अब सरकारले गियर बदलेर काम गर्छः प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारले गियर बदलेर काम गर्नुपर्ने बताएका छन् ।

आज काठमाडौंमा नेकपाको भातृ संगठन प्युठान–काठमाडौं सम्पर्क मञ्चले आयोजना गरेको कार्यक्रममा बोल्दै प्रचण्डले तल्लो तहको एकता छिट्टै टुंगिने समेत विश्वास दिलाए । साथै उनले प्युठानले नेपाल कम्युनिस्ट आदोलनका हस्ती जन्माउन ठूलो योगदान पु–याएको तर आफू र राज्यले केही गर्न नसकेको पनि बताए ।

दुई ठूला पार्टी तत्कालीन एमाले र माओवादीबीच एकता हुन नदिन षडयन्त्र भइरहेको भन्दै प्रचण्डले भने, ‘केही शक्तिले हाम्रो एकता हुन नदिन षडयन्त्र गरिरहेका छन्, तर हामी त्यो योजना पूरा हुन दिन्नौँ ।’

प्रचण्डले पहिलो गियरमा हुँदा गाडीले गति लिन नसक्ने र असन्तुलित हुने तर गियर परिवर्तन गर्दै जाँदा स्पिड लिएझैँ अब सरकारले पनि गियर चेन्ज गरेर काम गर्ने बताए ।

यस्तै कार्यक्रममा बोल्दै नेकपाका सचिवालय सदस्य वामदेव गौतमले आफूले प्युठानबाट चुनाव जित्ने मौका गुमाएको बताए । उनले प्युठानबाट चुनाव लडेको भए जित्ने बताए ।

उनी वि.सं. २०७० सालमा प्युठानको क्षेत्र नम्बर १ र बर्दियाबाट निर्वाचित भएका थिए ।

कार्यक्रममा नेकपाका सांसद कृष्णध्वज खड्का, केन्द्रीय सदस्य विजय गुरुङ, युवा नेता भोजविक्रम बुढा लगायतले बोलेका थिए । उनीहरुले पार्टीको तल्लो स्तरसम्मको एकतालाई चाँडो टुङ्ग्याउनुपर्ने बताएका थिए ।

प्युठान जिल्लाका विभिन्न नेता तथा कार्यकर्ताको उपस्थिति रहेको कार्यक्रम चन्द्र केसीको सभापतित्वमा सञ्चालन भएको थियो भने कार्यक्रमलाई  वीरेन्द्र खड्काले सञ्चालन गरेका थिए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?