काठमाडौं मलको अनधिकृत संरचना डोजर लगाएर हटाईंदै

लोकपथ
1.3k
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाले सुन्धारास्थित काठमाडौं मलमा बनेको अनधिकृत संरचना हटाएको छ । बुधबार बिहान मेयर बालेन्द्र साह (बालेन) को उपस्थितिमा डोजरसहितको टोलीले अनधिकृत संरचना हटाएको हो ।

यसअघि काठमाडौं महानगरले ३५ दिने सूचना निकालेर अनधिकृत रुपमा नक्सा विपरीत निर्माण गरिएका संरचना हटाउन भनेको थियो । काठमाडौं उपत्यका ट्राफिक प्रहरी प्रमुख डीआईजी मीरा चौधरीसहितको टोली पनि सो स्थानमा पुगेको छ । काठमाडौं मल कर्मचारी सञ्चय कोषको स्वामित्वमा छ ।

यो भवन भाडामा लिएकाहरुले अनधकिृत रुपमा नक्सा विपरीतका संरचना बनाएर उपयोग गरिरहेको थियो । जसले भूमिगत पार्किङमा समस्या थपेको छ ।  यसअघि महानगरले अन्डरग्राउण्ड पार्किङलाई अरु प्रयोजनमा नलगाउन ३५ दिने सूचना निकालेको थियो । महानगरका मेयर बालेन्द्र साह (बालेन) सोमबार म्याद सकिएको जनाएका थिए । पार्किङ भनेर नक्सा पास भएका तर अन्यरुपमा प्रयोग भएका संरचनाहरुको अनुगमन, खोजी र कारबाही सुरु भएको उनले बताए ।

यसअघि सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै मेयर शाहले भनेका छन् ‘हामीले आज बानेश्वर क्षेत्रबाट कारबाही सुरु गरेका छौँ । विस्तारै सबैतिर महानगर पुग्नेछ । यसैले हामी अनुरोध गर्दछौँ कि पार्किङका लागि बनाइएका संरचनाहरु पार्किङमा नै प्रयोग गरिदिनुहोला ।

यसो भएमा शहरमा पार्किङ समस्याको वास्तविकता पहिचान हुनेछ, सडकमा पार्किङ गर्नु पर्ने बाध्यता कम हुनेछ भने महानगरलाई पार्किङ व्यवस्थापनका लागि योजना बनाउन सहज हुनेछ ।’ उनले महानगरप्रतिको जिम्मेवारीले पनि आफू सचेत बनिदिनु हुनेछ भन्ने विश्वास लिएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?