सरकारले छात्राको स्वास्थ्य र शैक्षिकस्तरमा सुधार गर्ने उद्देश्यका साथ किशोरीहरूले महिनावारी हुँदा प्रयोग गर्ने ‘सेनिटरी प्याड’ निःशुल्क वितरण गर्न ठूलो रकम लगानी गर्दै आएको छ ।
आर्थिक वर्ष २०७६/०७७ मा २९ हजार सामुदायिक विद्यालयका छात्राहरुलाई निःशुल्क प्याड वितरण कार्यक्रम सुरु गरेको थियो । तत्कालीन अर्थमन्त्री डा.युवराज खतिवडाले बजेटमार्फत देशभरका सबै सामुदायिक विद्यालयका छात्राहरुलाई सेनिटरी प्याड निःशुल्क उपलब्ध गराउने घोषणा गरेका थिए ।
सरकारले २०७६ सालमा सेनिटरी प्याड (वितरण तथा व्यवस्थापन) कार्यविधिसमेत लागू गरेको थियो । जसअन्तर्गत सेनिटरी प्याड वितरणको जिम्मेवारी स्थानीय तहलाई प्रदान गर्दै प्याडको न्यूनतम मापदण्डसमेत तोकेको थियो । प्याडको न्यूनतम लम्बाइ, चौडाइ, मोटाइ लगायतका प्याड गुणस्तरको मापदण्ड समेत तोकिएको थियो ।
तर, सरकारले ल्याएको निःशुल्क प्याड वितरण कार्यक्रमको प्रभावकारिता भने देखिएको छैन । प्याड न्यून गुणस्तरको हुने गरेको भन्दै छात्राहरुले गुनासो गर्ने गरेका छन् । विद्यालयमा वितरण हुने प्याड कम गुणस्तर, प्रयोग गरेको छोटो समय पनि नटिक्ने, एलर्जी हुने गरेको भन्दै कतिपय छात्राहरु यसको प्रयोग गर्न नै डराउने गरेको नुवाकोटको एक सामुदायिक विद्यालयकी शिक्षिकाले लोकपथसँगको कुराकानीका क्रममा नाम उल्लेख नगर्ने शर्तमा बताइन् ।
‘हामीकहाँ आउने प्याड कम गुणस्तरका हुन्छन्,’ उनले भनिन्, ‘मैले पनि त्यस्ता प्याड प्रयोग गरेकी छु । जो लामो समय प्रयोगको लागि प्रभावकारी छैन ।’ सामुदायिक विद्यालयमा वितरण हुने प्याडमा सरकारले तोकेको मापदण्ड कार्यान्वयन नभएको गुनासो जताततै छ । यद्यपि, यसको अनुगमन र व्यवस्थित गर्ने जिम्मेवारी पाएको स्थानीय निकाय मुकदर्शक बनेर बसेको छ ।
यता, स्थानीय पालिकाहरुले पनि गुणस्तरीयता भन्दा पनि विद्यालयको मागका आधारमा पूर्ति गर्ने गरेको छ । जसलाई नुवाकोटको पञ्चकन्या गाउँपालिकाका अध्यक्ष रमेश तामाङको भनाइले पनि पुष्टि गर्छ । पञ्चकन्या गाउँपालिकाभित्र झण्डै ३१ वटा सामुदायिक विद्यालय छन् । जहाँ विद्यालयको आवश्यकताअनुसार सेनिटरी प्याड उपलब्ध गराउने गरेको अध्यक्ष तामाङ बताउँछन् । ‘हामीले वार्षिक २ देखि ३ लाख रुपैयाँको प्याड वितरण गर्दै आएका छौं,’ उनले भने ।
यद्यपी, गाउँपालिकाले भने वर्षमा एकपटक विद्यालयलाई आवश्यकता अनुसार प्याड दिने गरेको सोही गाउँपालिका वडा नं–४ स्थित श्री मंगला देवी माविका प्रधानाध्यापक बासुदेव थापा बताउँछन् । उनी भन्छन्, ‘हाम्रो विद्यालयमा १२ वर्षदेखि माथिका करिब ८०/९० जना छात्राहरु छन् । वार्षिक ५ देखि ७ सय प्याड गाउँपालिकाबाट आउँछ र छात्राहरुको आवश्यताअनुसार वितरण गरिन्छ ।’
कहाँबाट आउँछ प्याड ?
पञ्चकन्या गाउँपालिकाले स्थानीय महिलाहरुलाई नै प्याड निर्माणसम्बन्धि तालिम दिएर सेनिटरी प्याड गाउँमै निर्माण गर्ने गरेको अध्यक्ष तामाङ बताउँछन् । उनी भन्छन्, ‘गाउँपालिकाले स्थानीय महिलाहरूलाई सेनिटरी प्याड बनाउने तालिम दिएर प्याड निर्माणका लागि आवश्यक पर्ने मेसिन र कच्चा सामग्री उपलब्ध गराएर पालिकाभित्रै प्याड निर्माण थालिएको छ,’ उनले भने, ‘महिलाहरुको एउटा समूहले प्याड निर्माण गरेर बाहिर समेत बिक्री गर्ने गरेका छन् । आवश्यक परेको खण्डमा उक्त प्याड गाउँ मै पनि प्रयोग गरिन्छ ।’
त्यस्तै, नुवाकोटको दुप्चेश्वर गाउँपालिकास्थित कल्याण उच्च माध्यमिक विद्यालयमा अध्यापन गराउँदै आएकी एक शिक्षिकाले स्कुलले पाउने गरेको प्याड मध्यम खालको रहेको गुनासो पोखिन् । ‘सामान्यतया, छात्राहरु यस्तो विषयमा खुलेर कुरा गर्न हिच्किचाउँछन्,’ उनी भन्दै थिइन्, ‘त्यसैले पनि उनीहरु प्याडको गुणस्तरीयताबारे कुनै गुनासो गर्दैनन् ।’
मंगला माविमा अध्यनरत छात्रा कल्पना गिरी (नाम परिवर्तन) ले स्कुलमा दिइएको प्याड खासै गुणस्तरीय नभएको बताइन् । उनी भन्छिन्, ‘आपत्कालीन अवस्थामा मात्र हो स्कुलको प्याड प्रयोग गर्ने, नत्र घरबाट नै ल्याउने गरेको छु ।’
वर्षेनी अर्बौँ लगानी
सरकारले प्रत्येक स्थानीय तहका सबै सामूदायिक विद्यालयमा अध्यनरत छात्राहरुको लागि प्याड खरिद गर्नको लागि वर्षेनी अर्बौँ रुपैयाँ लगानी गरेको छ । सरकारले आर्थिक वर्ष २०७६/७७ मा २९ सामुदायिक विद्यालयका १४ लाख ३७ हजार ६९३ छात्राहरुका लागि एक अर्ब २ करोड ७३ लाख ३७ हजार रुपैयाँ बजेट सेनिटरी प्याडमा विनियोजन गरेको थियो ।
त्यसयता सरकारले वर्षेनी सामुदायिक विद्यालयका छात्राहरुलाई महिनावारीको समयमा प्रयोग गर्ने प्याड खरिदका लागि बजेट विनियोजन गर्दै आइरहेको छ । सरकारले २०७७/०७८ मा १३ लाख ३९ हजार ९४९ छात्राका लागि १ अर्ब ८१ करोड ९७ लाख २९ हजार रुपैयाँ बजेट छुट्याएको थियो ।
त्यसैगरी, आर्थिक वर्ष २०७८/७९ मा १० लाख ५४ हजार ८१० छात्राहरुका लागि प्याड खरिद गर्नका लागि १ अर्ब ४३ करोड २६ लाख ५९ हजार रुपैयाँ बजेट विनियोजन गरेको थियो । शिक्षा तथा मानव संसाधन विकास केन्द्रका अनुसार हालसम्म ३८ लाख ३२ हजार ४५२ छात्राहरुका लागि प्याड खरिदका लागि ४ अर्ब ५२ करोड ९७ लाख २५ हजार रुपैयाँ बजेट विनियोजन गरेको छ ।
उपभोग्य म्यादबारे नै अन्जान
विद्यालयमा वर्षेनी सेनिटरी प्याड पठाइन्छ । छात्राहरुलाई आवश्यकता परेको बेला वितरण पनि गरिन्छ । तर, प्याडको ‘एक्स्पायर्ड’ मितिबारे भने न स्थानीय तहले ध्यान दिएको छ, न विद्यालयले त्यसबारे चासो देखाएको छ, न प्रयोग गर्ने छात्राले नै त्यसबारे ख्याल राखेका छन् ।
प्रावधानअनुसार प्याडको उत्पादन तथा प्रयोग गर्ने मिति, स्थानीय तह तथा विद्यालयहरुमा भण्डारण क्षमता जस्ता पक्षहरुको अध्ययन गरी त्रैमासिक, चौमासिक वा अर्धवार्षिक रुपमा उपलब्ध गराउनुपर्नेछ । तर, व्यवहारमा भने यी कुराहरु अधिकांश स्थानीय तहहरु चुकेका छन् । स्थानीय तहहरुले एकैपटक प्याड खरिद गरी विद्यालयहरुलाई पठाउँछन् । प्याडमा यसको प्रयोग गर्ने मिति गुज्रिएको बारेमा उनीहरु जानकार छैनन् ।
प्याडको गुणस्तरमै शंका
प्रायजसो विद्यालयहरुले नेपालमै उत्पादित प्याड खरिद गर्ने गरेका छन् । स्थानीय तहहरुले टेण्डर आह्वान गरेर सेनिटरी प्याड खरिद गर्ने गरेका छन् ।
सिन्धुपाल्चोकस्थित मेलम्ची नगरपालिकाका स्टोर शाखाका जयराम घोरासैनी भन्छन्, ‘हामीले टेण्डरमार्फत प्याड खरिद गर्ने गरेका छौँ । नेपाली कम्पनीकै प्याड नगरपालिकाले खरिद गर्ने गरेको छ,’ उनले भने, ‘३ वर्षदेखि हामीले जस्मिन हाइजिन प्रोडक्टसनको प्याड टेण्डर आह्वान मार्फत खरिद गरेका छौँ ।’ प्याडको गुणस्तरमा आजसम्म कुनै गुनासो नआएको उनको दाबी छ ।
तर, यही नगरपालिकाको कार्यक्षेत्र भित्र पर्ने श्री सिन्धुपुराना गाउँ माविमा कार्यरत स्टाफ नर्स सुष्मा अर्याल भने पहिलो लटमा आएको प्याड कम गुणस्तरको रहेको बताउँछिन् । यद्यपि, पछिल्लो लटमा ल्याइएको प्याड भने गुणस्तरीय रहेको उनले प्रष्ट पारिन् । ‘हामीले प्रयोग गर्ने प्याड नेपाली ब्राण्डकै हो,’ उनले भनिन्, ‘बजारमा पाइनेभन्दा मध्यम खालको नै छ ।’
त्यस्तै, नुवाकोट दुप्चेश्वर गाउँपालिकाका अध्यक्ष शंकर थापा पनि नेपालमै उत्पादित प्याड खरिद गर्दा विद्यार्थीहरुबाट गुनासो आएपछि कम्पनी परिवर्तन गरेर खरिद गरिएको बताए । समग्रमा नेपाली प्याड उत्पादक कम्पनीहरुले उत्पादन गरेको प्याडमा नै विद्यार्थीहरुको गुनासो आएको छ भन्ने कुरा माथिका दृष्टान्तले पुष्टि गर्छन् ।
त्यसैले नेपाली प्याड उत्पादकहरुले आफ्नो व्यावसाय धरासय बनेको भन्दै सरकारसँग गुहार मागिरहँदा एकपटक आफ्ना उत्पादनको गुणस्तरीयतामा पनि ध्यान दिने बेला आएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया