलियत पसल पुग्न सकेका छैनन् ।

सरकारले प्रत्येक वर्ष चाडपर्वलाई लक्षित गरि खाद्य वस्तुहरु उपलब्ध गराउने गरेको र जसबाट आम सर्वसाधारणलाई राहत मिल्ने गरेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका कार्यकारी निर्देशक मोहनप्रकाश चन्दको दाबी छ ।

अघिल्लो वर्ष देशभरका ३९ जिल्लाको ४३ स्थानबाट सहुलियत पसल सञ्चालन गरेको उनको भनाइ छ । यस वर्ष ४१ जिल्लाको ४५ ठाउँबाट सहुलितय पसल सञ्चालन भइरहेका उनको भनाइ छ । सरकारले उपलब्ध गराउने सहुलियत वस्तुमा चामल, दाल, सिमी तथा अन्य गेडागुडी लगायत अत्यावश्यक वस्तुहरुको खरिदमा आम जनताले राहत पाउनेछन् । त्यसैगरी खसी बोका तथा च्याङ्ग्रामा समेत सरकारले सहुलियत दिँदै आइरहेको छ ।

‘गत साल ३९ जिल्लाको ४३ स्थानबाट सहुलियत रुपमा वस्तुहरु उपलब्ध गराएका थियौँ । यसपाली ४१ जिल्लाको ४५ स्थानबाट सहुलियत रुपमा वस्तुहरु उपलब्ध गराएका छौँ,’ उनले भने, ‘चामल दाल र तेलमा किलोमा ७ रुपैयाँ प्रति क्विन्टेल ७०० रुपैयाँ छुट दिएका छौँ । गेडागुडी, खसी बोका र च्यांग्रामा प्रतिकिलो १० रुपैयाँका दरले छुट दिएका छौँ ।’

अघिल्लो वर्षको तुलनामा यस वर्ष सहुलियत दर बढाएको उनको भनाइ छ । ‘अघिल्लो वर्ष खाद्यवस्तुमा ५ रुपैयाँ मात्रै सहुलियत रहेकोमा अहिलेको वर्षमा ७ रुपैयाँ बनाइएको हो,’ उनले भने ।

चाडपर्वमा हरेक नेपालीले मिठो मसिनो खाने भएका कारण सरकारले यसरी छुट दिँदा जनतामा ठूलो राहत महसुस हुने उनी बताउँछन् । ‘चाडपर्वमा हुने सहुलियत बजार मूल्यभन्दा न्यून हुने भएका कारण जनताहरुमा यसले राहत दिन्छ भन्ने विश्वास लिएका छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?