के प्रत्यक्षतर्फ चुनाव लड्न डराएका हुन् निधि ?

काठमाडाैं । आगामी प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनको तयारीमा यतिबेला विभिन्न दलका नेता तथा कार्यकर्ता चुनाव केन्द्रित गतिविधिमा व्यस्त हुन थालेका छन् ।

उम्मेदवारको टुंगो नलाग्दै आफ्नो निर्वाचन क्षेत्रमा जनतालाई आवश्स्त पार्न नेताहरुलाई भ्याइनभ्याइ जस्तै छ । चुनावको मिति नजिकिएसँगै टिकटको आकांक्षा राख्नेको दौडधुप र रस्साकस्सी चलेको छ । बदलिँदो राजनीतिक परिस्थितिमा कतिपयले संसद छिर्न सहज गन्तव्य खोजिरहेका छन् । उसो त सीट जोगाउने कसरतमा ‘हेभीवेटका नेता पनि लागिरहेका छन् ।

प्रत्यक्षतर्फ सिट सुरक्षित हुन नसक्ने अवस्थामा कतिपय नेताहरु सुरक्षित निर्वाचन क्षेत्र रोज्दैछन् भने, लामो राजनीति संघर्षसँगै जीवनको उत्तरार्धमा पुगेका नेताहरु गठजोठ (तालमेल) गरेरै भएपनि चुनावी नतिजा आफ्नो पक्षमा पार्ने दाउमा छन् । जनमतको डरले त्रसित मनस्थितिमा पुगेका केही नेता भने समानुपातिकको भर्‍याङ चढेर संसद उक्लिने मनस्थितिमा छन् ।

यही मनस्थितिमा रहेका नेता हुन्, नेपाली कांग्रेसका प्रभावशाली नेता विमलेन्द्र निधि । कलिलो उमेरमै २०३६ सालमा नेपाल विद्यार्थी संघ हुँदै २०४६ पछि नेपाली कांग्रेसको सक्रिय राजनीतिमा होमिएका थिए, निधि । राजनीतिक परिवारमा जन्मिएका निधिका बुबा महेन्द्रनारायण निधि नेपाली कांग्रेसको संस्थापन कालका महामन्त्री हुन् ।

कांग्रेस नेता निधि यसअघिका संसदीय निर्वाचनमा पटक–पटक संघर्ष गर्दै आएका नेतामध्येमा पर्छन् । गृह जिल्ला धनुषामा २०५१ को आम निर्वाचनबाट संसद छिरेका निधिको सदनभित्र छिर्ने पहिलो पटकको प्रयास सफल भयो । त्यसबेला निधि २१ हजार ३४० मतका साथ निर्वाचित हुँदा उनका निकटतम् प्रतिस्पर्धी राप्रपाका कृष्णप्रताप मल्लले १६ हजार ५६३ मत ल्याएका थिए । नेकपा एमालेकी शारदा झाले २ हजार ९४८ मतसहित तेस्रो भएकी थिइन् ।

निधि धनुषा क्षेत्र नम्बर ३ बाट दुई पटक संविधानसभा सदस्यमा निर्वाचित भएका थिए । उनी २०५१ र २०५६ मा धनुषा क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभामा निर्वाचित भए । २०६४ र २०७० को संविधानसभा निर्वाचनमा भने धनुषा ३ बाट निर्वाचित भएका थिए । त्यसबेला धनुषामा कांग्रेसको बलियो पकड थियो ।

२०७४ को प्रतिनिधि सभा सदस्य निर्वाचनमा भने उनी पराजित भएका थिए । निधिले २०५१ देखि २०६३ सम्म धनुषा–४ बाट प्रतिनिधि सभाको सदस्य भएर काम गरे । त्यसयता निरन्तर प्रत्यक्ष चुनाव लड्दै आएका निधि यसपटक भने, प्रत्यक्षतर्फ चुनाव नलड्ने मनसायमा छन् । उनी आगामी निर्वाचनमा प्रतिनिधि सभाको निर्वाचनमा प्रत्यक्षतर्फ नलड्ने भएका हुन् ।

उनले आगामी निर्वाचनमा धनुषा–३ बाट समानुपातिकतर्फ उम्मेदवार बन्न निवेदन दिएपछि उनको नाम धनुषाबाट समानुपातिकतर्फ संघीय संसदको उम्मेदवारमा सिफारिस गरिएको छ । निधि समानुपातिकतर्फ संघीय संसदको उम्मेदवारमा सिफारिस भएका हुन् । कांग्रेसमा शीर्ष नेतृत्व तहबाट समानुपातिक रोजेर निवेदन दिने निधि पहिलो व्यक्ति हुन् ।

गत वैशाखमा सम्पन्न स्थानीय चुनावमै यस क्षेत्रमा कांग्रेस बलियो देखिएको छ । सत्ता गठबन्धनमा बलियो परिस्थितिले पनि कांग्रेसलाई झनै सहज छ । माओवादी र मधेशी मोर्चाको एउटा घटक जनता समाजवादी पार्टी (जसपा) कांग्रेसको साथमा छ ।

यो अवस्थामा पनि निधिले किन समानुपातिक रोजे त ? उनको यो निर्णयलाई नेता कार्यकर्ताले अनौठो रुपमा लिएका छन् । कांग्रेसका स्थानीय नेताहरु गठबन्धनका बाबजुद आफू धनुषा–३ मा सुरक्षित नदेखेकै कारण निधिले समानुपातिकमा बसेर संसद छिर्ने बाटो रोजेको बताउँछन् ।

निधिले आफू असुरक्षित देख्नुमा कांग्रेसभित्र महाधिवेशन पछि फेरिएको राजनीति परिस्थिति र गत स्थानीय तहको चुनावमा भएको शक्ति सन्तुलनको आन्तरिक प्रभाव हो । निधिले वैशाखमा सम्पन्न स्थानीय चुनावमा कांग्रेसभित्र गुटबन्दी चलाएर चुनावमा सहयोग नगरेको आरोप पनि उनीमाथि छ ।

पछिल्लो समय आफू निकटका नेताहरुलाई निधिले विश्वासमा सँगै लैजान नसकेर उनको साथ छोडेका छन् । त्यसयता उनी कमजोर मनस्थितिमा पुगेको बताइन्छ । यसअघि निधिले धनुषा–४ बाट संसदभित्र छिर्न जोडबल गरेका थिए । पहिलो र दोस्रो संविधान सभामा ७ निर्वाचन क्षेत्र भएको धनुषामा अहिले ४ वटा मात्रै क्षेत्र छन् ।

निधिले निर्वाचन लड्ने क्षेत्र धनुषा–३ मा गत स्थानीय तहको निर्वाचनमा पनि कांग्रेस बलियो देखिएको छ । नेपाली कांग्रेसको आन्तरिक राजनीतिमा निधि १३ औं महाधिवेशनबाट पार्टीको उपसभापति निर्वाचित भएर नेतृत्व सम्हाल्न पुगे । तर, पार्टी बाहिरको संसदीय निर्वाचनमा भने उनी पटक–पटक असफल भए ।

२०७४ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा निधि धनुषा–३ बाटै प्रत्यक्षतर्फका उम्मेदवार थिए । निधि २०७४ मा तत्कालीन राष्ट्रिय जनता पार्टीका नेता राजेन्द्र महतोसँग पराजित भएका थिए । महतो ३० हजार ७५० मतका साथ प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुँदा निधिले २७ हजार ८४७ मत प्राप्त गरेका थिए ।

तेस्रो भएका नेकपा माओवादी केन्द्रका उम्मेदवार रामसिंह यादवले २ हजार ३४६ मत ल्याएका थिए । त्यसअघि २०५६ मा राप्रपाका कृष्ण प्रतापसँग हार व्यहोरेका थिए । तर, मधेस आन्दोलनको रापतापका बेला भएको पहिलो संविधानसभा निर्वाचन २०६४ मा निधि १५ हजार ५८२ मतका साथ विजयी भएका थिए । मधेस आन्दोलन सिथिल भएको बेला २०७० को चुनावमा निधिलाई सहज भयो ।

‘२०७४ मा पनि उनलाई हार्छु भन्ने लागेको थिएन,’ उनी निकटस्थ एक नेता भन्छ, ‘वाम गठबन्धनबाट ‘लो’ प्रोफाइलका माओवादीका रामसिंह उम्मेदवार थिए भने, मधेसी मोर्चाको साझा उम्मेदवार बनेका महतो सर्लाही छोडेर पहिलो पटक धनुषामा उम्मेदवार बन्न आएका थिए । जसले गर्दा उहाँमा चुनाव जित्छु भन्ने कन्फिडेन्स थियो ।’

तर, वाम गठबन्धन, त्यसमा पनि खासगरी एमालेले अघोषित रुपमा समर्थन गरेपछि महतोले निधिलाई झण्डै ३ हजार मत अन्तरले हराएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?