काठमाडौँ ।
दशैँ आयो,
खाउँला पिउँला,
कहाँ जाउँला,
चोरी ल्याउँला,
धत्त् पापी,
म त छुट्टै बसुँला
नेपालीहरुको महान चाड दशैँ र तिहार नजिकिने क्रमसँगै नेपाली समाजमा यस्ता लोकयुक्ति बुढापाकाको मुखबाट निस्कन थाल्छन् ।
यस्ता पौराणिक लोकयुक्तिलाई नबुझ्नेहरुले रमाइलोका रुपमा ग्रहण गर्छन्, तर बुझ्नेहरुले यसभित्रका गम्भीर विषयवस्तुलाई सुक्ष्म ढंगले अध्ययन तथा अनुशरण गरी व्यवहारमा उतार्छन् ।
दशैँ नेपालीहरुको महान चाड मात्र होइन कि, चाडपर्वको पनि महान चाड हो । किनकि दशैँको दिन एकसरो कपडा भए पनि राम्रो र नयाँ लुगा लगाउने तथा मिठो खाने प्रचलन यथावत छ ।
त्यसकारण दशैँ र तिहारलाई अन्य चाडपर्वहरुको भन्दा बढी महत्व दिइएको पाइन्छ । संस्कृति विद्हरु भन्छन्, ‘अझै पनि दुर्गम ग्रामीण क्षेत्रमा बसोवास गर्ने नेपालीहरुका लागि दशैँ आउनु नै खान पिउनकै लागि हो ।’
दशैमा चोरेरै भए पनि मीठो खानुपर्छ, नयाँ लाउनुपर्छ भन्ने कुरा उल्लेखित लोकयुक्तिबाट प्रष्ट हुन्छ । प्राचीन कालमा चोरेर ल्याएर भए पनि वर्षमा एकपटक आउने दशैँ राम्रोसँग मनाउनुपर्छ भन्ने भ्रम आम सर्वसाधारणमा थियो ।
तर, त्यो भ्रम ग्रामीण बस्तीबाट बिस्तारै हट्दै गए पनि शहरीक्षेत्रमा भने फस्टाउँदै गएको छ । ग्रामीण क्षेत्रमा चोरी गरी दशैँ मनाउनुपर्ने अवस्था छैन । दशैँ ऋण जोहो गरेर भए पनि मनाउनुपर्छ भन्ने विश्वास बढ्दै गएको छ ।
लोकयुक्तिले भनेझैँ छरछिमेकहरुबीच दशैँ मनाउन चोरी गर्नैपर्ने, चोरी गरी दशैँ मनाउँदा कसैलाई दुःख हुने भएकाले चोरलाई पापीको दर्जा दिने, कोही कसैले धत् पापी भन्दै चोरी गरेर दशै मनाउने छिमेकीबाट छुट्टै बस्न खोज्न थालेपछि ग्रामीण बस्तीबाट यस्तो परम्परा हराउन थालेको हो ।
हातको औँला भाँची भाँची गाँउघरमा सुनाइने यो लोकयुक्ति बढ्दो शहरीकरणसँगै शहरमा हावी हुन थालेको छ । छरछिमेकको देखासिकीमा लागेर तडकभडकका साथ दशैँ मनाउने चलनसँगै चोरेरै भएपनि दशैँ मनाउनेहरुको जमात बढ्दो छ ।
विगतमा सामान्य तरिकाले दशै मनाउने प्रचलनमा परिवर्तन आएको छ । चाडबाडहरु दिनप्रति दिन महंगो बन्दै गएका छन् । दशैँमा फर्सी, काँक्रो, तरकारी, सुन्तला लगायतका फलफूल चोरी खानुलाई शुभ मानिन्थ्यो ।
ग्रामीण क्षेत्रबाट यस्ता प्रचलन हराइसकेका छन् । ग्रामीण क्षेत्रमा सक्रिय चोरहरु शहर पसेसँगै दशैँका नाममा ग्रामीण क्षेत्रमा हुने रमाइला परम्परा हराएका छन् ।
दशैँ हो या दशा
चाडपर्वहरु दिनप्रति दिन महंगो बन्दै गएका छन् । अर्काको देखासिकी र तडकभडक गरी मनाइने चाडपर्वहरु न्यून आयस्रोत भएका निम्न वर्गका लागि दशैँ नभएर दशा बन्ने गरेको छ ।
भगवान भक्तिका नाममा बली चढाउनैपर्ने, माछा मासु खानुपर्ने, मीठो तथा नयाँ लुगा खरिद गर्नैपर्ने बाध्यताहरु नेपाली समाजका लागि जटिल बन्दै गएका छन् ।
न्यूरोड क्षेत्रमा भरियाको काम गर्ने सिन्धुपाल्चोक मेलम्चीका अंगद लामा आफ्ना लागि दशैँ दशा हुने बताउँछन् ।
ठूलो घरपरिवार भएकाले गाउँ पनि उनलाई जानु छ । छोराछोरीका लागि नयाँ कपडा पनि किन्नु छ । उनले भने, ‘वर्षभरिको कमाइ दशैलाई ठिक्क हुन्छ ।’
दशैँ र दुर्घटना
दशैमा सवारी दुर्घटना अधिक हुने गरेको छ । महानगरीय ट्राफिक प्रहरीका अनुसार, क्षमता भन्दा बढी यात्रु बोक्नु, ट्राफिक नियमको पालना नहुनु, तीव्र गतिमा सवारी हाँक्नु र मदिरा सेवन गरी सवारी चलाउँदा दुर्घटनाका घटना बढेका छन् ।
ट्राफिक प्रहरी महाशाखाले सार्वजनिक गरेको तथ्याङक अनुसार, दशैँमा करीब ९० प्रतिशत सवारी दुर्घटना चालककै लापरवाहीका कारण हुने गर्छन् । गतवर्ष दशैँको घटस्थापनादेखि पूर्णिमाको दिनसम्म एक सय ७७ दुर्घटना भए ।
ती दुर्घटनाहरुमा चार जनाले ज्यान गुमाए, सातजना गम्भीर घाइते, एकसय ५६ सामान्य घाइते भएका थिए । चाडबाडमा हुने दुर्घटना नियन्त्रण गर्न प्रहरीले विशेष जनचेतना तथा १३ स्थानमा नागरिक सहायता कक्ष स्थापना गरेको छ ।
दशैँ र चोरी
चाडबाड शुरु हुनेबित्तिकै काठमाडौंमा चोरीका घटना बढ्न थालेका छन् । आसन्न दशैँको पूर्वसन्ध्यामा यही महिनाको १ गतेदेखि आजसम्म छ स्थानमा चोरी भइसकेको छ । चोरहरुले दिउँसोको समयमा अझै बढी चोरी गरेको पाइएको छ ।
चाडबाडका सरसामान खरिद गर्न घरमा जम्मा गरेको नगद तथा गरगहना चोरी गर्नेहरुको समस्या बढी देखिएको छ । जिन्सी जन्य सामाग्रीहरु भन्दा नगद र सुनका गरगहना बढी चोरी हुनेका गरेका छन् ।
महानगरीय प्रहरी अपराध महाशाखाका प्रहरी नायव उपरीक्षक सन्तोष खड्कमा अन्य बेलामा भन्दा चाडवाडमा बढी चोरी, डकैति र लुटपाट हुने गरेको बताउँछन् ।
चोरीबाट जोगिन आफैले नै सुरक्षात्मक उपाय अपनाउनु पर्ने बताए । सार्वजनिक सवारीका साधनमा पकेटमारी, वगलीवारी, ब्यापारी केन्द्र तथा सर्वसाधारणको बाग्लो भिडभाड हुने स्थानमा पनि चोरी र पकेटमारी हुने घटनाप्रति सचेत हुन उनले आग्रह गरे ।
दशैँ र उपत्यका
नेपालीहरुको महान चाड दशैँ मनाउन काठमाडौं उपत्यकाबाट करीब ३० लाख सर्वसाधारण बाहिरिने पूर्वानूमान गरिएको छ ।
करीब ४० लाख जनसंख्या रहेको काठमाडौं उपत्यकाबाट प्रत्येक दिन आठ हजारको हाराहारीमा रहेको छ । यो संख्या बढ्ने क्रम जारी छ । उपत्यकामा भित्रिनेहरुको संख्या करीब सात हजारको हाराहारीमा छ ।
काठमाडौं उपत्यकाको नागढुङ्गा, फर्पिङ, साँगा जगाते, साँखु, मुड्खु बालाजु, रामकोट लगायतका नाकामा नियमित सुरक्षा चेकजाँच सञ्चालन गरी चाडबाडमा बाहिरिने र भित्रिनेहरुको संख्या र सवारी साधनका विषयमा प्रहरी सूचना संकलन गर्ने गरेको छ ।
दशैँ र सार्वजनिक यातायात
यस वर्ष दशैँमा गोंगबु नयाँ बसपार्क लगायत राजधानीका विभिन्न स्थानबाट लामो र छोटो दुरीका गरी दैनिक पाँचसय बस सञ्चालन हुने बताइएको छ । केही दिनअघि शुरु गरिएको अग्रीम टिकट बुकिङ्ग सेवाबाट २५ हजार टिकट विक्री वितरण भएका छन् ।
केही बसको अगाडिको सिटको टिकट बिक्री भएपनि पछाडिका सिटहरु खाली रहेको यातायात व्यवसायीहरुले जनाएका छन् । बस अपुग भएका लामो दुरीका जिल्लाहरुमा थप चारसय बस थप्ने योजना रहेको जनाइएको छ ।
सर्वसाधारण यात्रुको सुविधाका लागि बसको टिकटमा दलाली, कालोबजारी, एउटै सिटमा दुई व्यक्तिलाई टिकट काट्ने र विक्री वितरण गर्नेलाई सिधै ठगी मुद्दामा कारवाही गरिने भएको छ ।
दशैँ र मदिरा
चाडबाडमा माछामासु अनिवार्य जस्तै भएकाले मदिराको खपत पनि अधिक हुने गरेको छ । मदिरा सेवनका कारण दशैँमा झै–झगडाका कारण अकालमै ज्यान जाने गरेको छ ।
त्यतिमात्र नभई सवारी चालकले मदिरा सेवन गर्नाले सवारी दुर्घटना हुने गरेको छ । प्रहरीले मदिरा सेवन गरी सवारी सञ्चालन नगर्न र गरेको पाइएमा कानुनी कारवाहीको चेतावनी दिएको छ ।
दशैँ र जनस्वास्थ्य
वरिष्ठ चिकित्सक डा. महेन्द्र विष्ट चाडबाडमा फुड प्वाइजनको समस्या बढी हुने गरेको बताउँछन् । अत्यधिक चिल्लो, पिरो, तेलमा तारेको माछामासु रक्तचाप र मधुमेह भएकाहरुका लागि काल नै हुने गरेको छ ।
माछा, मासुका अतिरिक्त चिल्लोबाट बनेका परिकार बढी नै खाइने भएकाले मानव स्वास्थ्यका लागि खतरानाक हुने गरेको हो । दशैँमा स्वास्थ्यमा समस्या देखिनका साथै झाडापखाला लाग्न सक्ने डा. विष्टलाई बताउँछन् ।
यसबाट हरेक नागरिक सचेत हुन समेत उनको आग्रह छ । उनले भने, ‘चाडबाडमा नियमित खानपानभन्दा अलि फरक किसिमको खानपान हुने भएकाले शरीरले तत्काल पचाउन नसक्दा यस्तो समस्या आउने गरेको हो ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया