गृहमन्त्री थापा भने, ‘पन्तको छानबिन समितिले बुझाएको प्रतिवेदन छलफलपछि सार्वजनिक गर्छौं’

विराटनगर । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको छानबिन समितिले प्रतिवेदन बुझाइसकेका कारण दोषीलाई चाँडै कारबाही गर्ने बताएका छन् । 

विराटनगर विमानस्थलमा आइतबार सञ्चारकर्मीसँग कुरा गर्दै गृहमन्त्री थापाले पन्त हत्या सम्बन्धी गठित उच्चस्तरीय छानबिन समितिले सरकारलाई प्रतिवेदन बुझाइसकेकाले घटनामा संलग्न दोषी चाँडै कारवाहीको प्रक्रिया दिएका हुन् । पन्तको बलात्कारपछि हत्या गरिएको प्रतिवेदन मन्त्रिपरिषद्मा छलफलपछि सार्वजनिक गरिनेसमेत बताए । 

त्यस्तै उनले देश टुक्र्याउन खोज्ने राष्ट्रघातीलाई सरकारले कारवाही गर्ने बताउँदै मुलुकलाई विखण्डन गरी अस्थिरता फैलाउने अभियानमा लाग्नेलाई सरकारकाले दण्डित गर्नेछ । 

गृहमन्त्री थापाले वर्तमान सरकार मुलुकको स्वाधिनताको रक्षाको पक्षमा रहेकाले शान्ति सुरक्षा खल्बल्याउने एवं अस्थिरता उत्पन्न गर्ने पक्षलाई कारवाही गर्ने बताए । उनले नेपाली जनताले दिएको जनादेशअनुसार सरकारले जनताको आर्थिक समृद्धिका लागि काम गरिरहेको र विगत ६ महिनामा मुलुकमा शान्ति सुरक्षाको अवस्था सुदृढ भएको बताए । 

मन्त्री थापाले विगतमा देशमा हुने गरेका बम विस्फोटन, बन्द हडताललगायत जस्ता कार्य नियन्त्रणमा आएको दाबी गर्दै वर्तमान सरकारले जनतालाई शान्ति सुरक्षाको अनुभूति दिएको धारणा व्यक्त गरे । 

गृहमन्त्री थापाले वर्तमान सरकारले राम्रो काम गरिरहेकाले पराजित तथा विगतका षड्यन्त्रकारीले अत्तालिएर सरकारलाई विभिन्न किसिमले घेराबन्दी गर्ने काम गरिरहेको धारणा व्यक्त गरे । उनले मुलुकमा अस्थिरता चाहनेले सरकारले राम्रो काम गर्दासमेत सरकार गिराउनेसम्मको षड्यन्त्र गरिरहेको आरोप लगाए । गृहमन्त्री थापा केही दिनअघि हत्या गरिएका सुनसरीको हरिनगरका शिक्षक खुर्सिद आलम अन्सारीका परिवारलाई समवेदना प्रकट गर्न आज विराटनगर आएका हुन् । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?