प्रभावकारी सामाजिक सुरक्षा भत्ताका लागि बैंकहरुसँग छलफल

लोकपथ
65
Shares

काठमाडौं । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले सामाजिक सुरक्षा भत्ता वितरणलाई प्रभावकारी बनाउन बैंक तथा वित्त संस्थासँग काठमाण्डौंमा छलफल तथा अन्तरक्रिया गरेको छ । सामाजिक सुरक्षा भत्ताका लागि छुट्याईएको धेरै रकम बैंकमै थन्किएकाले त्यसलाई प्रभावकारी रुपमा वितरण गर्न तथा समसामयिक सवालहरुमा छलफलका लागि कार्यक्रमको आयोजना गरिएको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका महानिर्देशक तिर्थराज भट्टराईले जानकारी दिएका छन् ।

सेवाग्राहीहरुले समयमा नै भत्ता रकम नपाएको, अशक्त, अति वृद्धवृद्धाहरुले धेरै सास्ति खेप्नुपरेको गुनासो बढिरहेको बेला विभागले बैंकहरुसँग छलफल गरी भत्ता वितरणमा अन्तरबैंक एकरुपता कायम गरी सहजता ल्याउन खोजेको हो । भत्ता वितरणलाई प्रभावकारी बनाउन सेवाग्राहीलाई एटिएम दिनुपर्ने, चेकबुकको संख्या बढाउनुपर्ने, बैंकले सेवाग्राहीको खातामा ७ दिन भित्र पैसा जम्मा गरीदिनुपर्ने प्रस्ताव विभागले राखेको छ । त्यस्तै अशक्त तथा ९० वर्ष भन्दामाथिका व्यक्तिलाई स्थानीय तह र बैंकको सहमतिमा भुत्तानी शिविर, शाखा रहित बैंक, मोवाइल बैंकिङ्ग, सहकारी मार्फत भुक्तानी जस्ता विशेष व्यवस्था गरी भक्तानी दिँदा सहज र प्रभावकारी हुने पनि विभागको धारणा छ । बालबालिका वा पूर्ण असक्त, अपाङ्गता भएका व्यक्तिको संरक्षक सहितको संयुक्त खाता वा संरक्षक मार्फत भत्ता भुक्तानी गर्ने व्यवस्था गर्दा भत्ता वितरणलाई सहज बनाउन सकिने पनि छलफलमा उठेको थियो ।

सामाजिक सुरक्षा भत्ता बैंकिङ्ग प्रणाली मार्फत प्रभावकारीरुपमा वितरणका लागि सबै स्थानीय तहबाट तदारुपता देखाइरहेका बेला केही स्थानीय जनप्रतिनिधीहरुले लोकप्रियताका लागि घरघरमै भत्ता वितरण गर्न चासो देखाएका तर स्थानीय तहमा न्यून जनशक्तिका कारण कामगर्न कठिन भइरहेको गुनासो बैंकको छ । सामाजिक सुरक्षाको लागि खोलिएको बैंक खातामा भत्ता रकममात्र जम्मा गर्दा प्रतिवेदन प्रणाली प्रभावकारी हुने भएकाले विभागले यो विषयलाई पनि सम्बोधन गर्नुपर्ने कुरा छलफलमा उठेका छन् ।

छलफल कार्यक्रममा गृह मन्त्रालयका सह सचिव भिष्मकुमार भुषालले भत्ता वितरणलाई बैंकहरुले वोझको रुपमा मात्र नभई अवसरको रुपमा लिन आग्रह गरे । सामाजिक सुरक्षा भत्ता वितरणकै क्रममा धेरै बैंकहरुले दुर्गम स्थानमा पुग्न पाएको, बचतकर्तालाई बैंकले लगानीका लागि सेवाग्राही बढाउन मद्दत गर्ने तथा बैंकको महत्वका बारेमा ग्रामिण भेगलाई जानकारी दिन पाएको कारण यसले बैंकलाई पनि प्रत्यक्ष रुपमा फाईदा पुर्याईरहेको कुरामा पनि उनले जोड दिए ।

छलफलकै क्रममा विभागका निर्देशक सागरमणि पाठकले बैंकहरुले भत्ता वितरणप्रति देखाएको अपनत्वलाई सामाजिक दायित्व वहनको रुपमा लिन सकिने प्रष्ट्याए । बैंकिङ्ग सिस्टममा देखिएका केही त्रुटीलाई शुद्धिकरणको आवश्यकतामा विभागका महानिर्देशक भट्टराईको जोड थियो । साथै, पूर्ण बैंकिङ्ग प्रणाली कार्यान्वयनसँगै एकरुपता हुने गरी सामाजिक सुरक्षा नियमावली तथा कार्यविधी संसोधन प्रक्रिया अगााडी बढाउनेमा पनि उनले जोड दिएका छन् । कार्यक्रममा राष्ट्रिय स्तरका क, ख र ग वर्गका ५४ वटा बैंकका प्रतिनिधीहरु सामेल थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?