यी हुन् दसैँ किनमेल गर्दा ध्यान दिनुपर्ने कुरा

काठमाडौं । नेपालीहरुको घर आँगन दसैँको माहोलले छोपिसकेको छ । वातावरण विस्तारै दसैँको माहोलमा पुलकित हुँदैछ । दसैँको रमझम सुरु भएसँगै गाउँघरदेखि सहर बजारमा अहिले एउटै चटारोले छोएको छ । त्यो हो– किनमेल ।

लत्ताकपडादेखि घरायसी सरसामान किनमेलसम्म मानिसहरु व्यस्त छन् । बजारमा मानिसहरुको भिड खचाखच देखिन्छ । तर, दसैँ किनमेल गर्दा केही कुरामा ध्यान दिनैपर्ने हुन्छ ।

अहिले, दसैँको माहोलले बजार तताएको छ । दसैँ अघि नै घरमा चाडपर्व मनाउन आवश्यक सामाग्रीहरु खरिद गरिन्छ । सोही अनुरुप हाल लत्ताकपडा, खाद्यान तथा अन्य घरायसी सामाग्री पसलहरुमा उपभोक्ताको भिड लाग्दा ठगीन सक्ने सम्भावना बढि हुन्छ ।

वाणिज्य, आपूर्ति तथा उपभोक्त संरक्षण विभागले अन्य समयमा भन्दा चाडबाडमा धेरै उपभोक्ताहरु ठगीने गरेको बताएको छ । विभागका प्रवक्ता होमनाथ भट्टराईका अनुसार सरसामान खरिद गर्दा मानिसका सामान्य गल्तीले गर्दा धेरै उपभोक्ता मारमा पर्ने गरेका छन् । यस पटकको दसैँमा सर्वसाधरणलाई ठगी हुनबाट बचाउँन भन्दै असोज २ गतेबाट नै बजार अनुगमन थालिएको प्रवक्ता भट्टराईको भनाई छ ।

विभागले दैनिक बजार अनुगमन गरेर विभागको वेबसाइटमा (बजार अनुगमन विवरण) भनेर पनि प्रतिवेदन राख्ने गरेको बताए । सरकारका विभिन्न तह तथा विभागहरुसँग छलफल गरेर सम्बन्धित विभागअनुसार अनुगमनको दायरालाई कसिलो बनाइएको भट्टराईले बताए । हाल ‘सेक्टर वाइज’ अनुगम जारी रहेको उनले लोकपथलाई जानकारी दिए ।

‘उपभोक्ता ठगीनबाट बचुन भनेर हामीले आफू मातहतका विभाग, सरकारका तीन वटै तह, ७७ वटै जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारीको सहयोगमा बजार अनुगमनलाई कडाईका साथ अगाडि बढाएका छौँ,’ उनले भने ।

उपभोक्तालाई सुझाव:-

दसैँ बजारमा सामान खरिद गर्दा आफू ठगिएको जस्तो लागेमा, गुणस्तरहीन सामाग्री बिक्री वितरण गरेको पाएमा, व्यापारीले चर्को मूल्य लिएको पाइएमा विभागको टोल फ्री नम्बर ११३७ तथा विभागको मोबाइल एप्लिकेसन (सीआरएमआईएस–डीओसी) मार्फत उजुरी गर्न सक्ने प्रवक्ता भट्टराईले बताए ।

‘कसैले उपभोक्तामाथि ठगी गरेको पाइएमा सम्बन्धीत विभागले कारबाही गर्ने बताए,’ उनले भने, ‘उपभोक्ताको तर्फबाट सोझै विभागमा आएका घटनाहरुको भने वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले नै घटनाको प्रकृती हेरेर ५ हजारदेखि ३ लाखसम्म तत्काल जरिबाना गराउन पाउने कानुनी व्यवस्था रहेको छ ।’

विभागको मातहतमा भन्सार विभाग, उद्योग विभाग, नेपाल गुणस्तर तथा नापतौल विभाग, औषधि व्यवस्था विभाग, कम्पनी रजिस्ट्रार विभाग, खाद्य प्रबिधि तथा गुण नियन्त्रण रहेका छन् ।

चाडपर्वमा धेरै सर–सामान एकैपटक खरिद गर्दा विभिन्न विषयमा ध्यान पुर्‍याउनु पर्छ । प्रवक्ता भट्टराईले दसैँमा सर–सामान खरिद गर्दा निम्न कुरामा ध्यान दिन सर्वसाधरणलाई सुझाव दिएका छन् । – कस्तो पसलमा सामान खरिद गर्दैछु भनेर ध्यान दिने ।

– सामानको मूल्य तोकिएको छ वा छैन हेर्ने ।
– वस्तुको तेकिएको भन्दा बढी मूल्य लिए नलिएकोबारे बुझ्ने ।
– सामानको उत्पादित मिति राखिएको छ वा छैन हेर्ने ।
– म्याद गुज्रेका सर–सामान खरिद नगर्ने ।
– सामान खरिद गर्ने पसल सरकारी निकायमा दर्ता भए नभएको संकेत राखिएको छ/छैन हेर्ने ।
– सामाग्रीको मूल्य तथा म्याद सकिने मिति रि–लेवलिङ गरिएको छ वा छैन हेर्ने ।
– सामान खरिद गरेपछि खरिद गरेको बिल अनिवार्य लिने ।
– सर–सामान खरिद गर्दा नापतौलका साधनमा पनि ख्याल गर्ने । नापतौल गर्दा ढुंगा, बिना दर्ताका ढक तथा तराजुलगायतको प्रयोग भएका सामाग्री खरिद नगर्ने ।
– वस्तु वा सेवाको खरिद वा उपयोग गर्दा हतार नगरी दुईतीन ठाउँमा मूल्य र गुणस्तरको अवस्थाको जानकारी लिइ खरिद गर्ने ।
– माछा मासु पसल, बध स्थल, माछा मासुको भण्डारणको अवस्था, सरसफाई आदि हेरेर सफा स्वच्छ र ताजा माछा मासु मात्र खरिद गर्ने ।
– न्यून गुणस्तरीय/कमसल खाद्य बस्तु उत्पादन तथा बेचबिखन भएको जानकारी भएमा वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय, जिल्ला प्रशासन कार्यालय, नजिकको सुरक्षा निकाय आदिमा खबर गर्ने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?