के पराजयको त्रासमा छन् डा.बाबुराम ?

काठमाडौं । समकालीन नेपाली राजनीतिमा दशकौं वर्ष प्रभावशाली छवि बनाएका नेतामध्ये एक हुन्– पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई । कुनैबेला नेपालको राजनीतिमा भरोसा गरिएका डा.भट्टराईको अबको राजनीतिक यात्रा कस्तो रहला चासोको रुपमा हेरिएको छ ।

डा.भट्टराईको अस्थिर राजनीतिक यात्राका कारण उनलाई आगामी निर्वाचन अपेक्षाकृत रुपमा सहज नहुन सक्ने कतिपयको आंकलन छ । तर, रणनीतिक योजनामा पोख्त डा.भट्टराईले पछिल्लोपटक राजनीतिक भेटघाटलाई तीव्र पारेका छन् । उनले राजनीतिमा अन्तर पार्टी संघर्ष र चुनौतीको धेरै सामना गर्नुपर्याे ।

पार्टी विभाजन तथा ध्रुवीकरणका कारण राजनीतिक शक्ति सन्तुलनमा राख्न नसक्दा उनको राजनीति गन्तव्य कमजोर बन्दै गएको कतिपयको ठम्याइ छ । वैचारिक र रणनीतिक योजनामा अब्बल नेताका रुपमा डा.भट्टराई परिचित छन् । २०३९ मा कम्युनिष्ट पार्टीको सदस्यता लिएका नेता डा.भट्टराईले २०७९ सम्म आइपुग्दा एकता केन्द्र, नेकपा माओवादी, नयाँ शक्ति नेपाल, जनता समाजवादी पार्टी हुँदै अहिले नेपाल समाजवादी पार्टी गठन गर्दै राजनीतिको यात्रा तय गरे ।

२०५२ मा नेकपा माओवादीले जनयुद्ध सुरु गर्नुअघि तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारलाई ४० बुँदे माग बुझाए लगत्तै उनी भूमिगत भएका थिए । तत्कालीन माओवादी शान्ति प्रक्रियामा आएपछि डा.भट्टराई पहिलो संविधानसभा निर्वाचनमा गोरखाबाट सर्वाधिक मतान्तरले विजयी भए ।

उनी २०६५ मा अर्थमन्त्री हुँदा निकै सफल मानिए । अनपेक्षित राजश्व उठाएपछि सफल अर्थमन्त्रीका रुपमा उनले प्रशंसा आर्जन गरे । तर, २०६८ सालमा पहिलो पटक प्रधानमन्त्री हुँदा डा.भट्टराईले अपेक्षित काम गर्न सकेनन् । यद्यपि काठमाडौंको सडक विस्तार गरेर लोकप्रियता कमाए । डा.भट्टराई प्रधानमन्त्री भएकै बेला पहिलो संविधानसभा असफल भयो । दोस्रो संविधानसभा निर्वाचनमा माओवादीले अत्यन्तै थोरै सिटमा मात्रै जित हासिल गर्यो ।

त्यसबेला दुई ठाउँबाट चुनाव लडेका डा.भट्टराई गोरखाबाट मात्रै निर्वाचित भए । रुपन्देही उनका लागि सुखद् हुन सकेन । २०७० मा भएको दोस्रो संविधानसभा गठनपछि संविधान मस्यौदा समितिको सभापतिको रुपमा डा.भट्टराईले संविधान निर्माणमा सक्रिय भूमिका निर्वाह गरेका थिए । संविधान जारी भएको केही दिनपछि २०७२ असोज ९ गते आफ्नो जीवनको महत्वपूर्ण समय र उर्जा दिएको पार्टी परित्याग गरे ।

‘रातो स्टिकर टाँसिएको घर’ को संज्ञा दिँदै उनी तत्कालीन एकीकृत नेकपा माओवादीबाट बाहिरिए । २०७३ जेठ ३० मा काठमाडौंमा ठूलो कार्यक्रमबीच नयाँ शक्ति नेपाल पार्टी घोषणा गरे । अभिनेत्री करिश्मा मानन्धर लगायतलाई साथमा लिएर अघि बढेका डा.भट्टराईप्रति एक खालको आकर्षण देखियो । नयाँ शक्ति बनाउन डा.भट्टराईले ठूलो मेहनत गरे पनि त्यहाँ सफलता मिलेन ।

२०७४ को स्थानीय तहको चुनावमा नयाँशक्तिले अपेक्षित जित हासिल गर्न नसकेपछि उनले प्रदेश र संघको चुनावमा आफूले जित्न कांग्रेसको साथ रोजे । २०७४ को प्रतिनिधिसभा निर्वाचनमा नयाँशक्ति पार्टी नेपालबाट डा.भट्टराई बाहेक अरु कसैले जित्न सकेनन् । २०७४ को प्रतिनिधिसभा निर्वाचनमा उनले ३१ हजार ८०७ मत ल्याएर निर्वाचित भए । उनका प्रतिस्पर्धी नेकपा (माओवादी केन्द्र) का नारायणकाजी श्रेष्ठले २४ हजार ९३३ मत प्राप्त गरी पराजित भए ।

नयाँ शक्तिबाट राजनीतिक उपलब्धि हासिल गर्न नसक्ने देखेपछि डा.भट्टराईले २०७६ बैशाख २३ मा पार्टीलाई मधेस केन्द्रित दल संघीय समाजवादी फोरममा विलय गराए । त्यसपछि पनि उपेन्द्र यादव र महन्थ ठाकुरसँग समेत एकता गरेर जनता समाजवादी पार्टी (जसपा) निर्माण गरे तर, दुबै दल फेरि पालैपालो विभाजनको दिशामा गए । जसपामा रहँदा पनि डा.भट्टराई कुनैपनि समय सन्तुष्ट हुन सकेनन् । उपेन्द्र यादवसँगको शक्ति संघर्षका कारण जसपाबाट कारबाहीमा परेर बाहिरिएका डा.भट्टराईले फेरि नयाँ दल गठन गरेका छन् ।

राजनीतिमा जसपाबाट बाहिरिएसँगै अब डा.भट्टराईको राजनीतिक भविष्य कठिन हुने कतिपयको टिप्पणी छ । तर, राजनीतिमा नयाँ प्रयोग गर्ने भनेर नयाँ दल गठन गरेपनि पटक–पटक नयाँ प्रयोग र वैकल्पिक राजनीति शक्तिको खाँचो औंल्याउँदै आएका डा.भट्टराईको न राजनीतिमा नयाँ प्रयोग गर्ने हुटहुटी मरेको छ, न त हिम्मत नै हारेका छन् । भट्टराई आगामी चुनाव अघि कम्युनिष्ट पार्टीसँग कार्यगत एकता गरेरै भएपनि संसद छिर्न चाहन्छन् ।

चुनावपछि ध्रुवीकृत वामपन्थी घटकबीच पार्टी एकता गरेर अघि बढ्ने उनको चाहना छ । पछिल्लो पटक डा.भट्टराई जसरी पनि चुनाव जित्ने दाउमा रहेको र फेरिपनि प्रधानमन्त्री हुने योजना बोकेर ‘प्रचण्ड’ लगायतका नेतासँगको सम्बन्ध बढाउन थालेको कतिपयको बुझाइ छ । नेता डा.भट्टराईले वामपन्थी दलको एकताबाट समाजवादी केन्द्र निर्माण गर्दै पार्टी र नेतृत्वलाई नयाँ ढंगले लैजान आवश्यक रहेको बताउँदै आएका छन् ।

डा.भट्टराईले यसअघि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँगको भेटमा माओवादी केन्द्रको चुनाव चिह्न हँसियाहथौडाबाट चुनाव लड्ने इच्छा जाहेर गरेका छन् । उनको यो चाहनालाई ‘प्रचण्ड’ ले पनि सकारात्मक रुपमा लिएको बताउँदै आएका छन् । गएको शुक्रवार पोखरामा आयोजित नेपाल समाजवादी पार्टीको गण्डकी प्रदेशस्तरीय अभिमुखीकरण कार्यक्रममा डा.भट्टराईले कांग्रेस, एमालेको विकल्पमा अर्को बलियो शक्तिको आवश्यकता रहेको बताए ।

उनले चुनावमा कार्यगत एकता गरेर एउटै चुनाव चिह्न लिएर जाने र चुनावपछि पार्टी एकता गर्ने प्रचण्डसँग आफ्नो सल्लाह भएको खुलासासमेत गर्न भ्याए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?