ललितपुर १८ मा ‘मिट होलिडे’ : वर्षमा २६ दिन मासु बेच्न नपाईने

लोकपथ
0
Shares

ललितपुर । ललितपुर महानगरपालिका वडा नम्बर १८ ले हरेक एकादशी, बुद्धजयन्ती र महाशिवरात्रीमा ‘मिट होलिडे’ गर्ने निर्णय गरेको छ । आज (सोमबार) वडामा रहेका मासु व्यावसायी र वडा अध्यक्ष दामोदर खड्कासहित वडाका प्रतिनिधिसँग बसेको बैठकले सो निर्णय गरेको हो ।

निर्णय अनुसार सो वडामा वर्षमा २६ दिन मासु विक्रि निषेध गरिएको छ । वर्षभरी २४ दिन एकादशी र दुई दिन दुई ठुला चाड पर्ने भएकाले ‘मिट होलिडे’ लागू गरिएको हो । बैठकले गरेको निर्णयलाई मासु व्यावसायीले स्वागत गरेका छन् । मासु व्यावसायी कृष्णप्रसाद खड्गीले वडा कार्यालयको निर्णयलाई सबै व्यावसायीले स्वीकार गरेको बताए । उनले १८ सँगै रहेको वडा नम्बर २५ लाई पनि यो नियम लागु गर्न आग्रह गर्नुपर्ने बताए ।

अर्का मासु व्यावसायी सुविन खड्गीले वडाको निर्णयलाई कार्यान्व्यन गरेपछि ब्यवहारमा आउन केही दिन लाग्ने बताए । बैठकमा बोल्दै वडा अध्यक्ष दामोदर खड्काले सबै मासु व्यावसायीले गरेको निर्णयको स्वागत गरे । उनले ललितपुर महानगरपालिकाका २९ वडा मध्य यो निर्णय गर्र्ने १८ नम्बर वडा पहिलो भएको दाबी गरे ।

उनले वडावासीलाई स्वथ्य मासु खुवाउनुपर्ने, जो कोहीले देख्नेगरी काटमार गर्न नहुने, मासुको मुल्य सूचीमा एकरुपता गर्न मुल्य सूची राख्नुपर्ने लगायतको निर्णय भएको जानकारी दिए । उनले सबैको सहमतिमा भएको निर्णय कार्यान्वयन भए नभएको विषयमा निरन्तर अनुगमन गर्ने जनाएका छन् ।

वडा सचिव निरन श्रेष्ठले निर्णयबारे जानकारी गराउदै एक महिनाभित्र कार्यान्वयन गर्न आग्रह गरेका छन् । वडाले सबै मासु व्यावसायीलाई निर्णयमा हस्ताक्षर गराई प्रतिवद्धता जनाउन लगाएको छ । वडा सदस्य निरज कुँबर र गोपाल डंगोलले पनि निर्णय कार्यान्वयन गर्नुपर्ने बताए । यसअघि वडा अध्यक्ष खड्कासहितको टोलीले वडाका सबै मासु पसलको निरीक्षण गरेको थियो ।

त्यसक्रममा देखिएका कमिकमजोरीको विषयमा छलफल गरी निर्णय भएको थियो । वडा अध्यक्ष खड्काले एकसाता अघि गरेको निरीक्षणपछि बैठक बोलाएर निर्णय गर्न लगाइएको बताए । उनले निर्णय कार्यान्वयन गर्नु व्यवसायीको मुख्य दायीत्व भएको बताउदै त्यसलाई कडाईका साथ लागू गराइने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?