चार्टर फ्लाइटमा टर्किस एयरलाइन्सले गरेका मनोमानीमाथि अझै भएन कारबाही !

लोकपथ
398.8k
Shares

काठमाडाैं । कोरोना महामारीका कारण नेपाल ‘लक–डाउन’ को अवस्थामा पुग्दा सरकारले सिमित वायु सेवा कम्पनीलाई ‘अन्तर्राष्ट्रिय चार्टर उडान’ का लागि अनुमति दियो । यहीँबाट केही एयरलाइन्सहरुले मौकाको फाइदा उठाउँदै ‘लुटको धन्दा’ पनि सुरु गरे ।

बिस्तारै टर्किस, कतार र हिमालय एयरलाइन्सको ब्रम्हलुट एकाएक बाहिरिन थाल्यो । सिमित ट्राभल एजेन्सीमार्फत एकतर्फी टिकटको मूल्य कैंयौं गुणा महङ्गोमा विक्री गरेको भन्दै ट्राभल एजेण्टहरुले सांगठित रुपमै विरोध जनाए ।

तत्कालिन संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकाल, मन्त्रालयका सचिव, उपसचिव, एयरलाइन्सका कन्ट्री म्यानेजर ट्राभल र एजेन्सी सञ्चालकहरुको मिलेमतोमै महामारीमा नेपालीमाथि लुटको खेती मौलाइरहेको भन्दै नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्टस् (नाट्टा)ले मन्त्रालय र नागरिक उड्डयन प्राधिकरणमा उजुरी दियोे ।

नाट्टाको उजुरीपश्चात तत्कालिन पर्यटनमन्त्री उमाशंकर अरगरियाले अन्तर्राष्ट्रिय चार्टर उडानमा वायुसेवा कम्पनी र ट्राभल एजेन्टबाट यात्रु ठगिएकोबारे छानबिन गर्न प्राधिकरणका तत्कालिन महानिर्देशक राजन पोखरेलको संयोजकत्वमा पाँच सदस्यीय समिति बनाए ।

सरकारले छानबिन समिति बनाएसँगै लुटको व्यापारमा साझेदार गरिरहेका एयरलायन्सका नेपाल कन्ट्री म्यानेजरदेखि व्यवस्थापन पक्षको मुटु काम्न सुरु भयो । कुन बेला आफ्नो ‘पाप धुरीबाट कराउने’ हो भन्दै सशंकित भए । आफ्नो ‘हाइ–प्रोफाइल’ जागिर कुनैपनि बेला धरापमा पर्न सक्ने देखे ।

टिकट विक्रीमा यो ठगी प्रकरणले सबैभन्दा बढी विवादित टर्किस एअरलाइन्स भयो । टर्किस एयरलाइन्सकी नेपालस्थित सेल्स म्यानेजर बेनजीर खानमाथि सिमित एजेन्सीसँगको मिलेमतोमा सोझासाझा नेपालीमाथि तोकिएकोभन्दा अचाक्ली बढी भाडा लिएर मौकाको फाइदा उठाएको आरोप लागेको थियो ।

छानबिन समितिले सुरु गरेको अनुसन्धानमा टर्किस एयरलाइन्सले बढी भाडा असुलेको भन्दै परेको ७ वटा उजुरीमाथि अध्ययन गरेको थियो । जसमध्ये एयरलाइन्सले २ वटा टिकटमा नियमितभन्दा बढी शुल्क लिएको ठहर गर्यो ।

महामारीका बेला टर्किस एयरलाइन्सले युरोप र अमेरिकाको गन्तव्यका लागि चार्टर उडान भर्दै आएको थियो । त्यसैबेला सिकागो र बोस्टनका लागि चार्टर उडान गर्दा सिरियल नम्बर ६ र ७ मा एयरलाइन्सले प्राधिकरणमा बुझाएको टिकट दरभन्दा बढी भाडा असुल गरिएको पाइएको समितिले प्रतिवेदनमा उल्लेख गरेको छ ।

त्यसो त यस एयरलाइन्सको चार्टर एजेन्सी मेगाबाईट ट्राभल्स एण्ड टुर्स, टिकट जारी गर्ने प्रभाव ट्राभल्स एण्ड टुर्स र एएल के ट्राभल्सलाई सम्बन्धित निकायले प्रचलित कानून बमोजिम थप अनुसन्धान गर्नुपर्ने भन्दै समितिले सुझावसहितको प्रतिवेदन मन्त्रालयलाई बुझाएको थियो ।

सोही प्रकरणमा समितिले टर्किस एयरलाइन्सका नेपालस्थित तत्कालिन जनरल म्यानेजर अब्दुल्लाह टुन्जर केसेकीसँग सोधपुछ गरेको थियो । सोधपुछका क्रममा केसेकीले टिकट बिक्रीको जिम्मा मेगा ट्राभल्स एण्ड टुर्सलाई दिइएको बताएका थिए । ‘हवाई भाडा महँगो भई चलखेल हुन सक्नेबारे वायुसेवा कम्पनी सजग भई उडान खण्डको हवाई भाडा आफूले नै निर्धारण गराएको हुँदा सोभन्दा बढी हवाई भाडा उठाइएको भए एजेन्सी नै जिम्मेवार रहने छ,’ उनले सोधपुछका क्रममा भनेका थिए, ‘निषेधाज्ञाको अवधिमा सम्पन्न भएका यात्रु चार्टर उडानमा बढी भाडा लिएको भनी टर्किस एयरलाइन्सका कुनै पनि यात्रुको उजुरी परेको छैन ।’

यद्यपि, सरकारी छानबिन समितिले टर्किस एअरलाइन्सले बढी भाडा असुलेको ठहर गरिसक्दा पनि सम्बन्धित एयरलाइन्सले न त ट्राभल एजेन्सीमाथि छानबिन गर्यो न त आफ्नै व्यवस्थापन तर्फ नै खोजीनीति गर्यो । यसको प्रष्ट संकेत हो, टिकट विक्रीमा तोकिएको मुल्यभन्दा बढी रकम यात्रुबाट असुल गर्ने यो खेलमा मिलेमतो भयो ।

छानबिन समितिका सदस्यहरु पनि एयरलाइन्सले यो ठगी प्रकरणमा ‘हरियो झण्डा’ नदेखाइकन र व्यवस्थापनको मिलेमतो बिना एजेन्सीले मात्र यति ठूलो जोखिम लिन नसक्ने बताउँछन् । ‘केही सिमित एजेन्टमार्फत एयरलाइन्सले बढी भाडा असुलेको अनुसन्धानबाट देखियो,’ नाम सार्वजनिक नगर्ने सर्तमा छानबिन समितिका एक सदस्यले लोकपथसँग भने,‘यसमा एयरलाइन्सका कर्मचारीको मिलेमतो नभइ एजेन्सीलेमात्र बढी भाडा असुल गर्न सक्दैन ।’

यदि एजेन्सीले बदमासी गरेको हो भने एयरलाइन्सले तुरुन्तै कारवाही गर्नुपर्ने ती सदस्य बताउँछन् । ‘टिकटको विक्रीमा कस्टुमर फेयर र सिस्टम फेयरकाबिचमा टिकटमा एजेन्सीको जुन मार्जिन हुन्छ त्यो भन्दा माथि भएमा कारवाही गर्ने अधिकार सम्बन्धित एयरलाइन्सको हुन्छ,’ उनले भने ।

यद्यपि,एयरलाइन्सको व्यवस्थापनले भने ती एजेन्सीलाई कारवाही गर्नुको साटो उल्टै काखी च्यापिरहेको स्रोत बताउँछ । त्यसमा प्रत्यक्ष संलग्नता टर्किस एअरलाइन्सको नेपालस्थित सेल्स एण्ड मार्केटिङ म्यानेजर खानको रहेको एजेन्सी सञ्चालकहरुकै आरोप छ ।

एजेन्सीसँग खानको साँठगाँठ !

खानले अहिले पनि प्रभास ट्राभल्स, मुस्कान ट्राभल्स, फ्लाइट कनेक्सन ट्राभल्स र लिबरल ट्राभल्सलाई पक्षपोषण गरिरहेकी छन् । यसरी एजेन्सीलाई काखी च्याप्ने र सोझा साझा नेपालीमाथिको लुटको खेतीमा निरन्तर साझेदार बनिरहेकी खानमाथि एयरलाइन्सले कुनै कदम नचाल्नुको अर्थ के हो ? स्वभाविक हो,यसमा ठूलो प्रश्न चिह्न खडा हुन्छ ।

यता खान भने केही एजेन्सीहरुले सीट नपाएपछि आफूमाथि विभिन्न आरोप लगाएको बताउँछिन् । तपाईंले त सिमित ट्राभल एजेन्सीलाई काखी च्याप्नु भएको छ रे नि ? भन्ने लोकपथको प्रश्नमा उनी भन्छिन्, ‘जसले हामीसँग काम पाएनन् उनीहरुले म माथि लगाएको आरोप हो, यो । तर, मैले कसैलाई काखा कसैलाई पाखा गरेको छैन ।’

तर, चार्टर फ्लाइटका बेला केही सब एजेन्सीले गरेको बदमासीलाई भने रोक्न नसकेको स्वीकारिन् । ‘सब एजेन्सीबाट भएको अनियमिततालाई भने हामीले कन्ट्रोल गर्न सकेनौं किनभने हाम्रो एजेन्सीबाट पनि तीन–चारवटा एजेन्सीले किनेका थिए,’ उनले भनिन्, ‘त्यसैले एकदुई वटा सब एजेन्सीको कम्प्लेन आएको थियो । उनीहरुसँग हामीले स्पष्टिकरण सोधेका थियौं ।’

खानकै भनाईमा त्यतिबेला एयरलाइन्सले सब–एजेन्सीलाई मात्र स्पष्टिकरण सोध्यो । मूख्य करार सम्झौता गरेको मेगालाई भने केही गरेन । यद्यपि, जो सँग टिकट विक्री गर्ने सम्झौता नै भएको छैन ती एजेन्सीसँग भने स्पष्टिकरण सोध्नुले एयरलाइन्स र खानको नियत प्रष्ट हुन्छ ।

अब, टर्किस एयरलायन्सको नेपालका लागि नयाँ कन्ट्री म्यानेजरको रुपमा सेरकर बसर आएका छन् । तर, खान भने अझै पनि सेल्स म्यानेजरकै रुपमा रहने दाउमा छिन् । बसरले आफ्नो कम्पनीमाथि लागेको आरोप चोख्याउन खानमाथि थप छानबिन गरेर कारवाही गर्न सक्लान ? खानको यो मिलेमतोको कारण उनलाई जिम्मेवारमुक्त गराउन सक्लान् ?

धेरैको नजर अहिले यही टर्किस एअरलाइन्स प्रकरणमा अडिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?