बसन्तपुरमा गरियो मौलिक बाजाको प्रदर्शनी

लोकपथ
63
Shares

काठमाडौं । देशभरका मानन्धरहरुको साझा संस्था केन्द्रीय मानन्धर संघले राजधानीको बसन्तपुरमा शनिबार सामूहिक धाःबाजा (एक प्रकारको बाजा) प्रदर्शनी गरेको छ । काठमाडौं महानगरभित्र मानन्धर समुदायको सघन बसोबास रहेका आठवटा टोलले बाजा प्रदर्शनीमा सहभागिता जनाएका थिए ।

कार्यक्रममा चस्वांद्वँ मानन्धर सनाःगू खलः, थँहिटी मानन्धर गुठी, दैसाः टोल मानन्धर समाज, न्यागःमणि फेदीमानन्धर संघ, मानन्धर सानाःगू खलःन्हूसाः, पाक्वपुखूद्याँ सनाःखलः, भिंद्यः गुठी कालिमाटी र लायकूसाःमानन्धर समाजका कलाकारहरुले आआफ्नो प्रस्तुति प्रदर्शन गरेका थिए । बाजा प्रस्तुति दिएका कलाकारहरुमध्ये अधिकांश १५ देखि ४० वर्षभित्रका किशोरकिशोरी, युवा तथा महिला थिए ।

सांस्कृतिक पहिचानलाई नयाँ पु्स्तामा हस्तान्तरण गर्ने उद्देश्यका साथ कार्यक्रम गरेको जनाइयो । साथै अमूर्त सम्पदा संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले बाजा प्रदर्शनी कार्यक्रम गरेको जनाइयो ।

कार्यक्रममा वाग्मती प्रदेशका खानेपानी, ऊर्जा तथा सिंचाइमन्त्री बसन्त मानन्धरले पुर्खाले हस्तान्तरण गरेको मौलिक बाजाको संस्कृतिलाई संरक्षण गर्ने काममा सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाए । सांस्कृतिमार्फत समुदायलाई जोड्नुपर्ने सैद्धान्तिक मान्यतालाई आधार बनाएर अघि बढ्नुपर्ने मानन्धरको भनाई थियो ।

मनोजकुमार मानन्धरको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा काठमाडौं महानगरपालिका-१७ का वडाध्यक्ष तथा महानगरका प्रवक्ता नवीन मानन्धर, वडा नं १३ का ध्रुवनारायण मानन्धर, वडा नं २० का राजेन्द्र मानन्धर, महानगरपालिका लेखा प्रमुख बुद्धरत्न मानन्धर, सम्पदा विभाग उपप्रमुख श्रीजु प्रधान, आठवटै टोलका कजी (प्रमुख) तथा बाजा गुरुहरुको सहभागिता थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?