सरकारी कर्मचारीले काम गर्नुअघि ‘म भ्रष्टाचार गर्दिन’ भन्दै प्रतिज्ञा गर्नुपर्ने

काठमाडौं । सरकारी कर्मचारीले भ्रष्टाचार गर्ने क्रम बढ्दै गएपछि सरकारले कर्मचारीका लागि नयाँ नियम ल्याएको छ । अब कर्मचारीले ‘म भ्रष्टाचार गर्दिन । म भ्रष्टाचार हुन दिन्न । म देश र जनताका लागि इमान्दार भएर काम गर्ने प्रतिज्ञा गर्दछु ।’ भनेर काम गर्नुअघि अनिवार्य वाचन गर्नुपर्नेछ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा मुख्यसचिव लोकदर्शन रेग्मीले यस्तो पत्र पठाएका हुन् । गत मंगलवार मुख्यसचिवले यस्तो निर्णय गरेका थिए । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले भ्रष्टाचारविरुद्ध प्रतिज्ञा गरेर मात्र काम थाल्न सबै मन्त्रालय, आयोग र सचिवालयलाई पत्र पठाएको छ ।

'नेपाल सरकारले भ्रष्टाचार नियन्त्रणका लागि शून्य सहनशीलताको नीति अवलम्बन गर्दै आएको व्यहोरा स्मरण गराउँदै सुशासन र सदाचारको प्रवर्द्धन गर्न कामप्रति इमान्दार भई प्रत्येक राष्ट्रसेवक कर्मचारीले दैनिक काम प्रारम्भ गर्नुअघि “म भ्रष्टाचार गर्दिन । म भ्रष्टाचार हुन दिन्न । म देश र जनताको लागि इमान्दार भएर काम गर्ने प्रतिज्ञा गर्दछु’ भन्ने प्रतिज्ञा वाचनपश्चात कार्य प्रारम्भ गर्ने गराउने,' प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले सरकारी निकायमा पठाएको पत्रमा भनिएको छ ।

केही समयअघिदेखि कर्मचारीमा व्यापक भ्रष्टाचार मौलाएको भन्ने आवाज उठ्न थालेको छ । सोहीअनुसार भ्रष्टाचार न्यूनीकरण गर्ने उद्देश्यले प्रधानमन्त्रीले भ्र मुख्यसचिवलाई निर्देशन दिएका थिए ।

त्यसपछि मुख्यसचिवले यस्तो उपाय अपनाएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?