कैलालीका पाँच निर्वाचन क्षेत्र : कहाँ, कसको पकड ?

काठमाडौं । आगामी प्रतिनिधि र प्रदेश सभा निर्वाचनको मिति नजिकिएसँगै राजनीति वृत्तमा निर्वाचनको चहलपहल, चर्चा र सरगर्मी बढ्दै गएको छ । निर्वाचन केन्द्रित छलफल र बहस चुलिँदै गएको छ ।

विभिन्न कोणबाट चुनावमा उम्मेदवार तथा दलीय मत परिणाम कस्तो आउला भन्ने आँकलन र लेखाजोखासमेत हुन थालेको छ । राजनीतिक दलहरु निर्वाचन केन्द्रित आ–आफ्नो रणनीति तथा योजना बनाइरहेका छन् भने, दलभित्र उम्मेदवारको आकांक्षा राख्नेहरुको पनि लर्काे नै देखिन्छ ।

प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचन आउन झण्डै ८० दिन मात्रै बाँकी छ । आगामी चुनावका लागि प्रत्यक्ष र समानुपातिकतर्फ राजनीतिक दलहरुले उम्मेदवार सिफारिससमेत गर्न थालिसकेका छन् । यहीबेला कतिपय नेताहरु राजनीतिक पार्टी फेरबदलको मुडमा पनि देखिन्छन् ।

टिकटको दौडधुपमा रहेका र पार्टीभित्र पनि राम्रो छवि बनाएका नेताहरु नेतृत्वको कार्यशैली र आन्तरिक किचलोका कारण असन्तुष्ट हुँदै पार्टी बहिर्गमनको दिशा रोज्न थालेका छन् । जसले गर्दा चुनाबी मत परिणाममा सोचेभन्दा फरक आउन सक्ने धेरैको बुझाइ छ ।

यही चर्चाकाबीच सुदूरपश्चिम प्रदेशको राजधानीसमेत रहेको कैलालीमा पनि यतिबेला चुनाबी माहोल तातिसकेको छ । आगामी मंसिर ४ गतेका लागि सरकारले निर्वाचनको मिति तोकेसँगै यसअघि संघीय राजधानी केन्द्रित हुँदै आएका नेता कार्यकर्ताहरु गाउँघरतिर फर्किन थालेका छन् ।

उनीहरु मतदाता रिझाउन निर्वाचन लक्षित विभिन्न अभियान, योजना तथा कार्यक्रमसँगै आन्तरिक रणनीतिमा व्यस्त हुन थालेका छन् । नेता कार्यकर्तासँगको आन्तरिक भेटघाट तथा लबिङमा जुटेका छन् ।

संघीय संरचनाअनुसार १३ वटा स्थानीय तह रहेको कैलालीमा ५ वटा निर्वाचन क्षेत्र छन् । जसअन्तर्गत प्रतिनिधि सभामा ५ जना सांसद निर्वाचित भएर प्रतिनिधित्व गर्नेछन् भने, १० जना प्रदेश सभामा पुग्नेछन् ।

०७४ अघिको कैलाली

कैलालीमा ०७४ अघिसम्म ६ वटा निर्वाचन क्षेत्र थिए । २०६४ को पहिलो र २०७० को दोस्रो संविधानसभा निर्वाचनमा यहाँ ६ वटै क्षेत्रमा निर्वाचन भएको थियो । तर, २०४८ सालको निर्वाचनमा भने ३ वटा मात्रै क्षेत्र रहेको कैलालीमा २०५१ र २०५६ मा ४ निर्वाचन क्षेत्र बनाइएको थियो ।

कैलालीमा वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचन परिणामलाई नियाल्दा मुख्यतः पाँचदलीय सत्ता गठबन्धन र नेकपा एमालेबीच नै मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । उक्त निर्वाचनमा जिल्लाभर नागरिक उन्मुक्ति पार्टीले ४, नेपाली कांग्रेसले ३, नेकपा एमालेले २ नेकपा माओवादी केन्द्रले २, नेकपा (एकीकृत समाजवादी) ले १, र स्वतन्त्रले १ पालिकामा जित हासिल गरेको थियो ।

कुन क्षेत्रमा को बलियो ?

क्षेत्र नम्बर १

कैलालीको पूर्वी क्षेत्रमा पर्ने यो क्षेत्रमा ०७४ को प्रतिनिधि सभा निर्वाचनमा राष्ट्रिय जनता पार्टीका रेशमलाल चौधरी निर्वाचित भएका थिए । उनले ३४ हजार ३४१ मत ल्याएका थिए । उनका निकटतम् प्रतिस्पर्धीका रुपमा नेकपा एमालेकी मदनकुमारी शाह (गरिमा) ले १३ हजार ४०६ मत ल्याएकी थिइन् भने, तेस्रो दलको रुपमा नेपाली कांग्रेसकी ईश्वरी न्यौपानेले ११ हजार २०३ मत ल्याएकी थिइन् ।

त्यस्तै, अन्य दलहरु संघीय समाजवादी फोरम नेपाल, नयाँ शक्ति पार्टी नेपाल, विवेकशील साझा पार्टी, देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल, राष्ट्रिय जनमोर्चा, स्वतन्त्र र नेपाल दलित पार्टीसहितले १ हजार ६४५ मत ल्याएका थिए ।

कैलाली क्षेत्र नम्बर १ बाट त्यसबेला चौधरीले वाम र लोकतान्त्रिक गठबन्धनका उम्मेदवारहरूलाई झण्डै २१ हजारको फराकिलो मतान्तरले हराएका थिए । यस क्षेत्रमा गत स्थानीय तहको निर्वाचनमा नागरिक उन्मुक्ति पार्टीका वडाध्यक्षले १७ हजार १९३ मत ल्याएका छन् । नेपाली कांग्रेसका वडाध्यक्षका उम्मेदवारले ११ हजार ६७८ मत प्राप्त गरेका छन् भने १० हजार ३२२ मतसहित नेकपा एमाले तेस्रोमा छ ।

नेकपा माओवादी केन्द्र ६ हजार ९३० मतसहित चौंथो स्थानमा रहेको छ । राप्रपाका वडाध्यक्षका उम्मेदवारले ३ हजार ५६१ मत प्राप्त गरेका छन् भने, जनता समाजवादी पार्टीले २ हजार ३०२ र एकीकृत समाजवादीले २ हजार २३२ मत प्राप्त गरेका थिए ।

क्षेत्र नम्बर १ मा जोशीपुर गाउँपालिका र टीकापुर नगरपालिकाको पूरै क्षेत्र पर्दछ । त्यस्तै, जानकी गाउँपालिकाको वडा नम्बर १, ३, ४, ६, ७ र भजनी नगरपालिकाको वडा नम्बर ६ र ८ पर्दछन् ।

स्थानीय निर्वाचनको मत परिणाम हेर्दा क्षेत्र नम्बर १ मा नागरिक उन्मुक्ति पार्टी बलियो देखिन्छ । अघिल्लो निर्वाचन सम्पन्न भएयता यस क्षेत्रबाट संघीय सदनमा प्रतिनिधिबिहिन थियो । टीकापुरमा २०७२ भदौ ७ गते घटेको घटनामा जिल्ला अदालत कैलाली र उच्च अदालत दिपायलले चौधरीलाई दोषी ठहर गरेसँगै उनी यतिबेला डिल्लीबजार कारागारमा छन् ।

त्यसयता उक्त निर्वाचन क्षेत्रमा नत उपनिर्वाचन नै भयो नत, रेशमलाल चौधरीले सपथ लिएपनि संघीय सदनमा प्रतिनिधित्व गर्न पाए । हाल उनकै पत्नी रञ्जिता श्रेष्ठ (चौधरी) अध्यक्ष रहेको नागरिक उन्मुक्ति पार्टी रेशमलालको विरासत फर्काउने दाउमा छ । स्थानीय तहको निर्वाचनमा बलियो शक्तिका रुपमा देखा परेको नागरिक उन्मुक्ति पार्टीबाट श्रेष्ठ प्रतिनिधि सभामा उम्मेदवार हुने चर्चा छ ।

उनले कैलालीस्थित लम्कीचुहामा आयोजित कार्यक्रममा आफू कैलाली क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभामा उम्मेदवार बन्ने घोषणासमेत गरेकी छन् । तर, सत्तारुढ गठबन्धनमा रहेका दलको मत परिणामलाई हेर्दा कडा प्रतिस्पर्धा हुने आँकलन गरिएको छ । उक्त क्षेत्रमा कांग्रेससहितको गठबन्धन मिलेर गएको अवस्थामा एमालेलगायत अन्य दललाई यो क्षेत्रमा निर्वाचन जित्न हम्मेहम्मे पर्ने देखिन्छ ।

क्षेत्र नम्बर २

संसदीय निर्वाचन २०४८ सालदेखि लगातार तीन पटकसम्म जितेको कांग्रेसले पछिल्ला निर्वाचनमा आफ्नो अस्तित्व जोगाउन सकेन । २०४८, २०५१ र २०५६ को निर्वाचन जितेर यस क्षेत्रबाट कांग्रेसले आफ्नो शक्तिलाई सन्तुलनमा राख्न नसकेकै हो । यी तीन पटकको निर्वाचनमा कांग्रेसबाट रामजनम चौधरी निर्वाचित भएका थिए ।

त्यसपछि कांग्रेसको अपराजित यात्रामा पूर्णविराम लाग्यो । यस क्षेत्रमा २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा नेकपा माओवादी केन्द्रले जितेको थियो । त्यसबेला माओवादी केन्द्रबाट निर्वाचित भएका भगत बडुवाल अहिले पनि उम्मेदवार बन्ने चर्चा छ । त्यसयता पछिल्ला २०७० र २०७४ मा भएको निर्वाचनमा नेकपा एमाले लगातार दुई पटक विजयी भएको थियो ।

२०७४ मा नेकपा एमालेका झपटबहादुर रावलले जीत हासिल गरे । वाम गठबन्धनको तर्फबाट उम्मेदवार बनेका रावलले कांग्रेसका मोहनसिंह राठौरलाई २ हजार ८४४ मतले पराजित गरे । रावलले २५ हजार १५७ मत पाउँदा राठौरले २२ हजार ३१३ मत ल्याएका थिए । राजपाका रामप्रसाद चौधरी ५ हजार ९६७ मत ल्याएर तेस्रो भएका थिए ।

त्यसअघि राठौर ०७० सालको चुनावमा नेकपा एमालेबाट उम्मेदवार भएर विजयी भएका थिए । साथै, शिक्षा राज्यमन्त्री पनि भए । उनी राज्यमन्त्री हुँदा रावल भने उनको स्वकीय सचिव थिए । एमालेले ०७४ को निर्वाचनमा रावललाई टिकट दिने निधो गर्यो । त्यसपछि राठौरले एमाले छोडेर कांग्रेसमा प्रवेश गरेका थिए । र, एमालेविरुद्धै कांग्रेसबाट उम्मेदवार बने । तर, आफ्ना स्वकीय सचिव रावललाई जित्न सकेनन् ।

यो निर्वाचन क्षेत्रमा एमाले अहिले पनि विगतको साखलाई गुम्न नदिने दाउमा छ । तर, गठबन्धनमा रहेका दलहरु भने यसलाई रोक्ने कसरतमा छन् । क्षेत्र नम्बर २ मा बर्दगोरिया गाउँपालिका र लम्की चुहा नगरपालिकाको पूरै क्षेत्र पर्दछ । यहाँ मोहन्याल गाउँपालिकाको वडा नम्बर १,२,३,४,६ र ७ र जानकी गाउँपालिकाको वडा नम्बर २, ५,८ र ९ पर्दछन् ।

यहाँ गत स्थानीय तहमा वडाध्यक्षहरूले पाएको मत परिणामअनुसार नेकपा एमाले सबैभन्दा अगाडि छ । नेकपा एमालेले १७ हजार ८३४ मत पाउँदा नेपाली कांग्रेसले १३ हजार ८२०, नेकपा माओवादी केन्द्रले ८ हजार ७२४ मत पाएको थियो ।

त्यस्तै, नागरिक उन्मुक्ति पार्टीले ५ हजार २४३, राप्रपाले २ हजार ४०७, र नेकपा एकीकृत समाजवादीले २ हजार ३०६ मत पाएको थियो । यही आधारमा कांग्रेसले आफू बलियो रहेको दाबी गरिरहेको छ भने, एमालेले पनि आफू बलियो रुपमा स्थापित हुँदै आएको ठम्याइ छ । यहाँ दुवै दलले नागरिक उन्मुक्तिलाई प्रमुख प्रतिस्पर्धीका रूपमा हेरेका छन् ।

क्षेत्र नम्बर ३

कैलालीको निर्वाचन क्षेत्र नम्बर ३ मा पनि कडा प्रतिस्पर्धा हुने देखिएको छ । ०७४ को संसदीय निर्वाचनमा नेकपा माओवादी केन्द्रका गौरीशंकर चौधरीले २४ हजार ८७९ मत ल्याएर निर्वाचित भएका थिए ।

उनीसँग नेपाली कांग्रेसका रामजनम चौधरी २० हजार ४९४ मतसहित पराजित भए । तेस्रो राजनीतिक शक्तिको रुपमा राष्ट्रिय जनता पार्टीकी मिना चौधरीले ४ हजार ४४ मत ल्याएकी थिइन् ।

केपी ओली नेतृत्वको सरकारमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री र नेकपा विभाजनपछि कृषिमन्त्रीसमेत भएका गौरीशंकर चौधरीले माओवादी केन्द्र परित्याग गरी एमालेमा प्रवेश गरेका थिए । त्यसकै प्रभावले स्थानीय तहको निर्वाचनमा यसक्षेत्रमा नेकपा माओवादी केन्द्र कमजोर भएको कतिपय नेताको बुझाइ छ ।

त्यसो त क्षेत्र नम्बर ३ मा धेरैजसो थारु समुदायको बाहुल्यता रहेको र संसदीय निर्वाचनमा थारु समुदायबाटै प्रतिनिधि सभामा प्रतिनिधित्व गर्न पुगेका छन् । तर, उनीमाथि जनअपेक्षाअनुसार काम गर्न नसकेको आरोप पनि छ ।

क्षेत्र नम्बर ३ मा घोडाघोडी नगरपालिकाका १२ वटै, कैलारी गाउँपालिकाका वडा नम्बर १,२,३,४,५,७ र ८ छन् । त्यस्तै, भजनी नगरपालिकाका वडा नम्बर १,२,३,४,५,७ र ९ पर्दछन् । यहाँ गत स्थानीय तहमा वडाध्यक्षले पाएको मत परिणामअनुसार नेपाली कांग्रेस सबैभन्दा अगाडि छ ।

नेपाली कांग्रेसका वडाध्यक्षका उम्मेदवारले १९ हजार ९९२ मत ल्याउँदा नेकपा माओवादी केन्द्रले ११ हजार ७१६ मत ल्याएर दोस्रो स्थानमा स्थापित हुन पुगेको छ । नेकपा एमालेले ११ हजार २५७ मत पाउँदा नागरिक उन्मुक्ति पार्टी चाैँथो शक्तिको रुपमा ५ हजार २४७, जनता समाजवादी पार्टीले २ हजार ५९ मत पाएको थियो । यहाँ नेकपा (एकीकृत समाजवादी) का वडाध्यक्षले १ हजार ९७८ मत ल्याएको थियो ।

क्षेत्र नम्बर ४

कैलाली क्षेत्र नम्बर ४ बाट ०७४ को निर्वाचनमा लेखराज भट्टले ३१ हजार ३ सय ५९ मत ल्याउँदा नेपाली कांग्रेसका सुनिलकुमार भण्डारीे २० हजार ९ सय ६० मतमै अड्किए । निर्वाचित भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा ०७६ मंसिर ५ गते भट्ट उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री बने ।

नेकपा विभाजनपछि माओवादी केन्द्र परित्याग गरी नेकपा एमाले प्रवेश गरेका भट्टको सांसद र मन्त्री पद खोसिएका थियो । त्यसयता यसक्षेत्रले पनि संघीय सदनमा प्रतिनिधि पाएन । यसपटक पनि भट्टसँगै प्रतिस्पर्धामा रहेका कांग्रेस नेता सुनिलकुमार भण्डारीले उम्मेदवारी दिने चर्चा छ ।

प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका पार्टी सभापति शेरबहादुर देउवाका समकालीन नेता भण्डारी विगतमा तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालासँग धेरै निकट थिए । एक दशकयता भने उनी देउवा निकट छन् । सोही कारण उनले गत निर्वाचनमा कैलाली क्षेत्र नम्बर ४ बाट टिकट पाउने सम्भावित उम्मेदवारका रुपमा हेरिएको छ ।

यसक्षेत्रमा पर्ने गोदावरी नगरपालिका, चुरे गाउँपालिका र गौरीगंगा नगरपालिकाको स्थानीय तहमा वडाध्यक्षहरुले जितेको मत परिणामअनुसार नेपाली कांग्रेस २२ हजार ९९७ मतसहित पहिलो भएको छ । त्यसैगरी नेकपा एमाले २० हजार ८१ मत ल्याएको छ ।

नेकपा माओवादी केन्द्रले १० हजार १२३ ल्याउँदा नेकपा (एकीकृत समाजवादी) ४ हजार २९ मत ल्याएर चौँथो दलको रुपमा आफूलाई उभ्याएको छ । त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टी ३ हजार २३४, नागरिक उन्मुक्ति पार्टीले १६४ र जनता समाजवादीले ६४ मत ल्याएका छन् । तीन वटै पालिकामा गठबन्धनका उम्मेदवारले पाएको मत हेर्दा यस क्षेत्रमा कडा प्रतिष्पर्धा हुने देखिन्छ ।

क्षेत्र नम्बर ५

कैलालीमा रहेका प्रतिनिधिसभा निर्वाचन क्षेत्रमध्ये क्षेत्र नम्बर ५ लाई विषेश नजरले हेरिन्छ । सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी र विभिन्न राजनीतिक दलबाट केन्द्रीय तहमा प्रतिनिधित्व गर्ने ‘हेभीवेट’ का नेताहरुको क्षेत्रसमेत भएकाले यस क्षेत्रमा सबैको ध्यान केन्द्रीत छ ।

कैलाली क्षेत्र नम्बर ५ मा ०७४ को निर्वाचनमा प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवा पत्नी आरजु राणा देउवा पराजित भएकी थिइन् । अघिल्लो निर्वाचनमा नारदमुनि रानाले २७ हजार २०२ मतसहित विजयी भएका थिए भने, राणाले २२ हजार ३२२ मत ल्याएकी थिइन् । यो झण्डै ५ हजार मतान्तर हो । अन्य सातवटा राजनीतिक दलहरुले पाएको मत परिणाम १० हजार ९० मत रहेको थियो ।

अघिल्लो चुनावमा नेकपा एमालेका उम्मेदवार रानासँग पराजित आरजु यसपटक पनि दोहोरिने चर्चा छ । नेकपा एमाले पोलिटब्युरो सदस्य तथा कैलाली जिल्ला इन्चार्जसमेत रहेका राना पनि पुनः उम्मेदवार हुने तयारीमा छन् ।

यस क्षेत्रमा धनगढी उपमहानगरपालिका पूरै र कैलारी गाउँपालिकाको वडा नम्बर ६ र ९ पर्छन् । २०७४ को स्थानीय तह निर्वाचनमा कांग्रेस र माओवादीले तालमेल गर्दा धनगढी उपमहानगरमा एमाले चिन्ताजनक अवस्थामा पुगेको थियो । कांग्रेसले प्रमुख र उपप्रमुखसहित १९ वटा वडामध्ये १२ वटा वडा जितेको थियो ।

तर, गत वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा प्रमुख र उपप्रमुख दुवै कांग्रेसले जित्न सकेन । यहाँ प्रमुखमा स्वतन्त्र उम्मेदवार र उपप्रमुखमा एमाले उम्मेदवार विजयी भए । अघिल्लोपटक २ वटा वडामा सीमित एमालेले अहिले ६ वटा वडा जितेको छ ।

सत्तारुढ पाँच दलको गठबन्धन हुँदा पनि २०७४ को स्थानीय तहभन्दा राम्रो परिणाम आएको भन्दै कैलाली ५ मा एमाले हौसिएको छ । तर, कांग्रेसले भने आन्तरिक किचलोले स्थानीय तहमा अपेक्षित नतिजा नआए पनि संघीय निर्वाचनमा त्यस्तो नहुने दाबी गरेको छ । यसअघि ०७४ मा आरजुलाई हराउन भूमिका खेलेर अन्तर्घातको आरोपमा कांग्रेसका पुराना नेता पुष्करनाथ ओझालाई साधारण सदस्य पनि नरहने गरी निष्कासन गरिएको थियो । ओझामाथिको कारबाही हालसम्म पनि फुकुवा भएको छैन ।

कैलाली–५ मा अन्तरद्वेष नमेटिँदा कांग्रेसलाई सिट सुरक्षित गर्न कठिनाई हुने आँकलन गरिएको छ । त्यसैकारण जिल्लाका नेताहरु उनलाई रिझाउन लागिपरेका छन् । कैलाली क्षेत्र नम्बर ५ मा गत सम्पन्न स्थानीय तहको निर्वाचनमा वडाध्यक्षका उम्मेदवारले पाएको मतलाई आधार मान्दा कांग्रेसको मत २२ हजार ७७९ छ । एमाले १७ हजार ४२० मतसहित दोस्रो र माओवादी ८ हजार १७५ मतसहित तेस्रो स्थानमा छ ।

यस्तै, नेकपा एकीकृत समाजवादीले २ हजार ९, राप्रपाले १ हजार ७९७ र नागरिक उन्मुक्ति पार्टीले ६५९ मत ल्याएका छन् । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले ३०२ मत पाउँदा जनता समाजवादी पार्टी (जसपा) को १५० मत छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?