काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक आइतबार बस्ने भएको छ ।
शुक्रबार प्रधनमन्त्री निवास बालुवाटारमा बसेको नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ को छलफलपछि सचिवालय बैठक बस्ने निर्णय गरेको हो ।
बैठक आइतबार अपरान्हको लागि बोलाइएको हो ।
नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल लगायतको असन्तुष्टि पक्षसँग छलफल गर्न बैठक बोलाइएको महासचिव बिष्णु पौडेलले जानकारी दिए ।
यसअघि सचिवालय बैठकले गरेको प्रदेश कमिटी पदाधिकारी चयन सम्बन्धी निर्णयमा माधव नेपालले असहमति जनाउँदै स्थायी कमिटी बैठक माग गरेका थिए । सचिवालय बैठकले स्थायी कमिटी बैठकको मिति तय गर्ने स्रोतले जनाएको छ ।
दुवै अध्यक्ष विदेशमा भएका बेला नेता नेपालले प्रदेश कमिटी गठनप्रति आपत्ति जनाउदै स्थायी समिति सदस्यहरुको भेला गरेका थिए ।
नेपालले भेला बोलाएपछि सिंगापुरबाट अध्यक्ष प्रचण्डले फोन गरेर सचिवालयले गरेको निर्णयमा पुनर्विचार गर्न सकिने आश्वासन दिएका थिए ।
स्रोतका अनुसार नेकपा अध्यक्षद्वयबीच भएको छलफलमा सचिवालय बैठकका निर्णय कार्यन्वयन गर्ने तर स्थायी कमिटी बैठक बोलाउने सहमति भएको जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया