काठमाडौं जिल्ला अदालतको अवैध संरचना पनि हटाउछौँ : बालेन्द्र शाह

लोकपथ
416
Shares

काठमाडौं । नक्साविपरीत अनधिकृत संरचना बनाइएको भन्दै काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले सबै खाले अवैध संरचना हटाएरै छाड्ने बताएका छन् । बुधबार काठमाडौंको न्यूरोड क्षेत्रमा अवैध संरचना हटाउन आफैं फिल्डमा पुगेका उनले अवैध संरचना बनाउने साना ठूला कसैलाई पनि नछाड्ने बताए ।

उनले अवैध रूपले बनाइएका संरचना हटाउने कार्यमा सहयाेग गर्न अनुरोध गर्दै भने, ‘हामी अनुरोध गर्दछौँ कि पार्किङका लागि बनाइएका संरचनाहरु पार्किङमा नै प्रयोग गरिदिनुहोला । यसो भएमा शहरमा पार्किङ समस्याको वास्तविकता पहिचान हुनेछ, सडकमा पार्किङ गर्नुपर्ने बाध्यता कम हुनेछ भने महानगरलाई पार्किङ व्यवस्थापनका लागि योजना बनाउन सहज हुनेछ ।’

उनले काठमाडौं जिल्ला अदालतको अन्डरग्राउन्ड पार्किङसमेत खाली गराउने बताए । ‘अवैध संरचना जसले बनाएको भए पनि त्यो कानुनको दायरामा ल्याइन्छ, उनले भने ।’ बबरमहलमा अत्याधुनिक शैलीमा बनाइएको अदालतको अन्डरग्राउन्ड पार्किङको प्रयोगमा छैन । जसका कारण व्यस्त सडकको फुटपाथमै सेवाग्राहीले सवारी साधन पार्किङ गरिरहेका छन् ।

महानगरले अन्डरग्राउण्ड पार्किङलाई अरु प्रयोजनमा नलगाउन ३५ दिने सूचना निकालेको थियो तर, सूचनाको म्याद सकिएपछि धमाधम हटाउन थालेको हो । काठमाडौं महानगरपालिकाले सुन्धारास्थित काठमाडौं मल, न्युरोडको आरबी कम्प्लेक्सको संरचनामा डोजर प्रयोग गरी भत्काएको छ । त्यस्तै, खिचापोखरी क्षेत्रका संरचनासमेत भत्काउन थालेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?