लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्नु अहिलेको मुख्य कार्यभार : उपप्रधानमन्त्री यादव

बर्दिवास । उपप्रधान एवम् स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपाललाई संस्थागत गर्नु अहिलेको मुख्य कार्यभार रहेको बताएका छन् । 

सङ्घीय समाजवादी फोरम महोत्तरीले बुधबार जलेश्वरमा आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा उनले अहिलेसम्मका राजनीतिक उपलब्धिलाई रक्षा गर्दै अघि बढ्नुपर्ने आवश्यकता औँल्याएका हुन् ।  

‘‘नेपालको राजनीतिक परिवर्तनका आन्दोलनमा अहिलेसम्मका उपलब्धि कम महत्वका छैनन्’’, उनले भने, ‘‘यिनको रक्षा गर्दै थप उपलब्धि हासिल गर्न प्रयत्नरत् रहनु पर्दछ ।’’ 
सङ्घीय समाजवादी फोरमका राष्ट्रिय अध्यक्षसमेत रहनुभएका उपप्रधानमन्त्री यादवले अहिलेको संविधानमा मधेशी जनताको अधिकार सुनिश्चित हुने गरी संशोधन गरिएपछि संविधानले पूर्णता पाउने बताए । 

‘‘अहिले मौजुदा संविधानबारे मधेशमा दुई धार देखिएका छन्, पहिलो आवश्यकताअनुसार यसलाई परिमार्जन गर्दै अघि बढ्ने र अर्को यो जेसुकै होस् नमान्ने भन्ने’’, उनले भने, ‘‘हामी पहिलो विकल्प रोजेर अघि बढेका छौँ ।’’ 

उपप्रधानमन्त्री यादवले मधेश र मधेशीको अधिकार र विकास सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालले मात्र पूरा गर्नसक्ने बताउँदै मधेशको समृद्धिका लागि कृषिमा आधुनिकीकरण आवश्यक रहेको र आफ्नो सारा प्रयत्न यसैमा केन्द्रित रहेको धारणा व्यक्त गरे । 

कार्यक्रममा उनले पार्टी प्रवेश गरेकालाई स्वागत गरे । 

फोरम नेपालका जिल्ला अध्यक्ष रामनरेश रायको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा प्रदेश नम्बर २ आन्तरिक मामिला तथा कानुन राज्यमन्त्री सरोजसिंह कुशवाहा र प्रदेशसभा सदस्य किरण राय यादवलगायत मधेशमा देखिएका समस्याका विविध पक्षमाथि प्रकाश पारे । 

यसअघि उपप्रधानमन्त्री यादवले आजै जलेश्वर अस्पतालको निरीक्षण गर्दै १५ श्ययाको हालको अवस्थामा स्तरवृद्धि गरिने प्रतिबद्धता व्यक्त गरे । 

स्वास्थ्यको संवेदनशीलतालाई मनन गरेर जिल्लाका सबै स्थानीय तहले आफ्ना योजना र काममा यसलाई पहिलो प्राथमिकता दिनुपर्ने पनि उनले बताए ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?