प्रवक्ता लावतीको टिप्पणी: युवालाई भविष्यको कर्णधार भन्ने परिपाटी मात्र बस्यो

लोकपथ
247
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता सगुन सुन्दर लावतीले युवा तरुण विना देशको विकास र समृद्धि अकल्पनीय रहेको बताएका छन् । युवाहरु समाज विकासका अभिन्न साझेदार भएको बताउँदै समाजको सर्वाङ्गीण विकासमा उनिहरुले महत्वपूर्ण योगदान पुर्याइरहेको बताएका हुन् ।

युवा तरुण विना देश विकास र समृद्धिको कल्पना पनि गर्न नसकिन बताएका उनले बर्तमानका साझेदारलाई भविष्यका कर्णाधार भन्दै युवा भूमिकालाई सीमित राख्ने क्रम जारी रहेको बताए । ‘नेपाल युवाहरुको देश हो । जबसम्म युवा पुस्ताको अकाट्य योगदान स्वीकार गरिन्न, समाज विकासका लक्ष्य प्राप्त कठिन हुनेछ,’ लावतीले भने ।

युवाहरुको अपरिहार्य योगदान र सकारात्मक भूमिकालाई लिएर राप्रपामा कुनै द्विविधा नरहेको उनको भनाइ थियो । यसै सन्दर्भमा, प्रवासमा रहेका युवाहरुले श्रम गरेर स्वदेश पठाएको विप्रेषणले हिंसात्मक द्वन्द्व र कोभिड महामारीको समयमा नेपाली अर्थतन्त्रलाई जोगाएको दृष्टान्त उनले प्रस्तुत गरे ।

प्रवासी नेपाली एकता समाज दक्षिण कोरियाद्वारा आज (शनिवार) आयोजित अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै लावतीले यस्तो विचार राखेका हुन् । आगामी मंसिर ४ गते सम्पन्न हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा प्रवासमा रहेका नेपालीहरुको सहयोग र सद्भावको लागि पनि लावतीले आह्वान गरेका छन् ।

जूम अन्तरक्रियामा भाग लिँदै दक्षिण कोरियास्थित युवाहरुले, विदेशमा कार्यरत युवाहरु स्वदेश फर्किएर क्रियाशील हुन कर छुटको व्यवस्था लागू गर्न माग गरेका थिए । यसैगरी नेपालमा कलकारखाना र उद्योग स्थापना, रोजगार सिर्जनाका लागि विशेष नीति अख्तियार गरेर युवाहरुलाई घर फर्कन, नेपाली पूँजी स्वदेश फर्काउन राप्रपाले अभियान सञ्चालन गर्नु पर्ने सुझाव दिए ।

श्रमदानलाई देश विकासको अभिन्न अंग बनाउन, बेथितीको रुपमा रहेको हुण्डी व्यवस्था पूर्ण नियन्त्रण गर्न वक्ताहरुले माग गरेका छन् । प्रवासी नेपाली एकता समाज दक्षिण कोरियाका अध्यक्ष भण्डारीले राष्ट्रियता कमजोर भएको भन्दै चिन्ता व्यक्त गरे । राष्ट्रवादी शक्तिको रुपमा राप्रपाले देश र धर्म बचाउन अग्रसर हुनुपर्ने भण्डारीको भनाई थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?