परराष्ट्रमन्त्री ज्ञवाली र बेलायतका राज्यमन्त्री फिल्डबीच भेटवार्ता

न्यूयोर्क । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले बुधबार संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा बेलायतका एशिया प्रशान्त मामिला राज्यमन्त्री मार्क फिल्डसँग भेटवार्ता गरेका छन् । 

उक्त अवसरमा दुई पक्षीय हित तथा चासोका विषयमा छलफल भएको थियो । सो अवसरमा परराष्ट्र मन्त्रालयका सचिव शङ्करदास वैरागी, परराष्ट्र मन्त्रालयका प्रवक्ता एवं सहसचिव भरतराज पौडेल तथा नेपाल सरकारका अन्य वरिष्ठ अधिकारी परराष्ट्रमन्त्री ज्ञवालीका साथमा रहेका थिए । 

संयुक्त राष्ट्रसङ्घको महासभाको ७३औँ अधिवेशनमा भाग लिन दुई मुलुकका परराष्ट्रमन्त्री न्यूयोर्क पुगेका थिए । 

त्यस्तै मंगलबार परराष्ट्रमन्त्री ज्ञवालीले संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा बुल्गेरियाका न्यायिक सुधार तथा विदेशमन्त्री एकाटेरिना जारिभा तथा पाकिस्तानका विदेशमन्त्री शाह मेहमुद कुरेशीसँग समेत भेटवार्ता गरेका छन् ।  

उक्त अवसरमा दुई पक्षीय हित तथा चासोका विषयमा छलफल भएको थियो । 

साथै दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)लाई अझै क्रियाशील तुल्याउने विषयमा पनि छलफल भएको परराष्ट्र मन्त्रालयका सचिव शङ्करदास वैरागीले जानकारी दिए । 

सो अवसरमा परराष्ट्र मन्त्रालयका सचिव वैरागी, परराष्ट्र मन्त्रालयका प्रवक्ता एवं सहसचिव भरतराज पौडेल तथा नेपाल सरकारका अन्य वरिष्ठ अधिकारीको समेत उपस्थिति रहेको थियो । संयुक्त राष्ट्र सङ्घको महासभाको ७३औँ अधिवेशनमा भाग लिन दुई मुलुकका परराष्ट्रमन्त्री यहाँ आइपुगेका हुन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?